काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुलुकका सातवटै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने तयारी थालेको छ । क्यान पदाधिकारीबीच बसेको भर्चुअल बैठकमा सातवटै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने सहमति भएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लकडाउन खुलेपछि सातवटै प्रदेशमा प्रशिक्षक नियुक्त गर्ने निर्णय भएको बाह्रखरीलाई जानकारी दिए । निश्चित मापदण्ड पूरा गरेर केही पारिश्रमिक दिँदै सातवटै प्रदेशमा प्रशिक्षक खटाउने निर्णय भएको उनले बताए ।
त्यस्तै क्यानले असार १५ बाट राष्ट्रिय टोलीलाई प्रशिक्षणमा फर्काउनेसमेत तयारीमा रहेको उनले बताए । राष्ट्रिय टोलीलाई प्रशिक्षणमा फर्काउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेको छ । राखेपले अनुमति दिए असार १५ बाट प्रशिक्षण सुरु गर्ने क्यान अध्यक्ष चन्दले जानकारी दिए । सरकारले १०–१५ जनाको समूहमा प्रशिक्षणका लागि अनुमति दिनुपर्ने उनको भनाइ छ ।
क्यानले केन्द्रीय सम्झौतामा रहेका खेलाडीको तलब बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई प्रस्ताव गर्ने निर्णय गरेको छ । सन् २०१९ देखि केन्द्रीय सम्झौतामा रहेका खेलाडीको पारिश्रमिकमा प्रत्येक ग्रेडका खेलाडीलाई १० हजारका दरले बढाएर पठाउन आईसीसीसँग प्रस्ताव गर्ने निर्णय भएको अध्यक्ष चन्दले जानकारी दिए ।
हाल ‘ए’ ग्रेडमा रहेका खेलाडीले ३५ हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीले २५ र ‘सी’ ग्रेडमा रहेका खेलाडीले १५ हजारका दरले मासिक भत्ता पाउने गरेका छन् ।