site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बन्दाबन्दीमा गृहविज्ञान

एक सहकर्मी भाइलाईफोन गरेँ । जवाफ आयो “नमस्ते म्याडम, सन्चै हुनुहुन्छ ?” 

“म सन्चै छु ,अनि तपाईं कता हुनुहुन्छ ?”

“म घर वरिपरि नै छु म्याडम, कहीँ जाने कुरा भएन । घरमै बसेर काम गर्दैछु, शरीर यहाँ छ मन उतै छ ।” 

KFC Island Ad
NIC Asia

मैले सोधें, “मन कता छ ?” 

“कहाँ हुनु अफिसतिर नि”जवाफमा आयो । 

Royal Enfield Island Ad

केहीबेरको कुराकानीपछि पछाडि कोही बोलेको सुने । 

“हैन कस्तो नपरेको हो आज त !”

गाइँगुइँ सुन्दा अन्दाज लगाएँं र जिस्क्याँउदै सोधेँ – “तपाईँलाई पनि खाने परेन ?” 

उसले हाँंस्दै जवाफ दियो – “मैले आफ्नो त राम्ररी हेर्नै पा’छैन म्याम।” “तास खेल्दै हुनुहुन्छ?” “हजुर यस्सो बसेर...।”“ल ! ल ! मनलाई कतै जान नदिई शरीरमै राखेर खेल्नु होला ।”

“वर्क फ्रमहोम भन्या छ केहि नगरी पनि भएन । अफिसमा भएको भए मिटिङमै बढी व्यस्त भइन्थ्यो, ल्याएको डकुमेन्टमा सही गर्न पनि भ्याइन्नथ्यो । छिनछिनमा एक न एक स्टाफको कुरा सुन्दा र सल्लाह दिँदादिँंदै इमेल चेक गर्ने र फोन उठाउने समेत फुर्सद हुन्नथियो । अब त्यो सबै काम घरबाट गर्न मिलेन ।”     

अधिकांशतस् कामको प्रकृतिअनुसार घरैबाट पूरै गर्न संभव हुन्न । तर मानिसहरू यो भन्न रुचाउन्नन् र जे गर्दैछन् त्यसैसँग आफूलाई मिलाउन हिचकिचाउँछन् । मन र शरीरलाई बाँड्ने यस्तो एउटा वर्ग घरघरमा थुनिएको छ । 

अर्की एक जना सहकर्मी भन्छिन् – “मेरो त दिनमा सातचोटी झगडा हुन्छ बूढा (पति)संँग । जति भनेपनि हाम्रो जस्तो पितृसत्तात्मक समाजमा गाह्रै रहेछ । सासुससुराको अगाडि पतिले घरको काममा सघाउन चाहेर पनि अघि नसर्ने । ऊ गर्दैन, मलाई रिस उठ्छ अनि झगडा भइहाल्छ ।”                               

कामदार महिला कमसेकम घरबाट बाहिर रहँदा घरेलु कामबाट अलि फुर्सदिला हुन्छन् । कामबाट फर्केर आउँदा जागिरे बुहारी भनेर सासु ससुराले गर्ने व्यवहारमा फरक देखिन्छ । तर अहिलेको बन्दाबन्दीमा भने घरको काममा अग्रपंक्तिमा बुहारी नै पर्ने धेरै परिवार छन् । आफूले केही काम नअह्राई हुर्काएको छोरालाई बुहारीले अह्राएको वा छोराले बुहारीलाई सघाएको देख्दा प्रायः आमाबाबुको आँखा बिझाउँछ । यस्तोमा क्रोधलाई मनैभित्र ‘लक’ नगरी पतिसंँग झगडा गर्नु नै सार्थक ठान्छिन् उनी । 

“बिहान बेलुका भेट हुन्थ्यो, त्यति धेरै समय नै हुन्नथ्यो । सातामा एकदिन बिदा । यताउता गर्यो, बाहिर खानजाने, आफन्त भेटघाट गर्दै रमाईलो मै बितिरा’थ्यो । हैन, यो चौबीसै घन्टा त हामी एक अर्कालाई नचाहिने पो भा हो कि खै ?कुरै मिल्दैन बा ! मैले बोल्या उल्लाई चित्त बुझ्दैन, उल्ले गर्या मलाई चित्त बुझ्दैन ।”

