site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली खेलकुदको ऐतिहासिक वर्ष २०७६

काठमाडौं । नेपाली खेलकुदका लागि २०७६ ऐतिहासिक वर्ष सावित भएको छ । यो वर्ष नेपाली खेलकुद क्षेत्रमा धेरै ऐतिहासिक सफलता हात परे । धेरै खेलमा नयाँ कीर्तिमान बने । केही कीर्तिमानी पनि तोडिए । यो समयमा नेपाली खेलकुद क्षेत्रले महत्त्वपूर्ण सफलता हात पारेको छ । आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनासँगै ५१ स्वर्णको कीर्तिमानले नेपाली खेलकुदमा नयाँ आयाम थपेको छ । नेपालले यो वर्ष सागमा जितेको ५१ स्वर्ण खेलकुद जगतको ठूलो सफलता हो । 

त्यस्तै नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) माथि निलम्बन फुकुवा र नयाँ कार्य समितिसँगै खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेपमा) नयाँ सदस्यसचिव नियुक्त भए ।

त्यतिमात्र नभई क्रिकेटमा कीर्तिमान बनाएका पारस खड्का, सन्दीप लामिछाने, कुशल मल्ल, फुटबलकी सावित्रा भण्डारी, महिला भलिबलले पाएको ऐतिहासिक स्वर्णले नेपाली खेलकुदलाई चर्चामा ल्याइरह्यो । यस्तो अवस्थामा नेपाली खेलकुदले सागमा गरेको तयारीको कमजोरीले नेपालले धरै रजत पदकमा चित्त बुझाउनु पर्‍यो । 

Argakhachi Cement Island Ad

समग्रमा नेपाली खेलकुदले २०७६ प्राप्त गरेको सफलताको चर्चा 

१) सागमा ऐतिहासिक ५१ स्वर्ण 

लामो समयको अथक प्रयासपछि नेपालले घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न ग¥यो । पटक–पटक पूर्वाधार तयार नभएको कारण देखाउँदै सारिएको साग अन्ततः महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै सम्पन्न भयो । जसमा नेपालले ५१ स्वर्ण पदकको इतिहास बनायो । आयोजकको हैसियतले उद्घाटन र समापनलाई अहिलेसम्मकै ऐतिहासिक दाबी गरेको नेपालले पदकमा पनि नयाँ इतिहास रच्न सफल भयो ।

यसले खेलाडीमात्र नभई समग्र खेल क्षेत्रलाई उत्साहित बनाएको छ । तेक्वान्दोमा सर्वाधिक १२ र करातेमा १० स्वर्णसहित पौडीमा पनि नेपालले अपेक्षाकृत उपलब्धी हासिल गर्‍यो । पहिलो स्वर्ण जिताउने करातेका मन्डेकाजी श्रेष्ठसहित तेक्वान्दोकी आयशा शाक्य र पौडीकी गौरिका सिंह सर्वाधिक चर्चामा रहे । 

सागमा धेरै खेलमा पहिलो पटक स्वर्ण आयो । त्यसले खेलाडीको मनोबल उच्च बनाउनुका साथै नेपाली खेल जगतमा नयाँ इतिहास पनि लेखियो । खेलाडीहरूको सफलतामा सरकारले पनि ठूलो रकमको पुरस्कारको घोषणा गर्‍यो ।

२) क्यान निलम्बन फुकुवा, पारसको आश्चर्यचकित राजीनामा 

सन् २०१९ नेपाली क्रिकेटका लागि पनि सुखद नै रह्यो । नतिजाका हिसाबले यात्रा सुखद नरहे पनि अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन भने हट्यो । २०१६ मा राजनीति हाबी भएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गरेको थियो । 

खेलाडीलाई आफ्नो समन्वयमा विभिन्न प्रतिस्पर्धामा सहभागी गराएको आईसीसीले अन्ततः असोज २७ गते नेपालमाथिको प्रतिबन्ध सशर्त फुकुवा गरेको थियो । त्यसअघि क्यानको नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा चतुरबहादुर चन्दको प्यानल विजयी भएको थियो । 

२७ गते निलम्बन फुकुवा भएको भोलिपल्टै अर्थात् असोज २८ गते नेपाली क्रिकेट सकर्थकलाई आश्चर्यमा डुबाउने निर्णय कप्तान पारस खड्काले गरे । उनले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामनासहित राजीनामा घोषणा गर्दा समर्थकलाई निराश बनाएको थियो । उनको राजीनामापछि क्यानले ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तान बनायो ।

३) महिला भलिबललाई ऐतिहासिक स्वर्ण 

महिला भलिबलका लागि वर्ष २०१९ ऐहितासिक रह्यो । किनकि महिला भलिबलले लामो समयको प्रतीक्षापछि देशलाई महत्त्वपूर्ण स्वर्ण पदक जिताएको थियो । बंगलादेशको ढाकामा सम्पन्न प्रथम सेन्ट्रलजोन च्याम्पियनसिपमा महिला भलिबल टोलीले भलिबलकै इतिहासमा पहिलो स्वर्ण जिताएको हो । 

अरुणा शाहीको कप्तानीमा रहेको टोलीले अपराजित रहँदै स्वर्ण जित्दा सरकारले जनही ५ लाखबाट सम्मानित पनि गर्‍यो । साग सुरु हुन केही दिनअघि सम्मान थापेको टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि सागमा भने भारतको वर्चस्व तोड्न सकेन ।

