चितवन । हरेक मन्दिरहरुका द्वारहरु बन्द छन्, बिहे व्रतबन्धको सिजन पनि छैन । सभा सेमिनार पनि ठप्प छन् । होटलहरुमा पाहुना छैनन् । त्यसैले अहिले मन्दिरमा देवी देवताले फूल नपाएको तीनहप्ता बितिसक्यो । सभा सेमिनारमा फूलले स्वागत गर्न पाएका छैनन् ।
फूल केबल मुस्कुराएका छन् त आफ्नै मालीको बारीमा, आफ्नै मालिकको बारीमा ।
लकडाउनका कारण हरेक क्षेत्र थलिएसँगै यसको गम्भीर असर फूलखेती किसानामा परेको छ । न त यो फूल मानिसले खाननै मिल्छ नत पशुचौपायको आहार बन्छ ।
विगतका वर्षहरुमा फूल टिप्न र बेच्न व्यस्त बनेका फूलखेती किसान अहिले आफ्नो घरबाट बारीमा फूल मुस्कुराएको हेरेर टोलाउनु शिवाय विकल्प छैन ।
फूललाई के थाहा आफ्नो मालिकको पीडा । त्यसैले कवि साहित्यकारले त्यसै भनेका रहेनछन् ‘फूलको एउटै मात्र दुर्गण त्यो हो, जो आफ्नो मालीको मृत्युमा समेत हाँसिरहेको हुन्छ ।’
तर फूलको विशेषतानै हो मुस्कुराउने, सौन्दर्यसँगै बासना पनि छर्ने । भरतपुर महानगरपालिका वठा नम्बर १८ मा यी फूल लगाउने झण्डै आधा दर्जन किसान छन् ।
स्थानीय फूलखेती किसान बद्री रानाको मन पनि भित्रभित्रै रोएको छ । मन भतभती पोलिरहेको छ । जग्गाभाडा कसरी तिर्ने, बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्तामा उनी छन् । उनको पीडा कसले पो बुझिदिन सक्थ्यो र देशनै गलिरहेको बेला ।
‘फूल हाँसिरहेको त सबैले देख्छन् मन रोएको कसले पो देख्छ र !’ उनले आफ्नो पीडा एकै सासमा सुनाए ।
गतवर्षसम्म अर्कैको फूलखेती फार्ममा लेखापाल जागिर खाइरहेका उनले यही वर्षबाट व्यावसायिक फूल खेती सुरु गरेका हुन् ।
डेढबिघा क्षेत्रफलमा फूलखेती लगाएका उनको झण्डै २ लाख स्टीक ग्लाडियस फूल बिक्रीको लागि तयार छ । उनीजस्तै अर्का फूलखेती किसान कोमल अर्यालको पनि पीडा कम छैन ।
“के गर्नु पहिलो वर्षमै दाँतमा ढुंगा लाग्यो,” उनी पीडा लुकाउँदैनन्, “तरकारी, फलफूल भए मान्छेले, खान्थे । नत यो मान्छेलेनै खान मिल्छ नत पशुचौपायाले नै खान्छन् ।”
विगत १८ वर्षदेखि मौसमी फूलखेती गर्दै आएका अर्का किसान प्रकाश पन्त यस्तो अवस्था कहिल्यै नआएको अनुभव सुनाउँछन् । फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका अध्यक्षसमेत रहेका पन्तले सबै प्रकारका फूल गरी ६ विघामा फूल लगाएका छन् ।
तर अहिले उनको २ विघा क्षेत्रफलमा ग्लोडियस जातको फूल र ग्रीनहाउसमा गोदाबरी फूल बिक्रीका लागि तयारी अवस्थामा छन् । तर उनको फूलले पनि कतै सजिने मौकै पाएको छैन ।