चितवन । यतिबेला सुनसान र शान्त छ सौराहा । सौराहाको किनाराबाट राप्ती नदी कलकल गर्दै बगिरहेको छ । त्यसको झन्डै २ सय मिटरवर चोकमा गैंडाको मूर्ति ठिंँग उभिएर बसेको छ । त्यसैले यसलाई गैंडाचोक भनिन्छ । त्यसैको आडैमा एउटा आर्ट ग्यालरी छ– क्रियटिभ आर्ट ग्यालरी । त्यो बन्द भएको ३ साता नाघिसक्यो । बिक्रीका लागि हिमालका तस्बिर, जंगल, नदी अनि पहाडका बस्ती लहरै सजाएर राखिएका छन् ।
विगतका वर्षहरूमा हिमालका तस्बिर हांँसिंरहेको हुन्थ्यो एकछिन तस्बिरमा टोलाएर हेर्दा पनि सिरिङ्ग जाडोको अनुभव हुन्थ्यो । हरियाली जंगलका तस्बिरले प्रकृतिको बेग्लै आनन्द दिन्थ्यो ।
चराचुरुंगी चिरबिर गरेको सुखानुभूति हुन्थ्यो । कलकल बग्ने नदीका तस्बिरले स्वर्गको अनुभूति दिलाउंँथ्यो । ती पहाडका टल्किएका कलात्मक घरहरूले नेपालको पहिचान झल्काउंँथ्यो ।
आज परिस्थिति उल्टो भएको छ । अझ क्रूर अनि कठोर । अहिले उनले बनाएका हिमालले हांँस्न छोडेका छन् । हिमाल आज पग्लिएर रोइरहेको छ । हरियाली जंगल पतझर अनि नांँगा बनेका छन्– डढेलो लागेजस्तै । नदी उर्लिएर वरिपरिका भित्ता, पहरा भत्काएर धमिल्याउँदै हिँडेको छ । ती पहाडका घरहरू भूकम्पममा परेजस्तै गर्ल्यागुर्लुम ढलेर खण्डहर बनेका छन् ।
दुई दशकसम्म यो ग्यालरीले हिउंँद–बर्खा, बाढी–पहिरो खेप्यो, १० वर्षे सशस्त्र द्वन्द्व अनि जनआन्दोलन पनि खेप्यो । तर यस्तो अवस्था कहिल्यै आएको थिएन ग्यालरीका चित्रकार डी. बराल खुइय्य गर्छन् । आज उनको पसल उनलाई नै बिरानो लाग्न थालिसकेको छ, कहिले–काहीं मन बहालाउन घरबाट हिँडेर ग्यालरी जान आंँट गर्छन्, तर सक्दैनन् ।
आज उनको सिर्जना घरकै चारकुनामा सीमिति छ । “यतिबेला पर्यटकको सिजन थियो, अर्डर र चित्र बेच्न भ्याइ–नभ्याइ हुन्थ्यो तर अहिले ?” उनी विगत फर्कन्छन् । तर पनि उनलाई चित्रप्रति वितृष्णा छैन त्यसैले घरको बन्द कोठा अनि आंँगन उनको सिर्जनाको संसार भएको छ । “के गर्नु चित्र कोर्नैपर्यो, देशै शान्त भएको बेला सिर्जना पनि फुल्छ कि भनेर,” उनी चित्त बुझाउंँछन् । उनलाई नत समाचार सुन्न हेर्न नै ध्यान छ, न टेलिभिजनको रिमोर्ट दबाउन नै । त्यसैले उनी दैनिक ८ घण्टासम्म रङ र ब्रससंँगै खेल्ने गरेका छन् ।
उनलाई कोरिएका चित्र बिक्री हुन्छ कि हुँदैन त्यो त थाहा छैन । “बनाएर र राख्नुपर्यो, भोलि कससो बिक्री नहोला,” उनी आशावादी छन् । देशै लकडाउन भइरहेका बेला अहिले सारा आर्थिक गतिविधि ठप्प छ, चौपट छ यसको असर चित्रकलामा पनि पर्ने नै भयो ।
