बधाई छ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई ! अनि बधाई करिब करिब दुई तिहाइ बहुमतको सरकारलाई । बधाई किन ? किनभने महामारीले विश्व त्राहिमाम् भइरहेका बेला पार्टी र सरकार दुवैले जनताको ध्यान नै पूरै ‘डाइभर्ट’ गर्न सफल भएकोमा । अनि, यो महाव्याधिको चासो नभएजसरी सत्ता लुछाचुँडीको कुस्ती खेलेर जनतालाई मनोरञ्जन प्रदान गरेकोमा । विपत्तिका बेला देखाएको चटकको मूल्यांकन जनताले पनि चुनावका बेला गर्ने त होला !
विश्वका धेरै देशमा जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) छ । यो बन्दाबन्दी बिस्तारै सबैतिर खुल्दै जानेछ । नेपाली युवा मलेसिया, कतार लगायतका अरबखाडीदेखि युरोप अमेरिकासमेतबाट बेरोजगारीका कारण क्रमशः फर्कन सुरु गर्नेछन् । रेमिटयान्सको स्रोत ठप्प प्रायः हुनेछ । अनि देशमा बेरोजगारको संख्या हवात्तै बढ्नेछ । बेरोजगारीको हल हुन नसके विभिन्न प्रकारका विद्रोह र अशान्ति बढ्दै जानेछन् । पारिवारिक कलहदेखि अपराधका घटनाको मापन फराकिलो हँुदै जाने संकेत देख्न थाली सकिएको छ । युरो र डलर कमाउन आएकाहरु कामविहीन हुँदैगएका छन् । रोजगार गुमाएपछि पनि युरोप अमेरिकातिरै धानिन नेपाली रुँपैयालाई नै डलर र युरोमा ‘कन्भर्ट’ गरेर मगाउन सुरु भइसकेको छ ।
देशको पर्यटन चौपट भइसकेको छ । यो अझ कहिलेसम्म लम्मिन्छ निश्चित छैन । कृषि निर्वाहमुखी छ । निर्यात र आयतको खाडल थामी नसक्नु छ । त्यसलाई रेमिट्यान्सले धानेको थियो । रेमिट्यान्सको स्रोतै धराशयी भइसकेको छ । रोगभन्दा पनि जनतामा भोकको चिन्ता बढ्न थालेको छ । विश्वका सम्पन्न देशहरु कोरोनापछाडि जनताको आवश्यकता सम्बोधन कसरी गर्ने भनेर चिन्तित र क्रियाशील देखिन्छन । इटली, स्पेन, फ्रान्स, जर्मनीजस्ता देशका सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दल जनताको हितमा के गर्न सकिन्छ र के गरिनुपर्छ भनेर दैनिक बहस गर्छन् । विरोध होइन सद्भाव र सहकार्यबाट संकटलाई पार लगाउन हातेमालो गर्ने प्रण गर्छन् । तर, देशको अवस्था विकराल बन्ने खतराको घन्टी बजी सक्दा पनि हाम्रो देशमा भने कुर्ची केन्द्रित बहसमै बैठक सकिन्छ । सत्ता र शक्तिको बाँडफाँटको सन्तुलन मिलाउनमै कम्युनिस्ट शीर्षस्थहरु लुछाचुँडी गरेको समचार आउँछ । तर बहस हुँदैन कहिल्यै भुइँ मान्छेको कोलाहल र क्रन्दनको । किनभने त्यो कम्युिनस्ट ‘सुप्रिमो’हरुको बैठक हो ।
रोगको भन्दा भोकको डरले छटपटिएका भुइँमान्छेहरुको कोटेश्वरको कोलाहल कोटेश्वरकै कमरेड नेपालले देख्दैनन् । चिउरा र पानीको भरमा पश्चिमतिरको पैदलयात्रा थालेकाहरुको कलंकीको क्रन्दन खुमलटारसम्म त झनै सुनिदैन । देखियोस्, सुनियोस् पनि कसरी ? त्यो कोलाहल न चुनावको सभाको थियो न त्यो भिडमा कामरेडहरूका कुनै साइनो सम्बन्ध भएका आफन्त नै थिए । थिए त प्राण जोगाउन एक छाक खान संघर्ष गरिरहेका भुइँ मान्छेहरु । अनि भुइँ मान्छेहरुको व्यथा कम्युनिस्ट नेताले बुझ्ने र सुन्ने बेला होइन यो ।
