काठमाडौं । भारतमा कामका लागि पुगेका बझाङका सुवास विश्वकर्मा २० दिनअघि सीमावर्ती इलाका धार्चुला आइपुगेका थिए । सीमामा आइपुगेपछि नेपाल सरकारले दार्चुला छिर्ने नाका खोलिदिन्छ, त्यसपछि घर पुग्छु भन्ने उनको अठोट थियो ।
उनको अठोटमा आफ्नै देश बाधक बन्यो । सरकारले नेपालतिरबाट वीरेआग्लो ठोकिदियो । आफ्नै भूमि विरानो बनेपछि सुवास महाकालीको बगरमा अलपत्र परे । कोरोना कहर छिचोल्दै उनीसँगै दार्चुला सीमावर्ती इलाका धार्चुला आइपुगेका ७० जनाभन्दा बढी ज्यान माया मारेर महाकालीमा हाम फाले । पौडिएर वारि तरे ।
उनीहरूले देशको मुख देख्न त पाए । नेपाल पुग्नेबित्तिकै प्रशासनले वैरीको व्यवहार गर्यो । दिनभर चौकीको बास भएपछि मात्रै पारिवारिक पुनर्मिल्ती भयो । त्यही सुनेकाले पनि हुनुपर्छ, महाकालीमा डुङ्गाझैं हेलिएर वारि तर्ने ह्याउ सुवाससँग छैन । त्यसैले उनी बलुवाकोट महाविद्यालयमा शरणार्थीको दशा बिर्साउनेगरी बसिरहेका छन् । उनीसँग ३ सय ६८ जना नेपालीले एउटै नियति भोगिरहेका छन् ।
“२० दिन भयो हजुर, देश फर्कने आशा गरेको, हामीलाई त सरकारले बिर्सिइहाल्यो,” बाह्रखरीसँग निरन्तर सम्पर्कमा रहेका सुवासले बिलौना गरे । दार्चुला सदरमुकाम खलङ्गाको सामुन्नेमा रहेको सीमावर्ती इलाका धार्चुलामा १ हजार २ जना नेपाली अलपत्र हालतमा छन् ।
पिथौरागढ प्रशासनले चारवटा शिविरमा बाँडेको छ । जेनतेन खान र बस्नको प्रबन्ध मिलाएको छ । त्यहाँको वाणिज्य संघ र नागरिक समाजले त्यसको समन्वय गरेका छन् । नेपालतर्फको प्रशासनको त्यसमा कुनै भूमिका छैन ।
धार्चुलाको जबाहरसिंह मिनी स्टेडियममा ३ सय २५, बलुवाकोट महाविद्यालयमा ३ सय ६८, जौलजीवी शिविरमा २ सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली बसेका छन् ।
उनीहरूलाई भारतीय प्रशासनले उचित रेखदेख, क्वारेन्टाइन गरेको भनेर नेपाल सरकार प्रफुल्ल मुद्रामा प्रस्तुत हुन्छ । तर, त्यहाँ अलपत्र हालतमा रहेका नेपालीहरूको अवस्था बुझ्दा ढुक्क हुने अवस्था छैन । कोरोना सङ्क्रमणले नगाँजेपछि बसाइ नै व्यथा बनेको छ । त्यसैले रोग निम्त्याउने र महाव्याधिको रूप लिने खतरा नजिकिँदो छ ।
शिविर क्वारेन्टाइनजस्तो छैन । भारतीयले दुईछाक खानाको प्रबन्ध त गरेका छन् तर अधिकांश नेपाली बासी भात खुवाएको गुनासो गर्छन् ।
“अघिल्लो दिन नै पकाएको भन्दै कति साथीहरू खाना खाँदैनन् । बसाइ पनि गञ्जागोल छ । सबै एकैठाउँमा सुत्छौं । सुत्छौं पनि के भन्नु ! रात काट्छौं,” सुवासले गुनासो गरे । सुरुमा भारतीय प्रशासनले १४ दिन शिविरमा राख्ने भनेको थियो । दुई हप्तापछि परिवारको मुख देख्न पाइने भयो भन्ने आशाले पनि उनीहरू शिविरमा धकेलिन राजी भएका थिए ।