यस्तै अर्का चित्रकार लालकाजी लामाको चिन्ता पनि उस्तै छ । चितवन घर भए पनि उनले काठमाडौं छाड्न सकेका छैनन् । लकडाउन खुल्ला र अवस्था सामान्य होला भनेर ठमेलको आफ्नो ग्यालरी पसल खोल्ने पर्खाइमा छन् उनी । चौबीसै घण्टा चहलपहल र रमाइलो हुने ठमेल उनलाई मसानघाटजस्तै लाग्न थालेको छ । केही खाद्यान्न पसल र औषधि पसलबाहेक ठमेलमा सबै ठप्प छन् । उनी पनि काठमाडौकै डेरामा सिर्जनाका रङ कोरिरहेका छन् । तर उनलाई यो बाध्यता समय कटाउने मात्र मेसो बन्न थालेको छ ।
“मलाई त चित्र बनाउन पनि जांँगर मरिसक्यो । बनाएर पनि बिक्री भएन भने ?” आफैंलाई प्रश्न गर्छन्, तर उत्तर पाउंँदैनन् । किनकि यो बन्दाबन्दी कत्ति लम्बिने हो, आर्थिक मन्दी कति धकेलिने हो उनले अनुमानै लगाउन सक्दैनन् । उनले ब्रस र रङसँग खेलेको करिब ३ दशक हुनै लागेको छ । तर यस्तो परिस्थिति उनले गुजारेकै थिएनन् । “अब सटरभाडा र स्टाफको तलब कसरी तिर्ने ?” उनी चिन्तित हुन्छन् । “आफू भोको भएर पनि स्टाफको त पेट भर्नै पर्यो नि ? यस्तो बेला त,’ उनले आफ्नो दायित्व दर्शाउंँछन् ।
यही पेसालाई नै तस्बिरजस्तै सधैं जीवन्त राख्ने उनका सपना आज भताभुङ्ग भएजस्तो लाग्छ उनलाई । हुन पनि हो उनले यहीबेला पर्यटन भ्रमण वर्ष अनि सिजनका बेला भनेर सयौं चित्र टांँगेर राखेका थिए ग्यालरीमा । आज ती चित्रहरू पनि कैदीबन्दीमा परेका छन् । पर्यटन र पर्यटकसंँग प्रत्यक्ष जोडिने यो व्यवसायमा ठूलो पहिरो गएको छ । उनको मात्र होइन यहांँ सयौं चित्रकार, मूर्तिकारको अवस्था कहाली लाग्दो बनेको छ ।
भर्खरै मात्र यसलाई व्यावसायिक रूपमा अंँगालेकी चित्रकार रत्ननगर नगरपालिका १५ की सुजना बगालेको पनि सपना पनि चकनाचुर भएको छ । उनले कोरेका देवल मन्दिरहरूमा बत्ती बलेका छैनन्, घण्टा बजेका छैन, तर पनि उनी सिर्जनामै तल्लीन छिन् ।
“चित्र कोर्न त मैले रोकेको छैन, तर रङहरू सकिसकेको छ कति दिनसम्म साथ दिन्छ हेरौं,” उनी पीडा लुकाउंँदिनन् । उनलाई पनि थाहा छैन उनका सिर्जना संसारका हरेक कुनाकाप्चामा पुगेर कहिले रमाउंँछन् भनेर । त्यसैले त उनलाई बेच्न राखिएका सिर्जनाले आफैंलाई गिज्याइरहेको भान हुन्छ । उनले अहिले घरमै बसेर अर्डरअनुसारका मुहार चित्र कोरिरहेकी छिन् । तर ती मुहार चित्रहरू कत्ति गरे पनि हांँस्न सकिरहेका छैनन् । “मैले अहिले सामाजिक सञ्जाल र अनलाइनमार्फत चित्रहरूको अर्डर लिइरहेकी छु । यसअघि नगदमा कारोबार गर्थें तर अहिले उधारोमा,” उनले विवशता कहिन् ।
जिन्दगीका जीवन्त रङ कोर्ने चित्रकारहरू लकडाउनका कारण अहिले आफैं रङविहीन अवस्थामा पुगेका छन् ।