अनि कामरेड रावल र पोख्रेललाई पनि राम्रोसँग थाहा छ कामरेड वामदेवको बालुवाटारको बेडमा बस्ने सपना पूरा नभएसम्म आफ्नो पालो आउँदैन भन्ने । यतिबेला भुइँ मान्छेको आवाज बोलेर पार्टीको ध्यान अन्त लानु आफ्नै खुटटामा बन्चारो हानेसरह हुनेछ भन्ने पालो पर्खेका कामरेडहरुलाई ज्ञान नहुने कुरै भएन । कामरेड वामदेवलाई त अग्रिम बधाई तथा शुभकामना छ । फेरि दोहोरयाऊँ नेकपाका नेताहरुले संकटको यस घडीमा जे गरेका छन् साँच्चै देश र जनताकै लागि गरेका छन् । उनीहरुको यस्तो त्याग र समर्पणलाई सलाम त गर्नै पर्छ । आज नबुझे पनि सायद जनताले भोलि बुझ्नेछन् ।
यसैले नेकपालाई बधाई !
कोरोना कन्ट्रोलका लागि लकडाउन नै गरिदिएको छ । त्यो पनि दुई महिना पुग्न लागिसक्यो । सरकारले गर्नुपर्ने सायद यतिमात्रै थियो र गर्नसक्ने पनि यत्ति नै हो । तसर्थ, सरकारको विरोध त झन् गर्दै नगराैँ, अरु देशसँग त झनै तुलना नै नगरौँ । किनभने यो नेपाल हो र नेपाल भनेको नेपाल हो ।
देशको राजस्व हवत्तै घटदैछ । विकास निर्माणका काम कोरोना र लकडाउनले ठप्प छन् । लाखाैँले देशभित्रै रोजगार गुमाइसके । विदेशबाट लाखौं नेपालीले उद्धारका लागि याचना गरिराखेका छन् । कतै कसौँडी खाली हनु थालिसक्यो, कति बच्चा कुपोषणको सिकार भइसके, आमाबाबु आधापेट खाएर गुजारा गर्न विवश भइसके । सहायतामा पनि टाठाबाठा कै राज छ । समस्या दैलामा आइसक्यो । के गर्ने कुनै योजना छैन । उडान खुल्नेबित्तिकै देश भित्रिनेको लाम लाग्नेछ । खालीहात स्वदेश फर्किने धेरै हुनेछन् । बाहिरबाट भित्रिएका र भित्रैका लाखौं बेरोजगारहरु विकल्पविहीन भएपछि हुने त विद्रोहको बीजारोपण न हो ।
चौतर्फी समस्याको चौघेरामा देश घेरिंँदै जाँदा पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाउने ‘ अत्यावश्यक’ अध्यादेश ल्याउन भने ढिलो गरेनन् । बालुवाटारको बरन्डाबाट भुइँ मान्छेहरुको बेचैनीलाई रमिता मानेर हेर्न छुटाएनन् । सत्ता र शक्ति जोगाउन कुनै कसर बांकी राखेनन् । अन्योलका बीचमा पनि उनले देखाएकोे सक्रियता कम तारीफ योग्य छ ?
महामारीसँगै आउन सक्ने आर्थिक संकट र जनताको दुःख सम्झेर क्यानेडियन प्रधानमन्त्री जस्टिन टु«डो आँसु झार्छन् । एन्जेला मार्केललाई जर्मनीले संकटबाट कसरी पार पाउला भन्ने चिन्ता छ । इमानुएल म्याक्रो फ्रान्सेलीले भोग्न परेको दुर्दशा देखेर दिक्दार छन् । महाशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत अमेरिका कसरी जोगिएला भनेर बेचैन भएजस्तो देखिएका छन् । हाम्रा प्रधानमन्त्री ओलीमात्र ढुक्क देखिन्छन् । लकडाउन बढाउने निर्णयलाई नै जादूको छडी भन्दै आत्ममुग्ध छन् । धन्य छ प्रधानमन्त्री ओलीले दूरदर्शिता र सक्रियता !
