
काठमाडौं । इटालियन क्लब इन्टर मिलानले ब्रजिलियन फरवार्ड लुइस हेनरिकलाई अनुबन्ध गरेको छ ।
शनिबार सिरी ए क्लब इन्टरले फरवार्ड हेनरिकलाई फ्रेन्च क्लब ओलम्पिक डे मार्सेलीबाट पाँच वर्षका निम्ति अनुबन्ध गरेको हो ।
इन्टरले अनुबन्धको सम्बन्धमा सम्झौताको मिति र रकम खुलाएको छैन । तर, इटालियन सञ्चारमाध्यमले इन्टरले उनलाई सन् २०३० सम्मका निम्ति २३ मिलियन युरोमा टोलीमा भित्र्याएको जनाएको छ ।
ब्राजिलका २३ वर्षीय लुइसले बाटाफोगो क्लबाट आफ्नो खेल करियर सुरु गरेका थिए । उनी क्लबबाट सन् २०२० मा मार्सेली आएका थिए । उनले मार्सेलीबाट १०८ खेल खेल्दा ११ गोल गरेका छन् ।
उनले ११मध्ये ९ गोल सन् २०२४–२०२५ को सिजनमा गरेका थिए । यस सिजन मार्सेली लिग वानमा उपविजेता बनेको थियो ।