पहिलो पटक फाइनलमा स्थान बनाए पनि नेपाल अन्ततः भारतसँग पराजित भयो । सुनौलो अवसर गुमाए पनि महिला टोलीले भारतलाई जित्न सजिलो हुनेछैन भन्ने भान भने गरायो । पुरुष भलिबल टोलीले अपेक्षाकृत नतिजा ल्याउन सकेन । घरेलु मैदानमा आयोजना भएको सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा समूह चरणबाट नै बाहिरिएको थियो । यस्तै सागमा पनि समूह चरणबाट नै बाहिरियो । 

४) विश्वकप छनोटमा सुधारिएको प्रदर्शन, अत्यमा स्वर्ण

नेपालको पुरुष फुटबल टोली २०१९ मा विभिन्न कारणले चर्चामा नै रह्यो । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटमा गरेको प्रदर्शन होस् या खेलाडीको काण्ड यो वर्ष तातिरह्यो । वर्षको अन्त्यमा सागमा जितेको स्वर्णले केही दुःखद पललाई भने बिर्सायो । 

विश्वकप छनोटका पाँच खेलमध्ये चाइजिन ताइपेइसँगको जितले नेपाली फुटबल उत्साहित बन्यो । बाँकी खेलमा भने पराजित भए पनि नेपालले केही पाठ पक्कै सिक्ने मौका भयो । कुवेतसँगको पहिलो खेलमा ७–० को खराब नतिजासँगै यात्रा सुरुवात गरेको नेपालले अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० मा पराजित हुन पुग्यो । चाइनिज ताइपेइसँगको जितसँगै नेपालले सुरुआतमा गरेको खराब प्रदर्शन कुवतेसँग दोस्रो खेलमा भने दोहोर्‍याएन ।

घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको स्तरोन्नति नसकेपछि भुटानमा सारिएको थियो । जहाँ नेपालले कुवेतलाई १–० ले रोक्यो । बाँकी होम खेल भने अब दशरथ रंगशालामा खेल्नेछ । १३ औं सागमा भने पुरुष यू–२३ फुटबल टोलीले स्वर्ण जित्न सफल भयो । भारत सहभागी नभएको सागमा नेपाल भुटानलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यो खुसीले पुरुष फुटबल उत्साहित बनायो । 

यता महिला फुटबल टोलीले पनि आफूलाई अब्बल सावित गरेको छ । भलै घरेलु मैदानमा भएका दुई प्रतियोगिता साग र साफको उपाधि भारतलाई सुम्पिए पनि अन्तर्राष्ट्रिय फुटबलमा आशाका किरण देखाएको छ । फाइनलमा भारतसँग गरेको प्रदर्शन र भारतमा आयोजना भएको हिरो वुमेन्स गोल्डकपमा भारतलाई हराएको नेपालले किर्गिस्थानमा भएको नाडेज्दा कपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 

५) कुशलको कीर्तिमानी अर्धशतक

२०७६ मा नेपाली युवा क्रिकेटर कुशल मल्लको चर्चा भयो । कारण सानो उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अर्धशतक । कुशलले आईसीसी विश्वकप क्रिकेड डिभिजन–२ अन्तर्गत डेब्यू खेलमा नै विश्व कीर्तिमान बनाए । उनले नेपालकै खेलाडी रोहितकुमार पौडेलले बनाएको एकदिवसीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक बनाउने रेकर्ड तोडे । 

उनले अमेरिकाविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा सानो उमेरको खेलमाडीको रेकर्ड बनाए । १५ वर्षका कुशलले आफ्नो नाममा यो रेकर्ड कायम गरेका हुन् ।

यसअघि नेपालका रोहितकुमार पौडेलले यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए । रोहित पौडेलको उमेर अर्धशतक बनाउने क्रममा १६ वर्ष १ सय ४६ दिन थियो । 

यता कुशल मल्लले ५१ बलमा ५० रन बनाउँदै कीर्तिमानी बनाएका थिए । उनले १५ वर्ष ३४० दिनमा यो रेकर्ड बनाउन सफल भए ।

६) पारसको ऐतिहासिक शतक 

कप्तानबाट राजीनामा दिएका पारस खड्काका लागि पनि २०७६ सुखद बन्यो । उनले एकदिवसीय क्रिकेटमा शतकको कीर्तिमान बनाए । उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने एक्लो नेपाली खेलाडी समेत हुन् ।

२०७६ को असोज महिनामा यूएईविरुद्ध शतक बनाएका उनको टि–ट्वान्टी क्रिकेटमा पनि शतकको कीर्तिमान छ । उनले सिंगापुरविरुद्धको खेलमा शतक बनाएका थिए । १ दशक नेपाली क्रिकेटको कप्तानी गरेका पारसले असोजको अन्तिममा कप्तानबाट राजीनामा दिएका थिए । 
पारसको राजिनामा पछि भने क्रिकेट समर्थकले उनलाई अझै कप्तानीमा आउन आग्रह गरेका छन् । 

७) सावित्रा भण्डारीको नयाँ कीर्तिमान 

नेपाली महिला फुटबलमा सावित्रा भण्डारीका लागि वर्ष २०७६ उत्कृष्ट रह्यो । पूर्वकप्तान अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भङ्गसँगै विदेशी लिगमा अनुबन्ध भएका कारण सावित्रा चर्चामा रहिन् । उनले भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको पहिचान बनाइन् । उनीसँगै अनिता बस्नेतले पनि लिग खेलेकी थिइन् । नेपालले प्रतिस्पर्धा गरेका अन्तर्राष्ट्रिय प्रतियोगितामा सावित्राको पहिचान गोल मेसिनका रूपमा रह्यो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ०६:४२
प्रतिक्रिया दिनुहोस्