“म त पहिला पनि लकडाउनमै थिएँ अनि अहिले पनि । मेरो आफ्नो लागि त केहि पनि फरक पर्या छैन । बरु पकाउने खाने काम भने थपिएको छ । तैपनि घरमा सबै परिवार सँधै वरिपरि पाउँदा खुसी चाहिँ लाग्छ है ।” 

“तिम्रा हात किन खस्रा, कुर्कुच्चा किन फुटेका रहेछन् अहिले पो था’भो । यो भाँडा माझ्ने साबुन राम्रो रहेनछ बुझ्यौ? कस्तो खस्रो भो । हात हेर त, अलिकति क्रिम ल्याउत, लगाऊँ ।”

घरबाट काम र अनि घरमै कामबाहेक लैंगिक आँखाले या मनोसामाजिक चस्मा लगाएर हेर्ने हो भने पनि माथिका यस्ता केही संवादले अहिलेको बन्दाबन्दीमा घरघरमा देखिने विविध परिदृश्यलाई झल्काउँछ । तर, यी विविधतामा पनि एउटा समानता भने भेटिन्छ – त्यो हो  ‘परिवार’ । केही अपवादलाई छाडेर यतिबेला सबै घरघरमा आफ्नो परिवारसँग छन् । अहिले हामी सामाजिक जीवनबाट टाढा छाैँ । बनाइएका थुप्रै नाता सम्बन्ध, ईष्टमित्रबाट हामीलाई टाढा रहनु भनिएको छ । ‘सोसियल डिस्टान्सिङ’ सामाजक दूरी भन्दै हामीलाई घरघरमा बन्द गरिएको छ । घरमा बस्दा उकुसमुकुस भएर बाहिर रमाउनेलाई समेत घरैमा बस्न बाध्य बनाइएको छ ।

यतिबेला ‘घर’, ‘परिवार’, ‘परिवारको महत्त्व’अनि परिवारको अगाडि बाँकी सबै सम्बन्ध गौण रहेछ भन्ने एउटा महत्त्वपूर्ण पाठ समयले सिकाएको छ । घर बाहिर जान बन्देज छ, अधिकांश मान्छेको आफूभित्र छिर्ने बानी नै छैन । बाँकी रह्यो बीचमा परिवार र यिनैसँग बिताउनु पर्दा पो थाहा भयो कि बाहिर विकल्प थुप्रै भएर पो परिवार ओझेलमा परेको रहेछ । अन्ततोगत्वा जीवनमा बिसाउने थलो त परिवार नै रहेछ । बाहिरी जगतको पहुँच हुँदा पो परिवार ओझेलमा परेको रहेछ । अनि घुर्की लगाउने भाँडो बनाइएको रहेछ । सामाजिक पुतली हुने चाहमा हाम्रो सन्तुलन बिग्रेको रहेछ । हामीले परिवार र समाज मिलाउन नसकेको पो रहेछ । बन्दको समयमा घरघरमा पकाइएका मीठामीठा परिकार परिवारसँग रहेर खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा देख्दा महसुस भयो बिदाको दिन बाहिर होटेलमै गएर खाएपछिमात्र रमाइलो हुन्छ भन्ने मानसिकता गलत रहेछ ।

‘‘दिनभरि घर बसेर पत्नी सिरियलमात्र हेर्दिरहिनछिन्, मेरा आफन्त ईष्टमित्र घरमा आउँदा उनीहरूबाट पाउने तारिफमा यिनले निकै पो परिश्रम गरेकीरहिछिन्’’ भन्ने हेक्का पनि भयो होला केही पतिहरूलाई । ‘‘लैंगिक भूमिकाले  आफ्नो भागमा परेको घरधन्दामा ममात्र हैन मेरा  पति पनि उत्तिकै निपुण रहेछन्’’ भन्ने हेक्का केही पत्नीलाई पनि पक्कै भयो होला ।

सूचनाप्रविधि अनि कम्प्युटर विज्ञानबाहेक अरू त पढ्ने विषय नै होइन भनी ठान्ने एउटा पुस्ता अर्थात् छोराछोरी बाहिर खान नपाएर छटपटिँदै अहिले घरघरमा गृह विज्ञान पढ्दै छन् । ज्वानो कस्तो हुन्छ ? मेथी, जिरा, धनियाँको गेडा कस्तो हुन्छ ? तरकारी पकाउँदा के पिस्ने ? के फुराउने ?कति पकाउने ?यो सब थाहा पाउन छोरा छोरीलाई फुर्सद छ अहिले । “कम्प्युटर विज्ञान पढे पनि साइडमा म त कुकिङ पनि सिक्छु ।” कमसेकम बेलैमा यसको महत्त्व बुझ्यो छोराले । आफूले तयार गरेर, पकाएर खाँदाको आनन्द आफैँमा एउटा पथ्य हो भन्ने बुझ्ने अवसर दिएको छ आजको लकडाउनले हामीलाई ।

