काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसका कारण नेपालीहरु समस्यामा परेको तथ्यांक संकलन गर्न थालिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, "विश्वव्यापीरूपमा फैलिएको महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले विभिन्न पेसा, व्यवसायमा आबद्ध रही विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले कुनै न कुनै रूपमा प्रभावित भई असहज अवस्थाको सामना गरिरहनु भएको व्यहोरा सबैमा विदितै छ । यसै विषयलाई मध्यनजर गर्दै कतारमा रहनुभएका नेपालीहरुको तथ्यांक संकलन गर्न लागिएको छ ।"
दूतावसाले कतारमा रहेका नेपालीहरुको समस्या पहिचान गरी समाधानमा सहजिकरण गर्न उक्त तथ्यांक संकलन गर्न लागिएको जनाएको छ । दूतावसाले पठाएको प्रारुपमा https://forms.gle/2pqn6fJ5aTCFex1b6 मा यथाशक्य प्रष्ट र विस्तृत विवरण भर्न आग्रह गरेको छ । फाराममा उल्लेखित विवरण भरिसकेपछि सोही फारामको अन्तिममा रहेको Submit बटनमा थिच्नुपर्नेछ ।
कतारमा रहेका नेपालीहरुले उपलब्ध गराएका सूचनाहरु गोप्य रहनेसमेत दूतावासले जनाएको छ । कसैलाई फाराम भर्न असहज अथवा समस्या भएमा दूतावासको फेसबुक पेजको इनबक्समा गई म्यासेज पठाउनु अथवा दूतावासको फोन नम्बरमा सम्पर्क गरी विवरण टिपाउसमेत आग्रह गरिएको छ ।