जीन्दगी भोगाइमा सबैको समान अनुभूति हँुदैन तर यस्तो पनि कुनै समय आउँदो रहेछ जब सबैको अनुभूति समानजस्ता लाग्छन् । आश्चर्यको अनुभूति र दुःखसुखसँग साक्षात्कार सबैको आआफ्नै प्रकारको हुन्छ । सुखद आश्चर्य र दुःखद आश्चर्य सबै मिल्दोरहेछ जिन्दगीमा । तिनको अनुभूतिको प्रकार भने परिवेशले पनि निर्धारण गर्छ कि ? अहिले बन्दाबन्दीमा गृहबन्दी भएर बस्दा समयको छेउकुनामा यस्तै कुरा खेल्छन् । घाउमा नुनचुक सरकारी कृत्यले थप्दो रहेछ ।
कोरोनाभाइरस (कोभिड १९) को महामारीले विश्व नै बन्दाबन्दीमा परेको छ । हजारौंको जीवन अदृश्य भाइरसले लिएको छ । लाखौँ मान्छे जीवनको प्रतीक्षामा अस्पतालको ओछ्यानमा छट्पटाई रहेछन् । नेपाल पनि घेरिँदैछ, भयभीत छ । पहिलो दुःखद आश्चर्य कोरोनाभाइरस हो । विज्ञानको यति भव्य विकासले पनि त्यसको पूर्वानुमान गर्न त सकेन नै अहिले उपचार पनि नचिन्ने र नभ्याउने अशक्त अवस्थामा देखिएको छ । विज्ञान हारेको छ भने ज्ञान र ज्यान दुवै निरीह साबित छन् ।
विश्व नै ‘फेस’ गर्दैछ । जो बेलैमा सचेत वा कर्तव्यनिष्ठ भए तिनले समस्यालाई नियन्त्रण गरेका छन् । दक्षिण कोरिया, भियतनाम र हाल केही सहरमा आपातकाल घोषणा गरे पनि जापानलगायत केही देश कोरोनाभाइरसको महामारी आफ्ना मुलुकमा फैलिन नदिन सफल मानिएका छन् । नेपाल पनि भाइरस नियन्त्रको प्रयासमा छ । तर, यस्तो बेलामा समेत सरकारी मान्छे भ्रष्टाचारमा लिप्त पाइनु दुःखद आश्चर्यमात्रै भएन, पाशविक प्रवृत्तिको अनुभूति दिने घटना पनि भयो । आर्थिक अनियमितताका लागि नीतिगत भ्रष्टाचार निर्बाध छ । प्रश्न उठ्छ के यस्तो पनि सरकार हुन्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार पनि नगर्ने, गर्न पनि नदिने, निर्ममतापूर्वक भ्रष्टाचारलाई रोक्ने’ वाक्य सयौंपटक सार्वजनिकरूपमा दोहोर्याएका छन् । अझै भन्दैछन् । तर, उनको दोस्रो कार्यकालको ३० महिने अवधिमा झन्डै यति नै संख्यामा भ्रष्टाचारका ठूल्ठूला काण्ड सार्वजनिक भएका छन् । पारदर्शिता र सुशासनको अभावमा साना यस्ता घटना कति भए थाहा छैन ।
सरकारी काम विधिपूर्वक, पारदर्शी र सुशासनयुक्त हुनुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइ ललिता निवासको जग्गाकाण्डमा मुन्टो लुकाउन पुगेको छ । सेक्युरिटी प्रेस खरिद काण्डमा आर्थिक अनियमितताको आरोप लागेकालाई सुरुमै सफाइ दिएर प्रधानमन्त्री ओलीले यतिबेलाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हैसियत र औचित्य खोलिदिएका छन् । सोद्देश्य कम्युनिस्ट नेता बचाउने ललिता निवास काण्डमा पनि आयोगको अर्धपाटो छर्लङ भएकै हो ।
स्वास्थ्यका कारण लामो ‘आइसोलेसन’मा बसेका प्रधानमन्त्रीले मौन तोडेर मंगलबार बिहान देशका नाममा बोल्ने रे भन्ने सुनेपछि धेरैले टेलिभिजन र रेडियोमा आँखा, कान लगाए । कोरोनाभाइरसले त्रसित मानिसहरु प्रधानमन्त्रीले विशेष योजना र प्रतिबद्धता घोषणा गर्ने केही आशा लिएका थिए । फोन संवादका क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भनाइ सुन्न आफू टीभीअगाडि बसेको जनाउ दिए । थाहा पाएपछि टीभी हेर्नैपर्यो ।
शारीरिक शक्ति प्रदर्शन लाग्ने प्रधानमन्त्री ओलीको टीभी सम्बोधनले सकिनासाथै निराश बनायो । धन्यवाद दिन गमेर खोज्दा नयाँ योजना, प्रतिबद्धता र त्रसित नागरिकलाई ढाडस दिने प्रकारको केही उल्लेख्य भेटिएन । यसअघि मन्त्रालयका प्रवक्ता, सम्बद्ध मन्त्री र विभागीय कर्मचारीले दिएका फेहरिस्तको जोडजाड नै उनको प्रस्तुतिका विवरण थिए । त्यतिबेला झन् लाज लाग्यो जतिबेला प्रधानमन्त्रीले केही थान मास्क र उपचार सामग्री बाँडेको हिसाबकिताब दिन थाले ।