क्वारेन्टाइन अवधि गुज्रिएपछि नेपाल फर्कन पाइने आशा थियो । मंगलबारबाट सरकारले बन्दाबन्दी थप १२ दिन लम्ब्याएपछि उनीहरू निराश बन्न पुगेका छन् । “२० दिन त सिमानामा बिताइसकेका छौं । सरकारले नै १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ भनेको थियो,” उनी अनभिज्ञता प्रकट गर्छन्, “कतिञ्जेल अर्काको देशमा शरणार्थीझैं बस्नुपर्ने हो केही थाहा छैन ।”
घरमा खेती, बाली लगाउने मौसम सुरु भएको छ । कोरोना कहरले भारतलाई जीर्ण तुल्याइसकेको छ । पहिलेजस्तो मजदुरीका लागि भारतको भर पर्ने अवस्था छैन । आफ्नै माटो खनीखोस्री नगरे वर्षभरि जहान, बालबच्चा भोकै हुन्छन् । आम्दानीको अरू बाटो पनि छैन ।
“तर म सिमानामा अलपत्र छु । घरपरिवार चिन्ता गरिरहेका होलान् । भारतमा कोरोना फैलिएको सुनिरहेका होलान्,” उनी सरकारसँग अनुनयविनय गर्छन्, “सरकारबाट अरू केही आशा छैन, देश फर्कने दिए हुन्थ्यो ।”
१४ दिन क्वारेन्टाइनमा बस्दा कोही, कसैमा कोरोनाको सङ्क्रमण देखिएको छैन । लक्षण पनि छैन । खानपान नमिल्दा बेलाबखत बिरामी परे पनि परीक्षण गर्दा स्वास्थ्यमा थप कैफियत देखिएको छैन ।
“क्वारेन्टाइनको म्याद पनि भुक्तान भइसक्यो । कोही साथी बिरामी छैनन् । स्वस्थ छन् । खाली ढाटमा बस्नुभन्दा, सीमा क्षेत्रमा अलपत्र नराख्नुस्, अब त देश फर्कन दिनुस्,” बुङ्गल नगरपालिका वडा नम्बर ८ कै विक्रम विश्वकर्मा याचना गर्छन् ।
केही दिन भयो, पिथौरागढ प्रशासनले पनि उनीहरूलाई देशलाई अनुरोध गर्न भनिरहेको छ ।
“तपाईं आफ्नो सरकारलाई भन्नुस् । नगरपालिकालाई भन्नुस् । हामीलाई सुरक्षित लैजाओ भनेर माग राख्नुस् । दबाब दिनुस् भनेर यहाँका मानिसहरू भन्छन्,” विक्रम दुखेसो गर्छन्, “हाम्रो कुरा कसले सुन्छ र !”
त्यसपछि उनीहरूले आ–आफ्ना पालिकाका प्रमुखलाई फोन नगरेका पनि होइनन् । पालिका प्रमुखहरूले दिने उत्तर एउटै हुन्छ– “देशले भारततर्फको नाका खोले पो ल्याउनु !”
बलुवाकोट महाविद्यालयमा बझाङका ९९ सय जना, बैतडीका २ सय १६ जना, डडेलधुराका २० जना, दार्चुलाका २८ जना, कैलालीका २ जना, कञ्चनपुरका २ जना र डोटीका १ जना आश्रय लिइरहेका छन् ।
नेपाल सरकारले भारततर्फको सीमा अनिश्चितकालसम्मका लागि सिल गरेको बताएको छ । भारतले मे ३ (वैशाख २१) सम्म बन्दाबन्दी लम्ब्याएको छ । भारतले पूर्णरूपमा लकडाउन नखोल्दासम्म नेपालले पनि अन्तर्राष्ट्रिय सीमा खोल्दैन ।
यो थाहा पाएदेखि उनीहरू थप चिन्तामा परेका छन् ।
“भारतमा फैलिएको कोरोना धार्चुलासम्म आइपुग्यो भने हामीसबै भक्रान् हुन्छौं । जसरी पनि खोलिदिनुपर्यो । हामी आफ्नै देश फर्कन चाहन्छौं । हामी आफ्नै घरमा क्वारेन्टाइनमा बस्छौं, रोग लागिहालेछ भने घरखेत बेचेर भए पनि उपचार गर्छौं,” विक्रमले चिन्तिन हुँदै भने ।
फाइल तस्बिर