काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन् । संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नसँगै भारतीय अतिक्रमणको पनि कडा शब्दमा जवाफ दिए ।
सरकारले मंगलबार (हिजो) मात्र नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो । कतिपयले सरकारले नक्सा त छाप्छ, भूमि के गर्छ ? भनेर प्रश्न उठाइरहँदा उनले भूमि पनि फिर्ता ल्याइछाड्ने दाबी गरे । “नयाँ नक्सा पारित भइसकेको छ । अब प्रकाशित हुन्न्छ । हामी ठोस रूपमा कूटनीतिक प्रयास लिनेछौं । त्यो भूभाग समेटेर नयाँ नक्सा तयार गर्नेछौं,” उनले भने, “हाम्रो भूमि बेकारको अकुपाई गरेर आफ्नो बनाएको छ । यो विषय सेलाउन दिइने छैन । कूटनीतिक पहलबाट फिर्ता ल्याइनेछ । अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ ।”
संसदको रोस्टममा उभिएर बोल्दा–बोल्दै स्वास्थ्यमा समस्या भएपछि बसेर बोलेका प्रधानमन्त्री ओली त्यतिमै रोकिएनन् । उनले भारतको प्रतीक चिह्नमाथि टिप्पणी गर्दै भारत सत्यमेव जयते कि सिंहमेव जयते ? भन्दै प्रश्न पनि गरे । उनले आफुहरू सत्यमेव जयतेको पक्षमा भएको पनि बताए । “भारतको एउटा प्रतीक चिह्न छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चारमुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ । त्यसको मुनि सत्यमेव जयते लेखेको हुन्छ । म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ?” उनले भने ।
कांग्रेसलाई परिपूर्ण लोकतन्त्रको पाठ
प्रधानमन्त्री ओलीले भारतलाई मात्र होइन अधिनायकवादको बाटोमा जान खोजेको आरोप लगाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि कडा जवाफ दिए । उनले नेपालमा निरंकुशताको उदय हुन्छ भन्ने कल्पना नगरे हुने बताए । उनले सरकारको नीति तथा कार्यक्रममा समावेश परिपूर्ण लोकतन्त्र के हो ? भन्दै प्रश्न गरेको कांग्रेसलाई पाठै पढाए ।
उनले परिपूर्ण लोकतन्त्रको व्याख्या गर्दै आफूहरूले चल्तेचलाते लोकतन्त्र नभनेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफूहरूले सम्भ्रान्त लोकतन्त्रको कुरा नगरेको भन्दै भने, “हामीले बोल्न पाउने, पार्टी खोल्न पाउने मात्र होइन, जनताको लोकतन्त्र खोजेका हौं । सम्भ्रान्त लोकतन्त्र खोजेका होइनौं । मानिसका छोराछोरी सडक बालबालिका भएर खानाका लागि कुकुरसँग लड्नुपर्ने, वृद्धवृद्धा बेसहारा भएर बूढाबूढी सडकमा अलपत्र पररहँदा समृद्धिको गफ गर्ने लोकतन्त्र भनेका होइनौं ।” प्रतिव्यक्ति आम्दानी हेर्ने नभई मानवजीवनको सम्पूर्ण पक्षलाई ध्यान दिने सामाजिक न्यायसहितको लोकतन्त्र नै परिपूर्ण लोकतन्त्र भएको उनको भनाइ थियो ।
राजीनामा माग्नेलाई पनि जवाफ
सांसद बाबुराम भट्टराईलगायत केही सांसदले प्रधानमन्त्रीको राजीनामा मागेको विषयमा पनि उनले जवाफ दिएका छन् । कसैले ‘इनफ’ भनेकै भरमा आफूले सरकार नछाड्ने उनको प्रस्ट सन्देश थियो ।
बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनुअगाडि बेलायती संसदमा ‘इनफ, इनफ’ को नारा लागेको स्मरण गर्दै उनले अहिलेको सरकार जनादेशबाट आएको भन्दै सरकार नछाडने जवाफ दिए ।
“अहिलेको सरकारलाई छाडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एन्ड मोर द्यान इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, यो जनादेशबाट आएको सरकार हो, जनादेशलाई कदर गर्छ । इच्छा गर्न त पाइन्छ, म त्यसमा केही भन्दिनँ । अत्यन्त समानका साथ सम्झाउन मात्र चाहन्छु,” ओलीले भने ।
नेकपाभित्र विवाद चर्किएका बेला विवाद मिलाउन चिनियाँ राजदूतले भूमिका खेलेर सरकार जोगाइदिएको भन्दै भएका विश्लेषणको पनि उनले खण्डन गरे । उनले ढल्न लागेको सरकार विदेशी राजदूतले जोगाइदिएको भन्नु कमजोर, निम्छरो वचन भएको बताए । “हामी कहिले–कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ,” ओलीले भने, “यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशीर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।”