डेनमार्कको पुँँजीवादी सरकारले काम छुटेको मजदुरको खातामा पनि शतप्रतिशत तलब हाली दिएको छ । सिंगो देश लकडाउन हुँदा पनि इटाली सरकारले प्रत्येक नागरिकको खातामा मासिक पाँच सय युरो राखिदिएको छ । भारतले आफना नागरिकलाई नगदैदेखि अन्नको सहयोग दिइरहेको छ । हो, कहिलेकाहीँ हामी झुकिन्छौँ, भावना र आदर्शमा बहन्छौँ । अन्तजस्तै नेपालमा किन भएन भन्छौँ ? बुझ्नु पर्यो नि गरिब मजदुरका लागि त नेपालमा सिगो दुई तिहाइको कम्युनिस्ट सरकार नै छ ।
सिंगो राज्य नै सर्वहाराका प्रतिनिधिको भएपछि केका लागि चाहियो अनुदान र सहायता ? जे जति भइराखेका छन् सबै जनताकै लागि भइराखेका छन् ।
अनि धेरै धेरै बधाई नेकपाका कार्यकर्तालाई । कोही भोकै म्याग्दीबाट रामेछाप पैदल हिँडेका छन् । कति देशकै राजधानीभित्र अलपत्र परेका छन् । ओम्नी र यतीको चलखेलले निरन्तरता पाइराखेको छ । कोरोना टेस्ट किटदेखि पीपीई खरिदसम्ममा पारदर्शिताको प्रश्न उठिराखेको छ । तर, नेकपाका कार्यकर्ता अपराध र अनियमिततामा चुर्लुम्मै डुबे पनि आफ्ना गुटका नेता बचाउन मौरीले रानो संरक्षण गरेजस्तै एकाकर हुनबाट विचलित भएका छैनन् ।
पराइ गुटका नेता कार्यकर्तालाई पाखा लगाउन अरिंगालजस्तै बनेर आक्रमण गर्न रोकिएका छैनन् । यसर्थ पनि उनीहरुलाई बधाई दिन पनि कन्जुस्याइँ गर्नु हुँदैन । तब नकम्युनिस्ट कार्यकर्ता !
सामाजिक सञ्जालबाटै प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने छिनोफानो गर्न, ठेक्कापटटा, आफनो नाममा पार्न को आउँदा फाईदा हुन्छ उसको पक्षमा सक्दो लबिङ गर्न, अनि टोल विकासदेखि विद्यालय व्यवस्थापन समिति कब्जा गर्न ‘मनी’ र ‘मसल’ प्रयोग गर्न व्यस्त र अभ्यस्त कार्यकर्तालाई कसरी फुर्सद मिलोस् भुइँमान्छेहरुका बारेमा सोचिरहन ? कार्यालय सहयोगीदेखि हाकिमकोे नियुक्तिसम्मका लागि वडाबाट मन्त्रालयसम्म सिफारिस बोकेर धाउन व्यस्त नेकपाका कार्यकर्तालाई खाली खुट्टा भोकै सडकमा अलपत्र परेकालाई सहयोग गर्ने समय कसरी मिल्छ ? चुनावका बेलामात्र चाहिने ती भुइँमान्छेको बारेमा यो बेमौसममा सोच्ने फुर्सद नहुनु पनि स्वभाविक हो ।
अन्त्यमा, जनतालाई जेसुकै होस्, देशमा जस्तो समस्या आओस् नेपाल कम्युनिस्ट पार्टीका नेता, मन्त्रीदेखि कार्यकर्तासम्मको स्वार्थ र इच्छा पूरा भइरहोस् । तिनको पार्टी र सरकारले गरेको कामको ‘उच्च मूल्यांकन’ जनताले आगामी दिनमा निष्पक्ष रुपमा गरुन् । शुभकामना !