डढेलधुरा । राउटे समुदायका व्यक्तिले चुरेक्षेत्रमा अतिक्रमण गरी टहरा निर्माण गरिएको जानकारी पाएपछि वन कार्यालय र स्थानीय सामुदायिक वनउपभोक्ता समितिको संयुक्त टोली गएर हटाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्राटहरा भत्काई आगो लगाइएको हो । सालको वन भएको भित्रीमधेश जोगबुडा क्षेत्रमा अतिक्रमण गरी बनाइएका ६ छाप्रा भत्काई आगो लगाइएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।
परशुरामनगरपालिका –१२ स्थित डङ्शेरा सामुदायिक वन उपभोक्ता समूहसंँग जोडिएको राष्ट्रिय वन क्षेत्रमा बनाइएका टहरा सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र वन कार्यालयका कर्मचारीको पहलमा भत्काई आगो लगाइएको अधिकृत आचार्यले जनाएका छन् । रासस