सबैभन्दा डरलाग्दो कुरा उनको अन्तःस्करणबाट फुत्कियो सायद् – ‘वैयक्तिक स्वतन्त्रता रोज्छौ कि जीवन ? उनले दुईमध्ये एक छान्न भने । त्रसित नागरिकलाई कोरोना भाइरसको आडमा ‘स्वतन्त्रता र जीवन सँगसँगै नरोज्न’ प्रधानमन्त्रीले धम्की दिए । कम्युनिस्ट नेताबाट अन्तःस्करणको अधिनायकवादी संस्कार व्यक्त हुनु अनौठो होइन । अनौठो चाहिँ उनले आफू प्रजातन्त्रवादी भएको दाबा गर्ने र पत्याउने हामीहरुको भरोसा नै हो ।
भाइरसले के भन्छ थाहा छैन तर प्रधानमन्त्रीले दुई साता अरु अप्ठेरा दिन छन् भने । हुनसक्छ अरु पनि । सबैलाई धन्यवाद दिने उदारता चाहीँ उनले प्रदर्शित गरेकै हुन् । आलोचनात्मक चेत र पत्रकारितालाई उनले दुत्कार्न छोडेनन् । आफ्ना मन्त्रीको भ्रष्टाचार प्रयत्नलाई छोप्ने मामलामा प्रधानमन्त्री यसपटकसमेत अगाडि आए । कोरोना भाइरसलाई पनि कमाउ धन्दा बनाउने आफ्नाहरुलाई बचाउन उनले सञ्चार माध्यमले फत्तुर लाञ्छना लगाएको र काम गर्न नदिई निरुत्साहित पारेको दाबा गरिदिए ।
यस्ता उपचार सामग्रीको क्रयविक्रय नै नगरेको अनुभवहीन निजी कम्पनीलाई महँगोमा चीनबाट खरिद गर्न किन दिइयो र पछि जिम्मेवारीबाट किन हटाउनु पर्यो भन्ने खुलासा चाहिँ प्रधानमन्त्रीले गरेनन् । अहिले त सुनिदैछ त्यही ओम्नी कम्पनीलाई फेरि घुमाइफिराइ त्यस्ता सामग्री किन्ने जोहो मिलाइँदै छ रे ! उसले काम गर्न नसकेको र महँगो गरेको आरोप लगाई धरौटी जफत र ‘ब्ल्याक लिस्टेड’ गर्ने भनिएको खबर बेवारिसे किन पारियो ?
एकातिर सञ्चार माध्यमलाई धन्यवाद, अर्कोतिर यस्तो खतरनाक बेला पनि सरकारी ‘भ्रष्टाचारको पोल खोल्ने’ हो ? भन्दै बेमौसमी बाजा बजाउने सञ्चार माध्यमहरु सरकारलाई असफल बनाउन जुटेको टिप्पणी उनले रुखो शैलीमा गरे । सामाजिक सञ्जालमा कतै भेटिने कमजोरीलाई सबै पत्रकार र माध्यमलाई दपेट्ने मसला बनाए प्रधानमन्त्रीले । यो अर्को अधिनायकवादी प्रस्फुरण थियो उनको ।
कोरोनाभाइरसबाट नागरिकलाई सुरक्षाको अनुभूति दिने योजना र प्रतिबद्धता कतै नभेटिने प्रधानमन्त्रीको भनाइमा विश्व नै पीडित भएको कुरा बारम्बार दोहोरियो । यथार्थ भए पनि विश्वको लाचारीलाई आफ्नो असफलता लुकाउने माध्यम बनाएजस्तो सुनिन्थ्यो प्रधानमन्त्रीको भनाइमा । अहिलेसम्म आवश्यक उपचार सामग्री खरिद गर्न असफल सरकारले यो काम सेनालाई जिम्मा दिएर आफ्ना सम्बद्ध निकाय अक्षम र अविश्वसनीय भएको पुष्टि गरिसकेको छ । तैपनि प्रधानमन्त्री ढाकछोपमा उत्रिएकै पाइयो ।
सबैभन्दा जोखिम संकेत गरेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरेर प्रधानमन्त्रीको खासै योजना आएन । ती प्रदेश र त्यहाँका स्थानीय निकायलाई पुग्ने ठोस सहयोगको कार्यक्रम पनि सुनिएन । निजी अस्पतालहरु उपचार दायित्वबाट भाग्न खोजेको अवस्थालाई पनि सम्बोधन भएन । सामान्य ज्वरोका बिरामीलाई भर्ना र उपचार नदिएका घटना दिनदिनै सार्वजनिक भएका छन् र उपचार नपाएर मृत्युवरण गर्न पुगेका घटना पनि बाहिरिएका छन् । ती पनि असम्बोधित नै रहे ।
तराईतिरको अवस्था के छ ? प्रधानमन्त्रीले दुत्कारिएका सञ्चार माध्यमले दिएको जानकारी बाहेक संघीय सरकारको निकायबाट अहिलेसम्म खासै जानकारी आएको छैन । खुला सीमा क्षेत्रबाट भएको आउजाउले त्यहाँ जोखिम छ भन्ने अनुमान गर्न सकिन्छ । समाचारमा आएअनुसार तराई क्षेत्रका क्वारेन्टिन खाली खाली छन् रे !