“बाँच्नको लागि त सामान्य रासन, दूध, औषधि अनि मनोरञ्जनको लागि एउटा टीभी, मेरो त खर्च नै कम भएको छ यो लकडाउन ले त ।” अकी एउटी मित्र आफ्नो अनुभव सुनाउँछिन् । हो त नि ! वास्तवमा हाम्रो धेरै खर्च त देखाउनका लागि पो रहेछ । आफ्नै लागि त कहाँ धेरै चाँहिदो रहेछ र ! यद्यपि वर्तमान परिस्थितिको सामाजिक दूरीले सिंगो देश र विश्वकै अर्थतन्त्रमा पर्न गएको प्रभाव भने अर्थविद्का लागि अध्ययनको नयाँ विषयको रूपमा जन्मिएको छ ।

कोठामा कस्तो पर्दा रहेछ ? दराजमा कति लुगा रहेछन् ? कौसीमा कति फूल फुलेछन् ? बुबाको दाह्री कति फुुलेछन् ? आमाको अनुहार कति चाउरी परेछन् ? मीठोमीठो पकाएर खुवाउने गरेका ती हात कति फुटेका रहेछन् ? यो सबै हेर्न मनग्गे समय छ अहिले । घरैमा पढ्न सकिने यति धेरै आयाम हुँदाहुँदै पनि यदाकदा सामाजिक सञ्जालमा ग्याँसको चुल्होको प्वाल गनेर ‘काम नभएको’ प्रतीकात्मक सन्देश दिएको पाइन्छ । लौ है ! एकपल्ट सोचौँ कहीँ हामी चुक्दै त छैनौँ परिवारको महाकाव्य अध्ययन गर्न ?

सामाजिक प्राणी भएर अहिलेसम्म हामीले धेरै पढिसक्यौँ । राजनीति पढ्यौँ अनि आफूलाई स्थापित गर्न, उचाइमा(?)पुर्याउन धेरै कूटखेल गर्यौँ । अर्थशास्त्र पढ्यौँ, सहरमा एक टुक्रा घडेरी किन्न रातदिन आफूलाई खियायौँ । इतिहास पढ्यौँ, अतीत समातेर ‘त्यो आज किन छैन’ भनी कुण्ठित भई नै रह्यौँ । भूगोल पढ्याैँ, भूमण्डलको अरू प्राणीको जीवन देखेर आहारिस गरी नै रह्यौं । यति धेरै पढ्दापढ्दै परिवार पढ्ने समय भने हामीलाई कहिल्यै भएन । हामी यति धेरै सामाजिक भयौँ कि आफ्नो घर, कोठा, दराज, कुना काप्चामा कहाँ के छ भन्दा पनि सामाजिक सञ्जालमा आफ्ना कति फ्रेन्ड (?)छन् भन्ने हाम्रा लागि महत्त्वपूर्ण भइदियो ।

परिस्थितिले बाँधेर घरघरमा लक्डडाउन भएका हामी सबैलाई यो एउटा ठूलो अवसर हो गृहविज्ञान अध्ययन गर्ने । घरमा बसेर परिवार पढ्ने, आफूलाई केलाउने अनि सम्बन्ध सुधार्ने । प्रतिभा देखाउने, क्षमता तिखार्ने, पारिवारिक एकता छोराछोरीलाई सिकाउने, एकअर्कालाई बुझ्ने अनि यो सबैको केन्द्रबिन्दु ‘घर’ रहेको साबित गर्ने । अध्ययन गर्ने यति ठूलो महाकाव्य आफूसँगै हुँदा पनि एक मित्रलाई हालखबर सोध्दा उनी यसरी जवाफ दिन्छिन् – “हाल बेहाल छ, बहुलाउनमात्र बाँकी छ । खायो, भाँडा माझ्यो, सुत्यो, उठ्यो, फेसर खायो...।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro