काठमाडौं । करिब दुई महिना अघिदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरको जनजीवन अस्त–व्यस्त भएको छ । कोरोना संक्रमित धेरैजसो देशहरूमा लकडाउनको अवज्ञा घोषणा गरिएको छ ।
जो व्यक्ति जहाँ छन् त्यही स्थानमा घरभित्र, बन्द कोठामा दिन गुजारिरहेका छन् । बिहान–बेलुकी मजदुरी गरी परिवार पाल्नेहरू कोरोनाभन्दा भोकमरी हुन सक्ने डरले पीडित छन् । त्यसैले कोरोना भाइरसबाट आक्रान्त बनेका जो कोही पनि यो महामारी विश्वको नक्साबाट गायब भएको देख्न चाहन्छन् ।
यस महामारीकै कारण विश्वका ठूला खेलकुद प्रतियोगिताहरू स्थगित भएका छन् । खेलाडीहरू आफ्नो घरको बन्द कोठामा सेल्फ–आइसोलेसनमा छन् । नेपालमा पनि यसको ठूलै प्रभाव परेको छ । नेपालमा हालसम्म पाँचजनामा संक्रमण देखिएको छ । जसमा एक संक्रमित उपचारपछि घर फर्केका छन् भने चारजनाको अस्पतालमा उपचार भइरहेको छ । विश्वका कैयौं खेलाडी तथा क्लबहरूले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् । तर, यस विषयमा नेपाली खेलाडी भने पछि परेका छन् ।
धेरैजसो नेपाली खेलाडीको कमाइ थोरै छ । तर, केही खेलाडीको कमाइ भने अन्य खेलाडीको तुलनामा राम्रो छ । त्यसैले यतिबेला धेरैजसो समर्थक तथा जनता उनीहरूबाट सहयोगको आशा गरिरहेका छन् ।
छिमेकी राष्ट्र भारतको मात्र उदाहरण दिने हो भने धेरै खेलाडीले देशलाई संकटको समयमा आर्थिकदेखि अन्य कुरामा पनि सहयोग गरेका छन् ।
तर, नेपाली खेलाडी यतिबेला आफ्नो बन्द कोठामा सामाजिक सञ्जालमा मस्त छन् । कोही टिकटक बनाउन मस्त देखिन्छन् त कोही आफ्ना पुराना तस्बिरहरू सामाजिक सञ्जालको भित्तामा पोस्ट्याइरहेका छन् । घरमै बसेर सेल्फ शिक्षण गरेको भिडियो सार्वजनिक गरिरहेका छन् । तर, नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेबाहेक अन्य कुनै पनि खेलाडीले सहयोगको विषयमा मुख खोलेका छैनन् । उनले कोरोनाविरुद्ध लड्नभन्दै सरकारी राहत कोषका लागि एक लाख दिने आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
विदेशी लिग खेल्ने सन्दीप मात्र एक्ला नेपाली खेलाडी भने होइनन् । अन्य क्रिकेट, फुटबल तथा भलिबललगायत खेलका खेलाडीहरूले विदेशी तथा फ्रेन्चाइज लिग खेल्दै आइरहेका छन् । विदेशी लिग नखेलेर पनि विभिन्न ब्रान्ड र कम्पनीहरूको एम्बेस्डर बन्दै नेपाली खेलाडीले राम्रै आम्दानी नगरेका भने होइनन् ।
विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी यस विषयमा अग्रपंतिमा आउँछन् । उनीहरूले आफू फुटबलको मैदानमा मात्र नभई देश र जनताका लागि महानताको रूप देखाइसकेका छन् । मेसी र रोनाल्डो एक उदाहरण मात्र हुन् । विश्वका थुप्रै फुटबल खेलाडीले यस महामारीविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् । त्यस्तै टेनिस जगतका सर्वाधिक २० पटकका ग्रान्ड स्लाम च्याम्पियन रोजर फेडेरर र जोकोविचले पनि कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् ।
३८ वर्षीय फेडेररले स्विट्जरल्यान्डका सबैभन्दा कमजोर परिवारका लागि भन्दै व्यक्तिगत रूपमा एक मिलियन डलर सहयोगको घोषणा गरेका थिए । उनले यो एक सुरुवात मात्र भएको र आवश्यक परे अन्य व्यक्ति पनि सहयोगका लागि तयार रहेको बताएका थिए ।
सबै एकजुट भए संक्रमण रोकथाम गर्न सकिनेमा कुनै शंका छैन । त्यसैले यसका लागि नेपाली खेलाडीले पनि आफ्नो उदारता देखाउन जरुरी देखिन्छ । हुन त यो विषय नेपाली खेलाडीको मात्र होइन । यतिबेला हुने–खानेले हुँदा खानेलाई देखाउने सद्भाव र मायाको समय हो । एक नेपाली हुनुको दायित्व हो । सरकरले केही गरेन भनेर भनिरहँदा आफूले पनि केही गरेर देखाउने समय हो यो । सबै मिलौं शारीरिक दूरी कायमै भए पनि मन नजिक बनाऔं र सबैको रक्षाका लागि अग्रसर रहौँ ।
फाइल तस्बिर : बाह्रखरी