काठमाडौं । सरकारले ‘लकडाउन’ घोषणा गरे पनि महोत्तरीको गौशाला नगरपालिकामा भने त्यसको अवज्ञा गरिएको छ । विश्वभर कोरोना भाइरसले महामारीको रूप लिएपछि सरकारले घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरे पनि त्यसको अवज्ञा गर्दै गौशालामा (हाट) तरकारी बजारै लागेपछि स्थानीय त्रसित बनेका छन् ।
गौशाला नगरपालिका ५ मा साताका सोमबार र बिहीबार ठूलो हाट लाग्छ । अरू दिनमा भने सोही स्थानमा तरकारी बजार लाग्छ । हरेक दिनजसो ५ सय बढी मानिस यहाँ भेला हुँदै आएका छन् । सरकारले लकडाउन घोषणा गरे पनि आज यहाँ चार सय बढी सर्वसाधारण भेला भएर किनमेल गरिएको थियो ।
भोलि हुने हाटमा १० हजार बढी मानिस भेला हुने भन्दै उद्योग वाणिज्य संघ महोत्तरीले त्यसलाई रोक्न माग गरेको छ । स्थानीयसमेत रहेका उद्योग वाणिज्य संघ गौशालाका अध्यक्ष रामराजा प्रसाद शाहले कोरोनालाई सर्वसाधारणले हेलचेक्र्याइँका रूपमा लिएको भन्दै यसतर्फ प्रशासनले कडाइ गर्नुपर्ने सुझाए ।
नगरपालिका, उद्योग वाणिज्य संघ र इलाका प्रशासन कार्यालयका प्रतिनिधि बसेर सोमबारदेखि नै हाट बजार नलगाउने निर्णय भए पनि कार्यान्वयन नभएपछि उनले चिन्ता व्यक्त गरेका हुन् ।
“भनेको टेर्दैनन्, बल प्रयोग नगरी भएन । मानिसले मजाकमा लिइरहेका छन् । कतारबाट कोरोना संक्रमितसँगै आएको प्लेनमा रहेका ११ जना महोत्तरीकै रहेछन् । त्यसमा नजिकैको गाउँपालिकाका पनि रहेछन् । यहाँ भोलि महामारी भयो भने के गर्ने ?,” उनले भने, “भोलि पनि हाटबजार लाग्दै छ । त्यसलाई रोक्न प्रशासनलाई आग्रह गरिसकेको छु ।” बुधबार भेटिएका कोरोेना संक्रमित आएकै विमानमा नेपाल फर्किएका ११ जना महोत्तरीकै रहेको र जसमध्ये ७ जनाको पहिचान भइसकेको छ ।
महोत्तरीका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले प्रशासनले भन्दा पनि अटेर गरेर जम्मा हुने गरेको बताए । “भनेर टेर्ने स्थिति भएन भने अब थप कडा रूपमा प्रस्तुत हुन्छौं,” उनले बाह्रखरीसँग भने, “जिल्लामा लकडाउन ९० प्रतिशत सफल छ । हरियो तरकारी बेलुकीपख बेच्न दिने कि नदिने भन्ने छ । त्यो पनि हामीले नियन्त्रणमा लिन खोजेका छौं । अहिले धेरै नियन्त्रणमा आइसकेको छ ।” नबुझेर हो की डर नभएर हो लकडाउन हेर्न भनेर पनि मानिस निस्कने गरेको भन्दै उनले भारतमा लकडाउन घोषणा भएपछि भने मानिसहरू केही सचेत हुन थालेको सुनाए ।
उनले ११ जनाबाहेक केही दिनयता वैदेशिक रोजगारीबाट फर्किएका एक सय बढी व्यक्तिबारे जानकारी आएको र उनीहरूको खोजीमा आफूहरू तदारुकताका साथ लागिरहेको पनि जानकारी दिए । उनले लकडाउन अटेर गर्ने ४ सयभन्दा बढी गाडी, मोटरसाइकल, साइकल र ट्र्याक्टर नियन्त्रणमा लिएको पनि जानकारी दिए । एसपी अधिकारीले जिल्लामा कोरोना फैलन नदिन भीड नियन्त्रण गर्ने र लकडाउन कार्यान्वयन गर्न थप कडाइ साथ उत्रने पनि जानकारी दिए ।