भाइरस संक्रमण नभएका कारण ती खाली हुन् भने राम्रो हो । परीक्षण नपुगेर हो कि ? संक्रमण नभएकै हो ? स्पष्ट स्थितिबोध छैन । पश्चिमको सीमा क्षेत्रमा घर जान आएका नेपालीहरु कथित क्वारेन्टिनमा कोचाकोच र एउटै सिरकभित्र अटेजति सुत्नुपरेको दुःखेसो सुनिएको छ । चाहे दार्चुला, धार्चुलातिर होस् वा रुपैडियातिर ।
सरकारी तथ्यांकअनुसार बनाइएका तीस हजार अट्ने क्वारेन्टाइनमा नौ हजारभन्दा केही बढी शंकास्पदहरु बसेका छन् । घर आउन खोजेका तर सीमामा बिचल्ली परेका श्रमजीवीलाई ती खाली ठाउँमा ल्याएर बस्ने व्यवस्थातिर ध्यान दिइएको पाइएन । दुवै देशका नागरिक जो जहाँ छन् तिनलाई त्यतै बस्ने सुविधा मिलाउन नेपाल भारतबीच सहमति भएको सरकारी भनाइ छ । यस्तो सहमति अन्यत्र बसेकालाई प्रयोग हुनुपर्ने हो । घर पुग्न सीमामा आइसकेका नागरिकलाई बिचल्लीमा पार्न होइन । भारत स्वयं संक्रमणको बढ्दो घेरामा परेको छ ।
सरकारले केही गरेन भनेको होइन केही गरेको पनि छ । यतिबेला कोरोनाभाइरसबाट बच्न, बचाउन सबै राजनीतिक दल र नागरिकको एकताबद्ध राष्ट्रिय सहयोग सरकारलाई प्राप्त छ । तर, त्यस्तो सहयोगलाई सहमतिको उच्च सहकार्यका प्रयोग गर्न सरकार चुकेको छ । यसतर्फ प्रधानमन्त्रीको भनाइले उदारता र सहयोगी सम्मिलनको भाव प्रदर्शित गरेन । यस्तो विकसित विश्वमा कोरोना दुःखद आश्चर्य लिएर आयो र सरकार त्यही दुःखान्त गीत दोहोर्याई रहेछ ।
खबर आइरहेछ, ग्रीसमा कोरोना भाइरस नस्ट गर्ने सूर्य किरणको अध्ययन यतिबेला भइरहेछ । पूर्वका पूर्वजले पनि हजारौँ वर्ष अघिबाट भन्दै आएका हुन् – सूर्य किरणमा कीट नाशक क्षमता छ । यहाँको मौसममा गर्मी चढ्दैछ । चिसा ठाउँ पनि छन् । त्यसो त चिसोमा मात्रै होइन पचास डिग्रीमाथि तापक्रम रहने अरब क्षेत्रलाई पनि भाइरसले त्रसित बनाएकै छ । यसकारण नागरिक समाज सतर्क रहनु आवश्यक देखिन्छ ।
मौसमले साथ देओस् र सूर्य भगवानभाइरस मास्न सफल होऊन् । जिन्दगी बाँच्दैगर्दा नेपालको यो पुस्ता अर्थात् हाम्रो आसपासको उमेर पुस्तासँग थुप्रै राजनीतिक उहापोह र प्राकृतिक प्रकोपलाई सामना गरेको अनुभव छ । यतिबेला कोरोना भाइरसको उपचारमा घोटाला गरेको सरकारी रबैयाको दुःखद आश्चर्यको पाटो पनि यही पुस्ता नजिकैबाट अनुभूति गर्दैछ । दोहोर्याई, तेहेर्याई घोटालाहरु सुनियो । कामना गरौँ फेरि यस्तो नदोहोरियोस् !