चितवन । सात वर्षसम्म दुबईको चर्को घाममा आफ्नो पसिना बेचे, परिवारको खुसी र सुख फर्काउने उनको सपना खाडीले के पुर्याउन सक्थ्यो र ? झन्डै एक दशकअघि सुनौलो सपना बोकेर उनी फेरि स्वदेश फर्किए । विदेशबाट ल्याएको केही रकम थपथाप गरेर केही खेतबारी किने अनि तरकारी खेती थाले ।
सुरुका केही वर्ष त उत्पादन र बिक्री राम्रै हुन थाल्यो । उनले भाडामा बारी लिएर तरकारी खेती थप्दै जान थाले । अहिले उनले झन्डै साँढे २ बिघामा तरकारी खेती गरेका छन् । तर उनको सपना अहिले एकाएक चकनाचुर भएको छ । ‘एक बिघामा लगाएको भिन्डी बिक्री भएन, जोताउने तयारीमा छु । के गर्नु टिपेको श्रम पनि नउठ्ने भएपछि,” खैरहनी नगरपालिका १ का किसान कृष्ण सापकोटाले आफ्नो विवशता कहे । उनी मात्र होइन चितवनका सयौं किसानको हविगत उस्तै छ । कतिले बिक्री नभएपछि तरकारी जोतिसकेका छन् त कति जोत्ने तयारीमा छन् । कतिले टिपेर जैविक मल बनाएका छन् ।
चितवनका किसानले कहिले दूध खाल्डोमा लगेर फाल्ने । कहिले अन्डा बाटोमा लगेर फुटाल्ने कहिले कुखुराका चल्ला खाल्डोमा लगेर पुर्ने त कहिले तरकारी बीच सडकमा लगेर ओछ्याउने नौलो घटना होइन । तर चितवनका तरकारी किसानले गत वर्षदेखि आन्दोलन र आक्रोशको स्वरूप बदलेका छन् । गत वर्ष पनि पूर्वी चितवनका किसानले उचित मूल्य नपाएको भन्दै बन्दा लगाएको बारीमा डोजर चलाए । भान्टा, काँक्रो, फर्सी बारी जोते । यो वर्ष पनि किसानले त्यस्तै पीडा खेप्नुपरेको छ ।
लकडाउन सुरु भएयता तरकारी बारी जोत्ने क्रम बढेको छ । यसै साता मात्रै पूर्वी चितवनकै खैरहनी नगरपालिकाका केही किसानले तरकारी बारी जोत्न सुरु गरेका हुन् । “के गर्नु अब त म विदेश जानै सक्छु न म स्वदेशमै सफल हुन सकें,” सापकोटा चिन्ता छ । उनलाई कोरोना भाइरसको चिन्ताभन्दा पनि आठजनाको परिवार कसरी पाल्ने चिन्ताले दिनहुंँ सताएको छ । उनीजस्तै सोही ठाउंँका अर्का किसान वासुदेव सापकोटाको पीडा उनको भन्दा कम छैन ।
उनले यही साता झन्डै ७ कठ्ठामा लगाएको भिन्डी ट्रयाक्टर लगाएर जोते । क्षणभरमै हरियाली तरकारी बारी माटोमा परिणत भयो । “पोहोरसाल त यो सिजनमा भिन्डीबाट मात्रै चार लाख रुपैयाँ कारोबार गरेको थिएँ अहिले हेर्दाहेर्दै त्यो खुसी माटोमै मिसियो,” उनी भक्कानिन्छन् । तरकारी खेतीका लागि पकड क्षेत्र पूर्वी चितवनलाई मानिन्छ । तर के थाहा कोरोना कहर र लकडाउनको भार किसानले पनि बोक्नुपर्छ भनेर । आज उनीजस्ता सयौं किसानको हविगत उस्तै छ । न तरकारी बजार लैजान सकेका छन् न त ती तरकारी स्थानीय स्तरमा बिक्री हुन सकेका छन् । “पोहोर मूल्य पाइएन अहिले बेच्न पाइएन,” उनी निराश बन्छन् ।
यस सिजनमा मौसमअनुकूल भएकाले सबै किसानको तरकारीको उत्पादनमा वृद्धि हुँदै थियो । “लहलाउंँदो तरकारी जोत्नुपरयो, अब मलाई तरकारी लगाउने जांँगर पनि मरिसक्यो, बरु मकै र धान रोपेको भए त जोत्नु पर्दैनथ्यो,” तरकारी खेतीप्रति उनी वितृष्णा पोख्छन् । एकातिर किसानको उपज बारीमै खेर जानु अर्कोतिर किसानको भान्सामा पुग्न नसक्नु । यी दुवैको सन्तुलन नमिल्दा पनि किसानले गरेको उत्पादन खेर गईरहेको हो ।
हिजोका दिन किसानलहरूले लगानीको समेत मूल्य नपाएर सडकमा कृषिउपज फालेर विरोध जनाउंँथे यी सबै आन्दोलन कृषिउपजको सही मूल्य पाउन गरिएको आन्दोलन हुन्थ्यो । तर अहिलेको अवस्था भने फरक छ । सोही ठाउंँका अर्का किसान लक्ष्मण चौधरीले लगाएको भिन्डी बिक्री नभएर जैविक मल बनाउन लागेका छन् । “लगानी यसै उठेन त्यसै उठेन, मल बजारमा पनि पाइँदैन, मल बनाएर सन्तोष लिएको छु,” उनी चित्त बुझाउँछन् । उनले एक बिघामा लगाएको भिन्डी संकलन गरेर मल बनाउन लागेका हुन् ।
चितवनका अधिकांश किसानको तरकारीको थोक बजार नारायणगढ, काठमाडौं र पोखरा हो । कोरोनाको कहर र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउन कारण भिड हुने भएकाले लकडाउनसंँगै सबै बजार बन्द छन् । बारीमा उत्पादन छ तर यो सहज रूपमा बजारमा ल्याउन सकिएको छैन । बजारमा ल्याए पनि बिक्री गर्ने थोकबजार बन्द छन् । एकातिर कृषि उपज खेर गइरहेको छ भने अर्कातिर उपभोक्ताको भान्सामा पुग्न सकेको छैन ।