चितवन । लकडाउनले देशका सबै आर्थिक गतिविधि थलिएका बेला यसको असर मजदुरमाथि राम्रैसँग परेको छ । बिहान खाए बेलुका के खाउंँ भन्ने मजदुरलाई रोगले भन्दा पनि बढी भोकले सताएको छ । आफूसंँग केही बांँकी रहेको खाद्यान सकिएपछि उनीहरू आफ्नो घरतिर फर्कन बाध्य भएका छन् ।
यस्तै दृश्य चितवनका चोक र सडकमा देख्न सकिन्छ । हुने खानेले त आफ्नो परिवारलाई खाद्यान्न जोहो गरेकै छन् । तर उनीहरूले नत काम पाएका छन् न खानै पाएका छन् । जसका कारण आफूसंँगै अलिअलि बचेको पनि रित्तिएपछि बाध्यतावश गाउंँ फर्किनुको विकल्प नभएको उनीहरूको गुनासो छ ।
यस्तै ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने भरतपुरमा भेटिएका डकर्मी काम गर्दै आएका रुस्तम अलीसहितको टोली घर फर्कंदै थियो । “के गर्नु हजुर यहांँ खानलाई पैसा पनि छैन, गर्नलाई काम पनि छैन,” अलीले सुनाए, “आफूसंँग भएको खानेकुरापनि सकियो, यहांँ सापट दिने पनि कोही मिलेन ।” उनीहरूको टोली घरसम्म जान गाडी नपाएपछि हिँडेरै पुग्ने प्रयासमा थिए ।
“कोठामा सामान सकियो यहांँ बसेर के फाइदा,” उनले भने, “खान नपाए पनि गाडीको व्यवस्था गरिदिए खाना बरु घरमै गएर खान्थ्यौं ।” यद्यपि उनको यो आशा भने पूरा हुने छाँट केही छैन । उनीजस्तै अर्का मजदुर बाराका श्यामकुमारको पीडा पनि उस्तै छ । “बन्दी भइहाल्यो यसको ठेगान पनि छैन, बरु हिँडेर घर पुगे खान त पाइएला,” उनले मलिन स्वरमा सुनाए, “हात रित्तै छ अब हिँडेरै घर पुग्ने हो ।”
अली र श्यामकुमारको जस्तै आम ज्यालामजदुरको साझा समस्या हो । न काम छ, न माम छ । घर पुग्न दुई–चार दिन लाग्ने भए पनि हिँडेरै जान लागेको उनीहरूको प्रतिक्रिया छ । चितवनमा सयौं मजदुर भवन निर्माण, ज्याला मजदुरी, सवारीसाधन, कलकारखानामा काम गरिरहेका छन् । तर सरकारले लकडाउनअघि उनीहरूका लागि विकल्प नदिंँदा यस्तो असर देखिएको हो ।
तराईमूलका मजदुर चितवनमा थुप्रै छन् । उनीहरू अहिले चितवनमा चैते धानका लागि पनि मजदुरी गर्न यसअघि नै आइसकेका हुन्छन् । तर अहिले न खेतमा रोपाइँ हुन सकेको छ । न अरू काम । उनीहरू निरीह भएर घर जान चाहन्छन् तर कसरी पठाउने भन्ने स्थानीय तहले पनि अहिलेसम्म कुनै योजना बनाएको छैन ।