विषय धेरै भएजस्तो लागेपछि लेख्ने के र कुन् ? लाग्नु अनौठो होइन । लेखिरहने अवसर पाएको कसैले कहिले काहीँ खास विषयमा पंक्ति केन्द्रित गर्न नसक्नु एक प्रकारको कमजोरी नै होला । तर, कहिले काहीँ ‘भेट्रान’ लेखकले पनि एकै बसाइमा दुई चारथरि विषय एउटै लेखमा समाविष्ट गर्न रुचाउनु कमजोरीमात्रै होइन होला ? ती विषयको सान्दर्भिकता एकसाथ समान देख्नु पनि लेखन हुनसक्ने रहेछ ।
पाठकलाई धेरै कुरा एकसाथ जानकारी दिन मनलाग्दो विषय पाउँदा विविध विषय समेटिने र त्यसो नगरे कतिपय विषयको सामयिकता नरहने बोधले पनि लेखकलाई यो विधि रोज्न प्रेरित गर्छ । लेखनमा यो शैली स्थापित नै हो । तर, त्यस्तोमा कति गम्भीर विश्लेषण हुन्छ वा सूत्र–सन्देशमा विचार अभिव्यक्त हुन्छ ? निश्चय पनि यस्तो लेखन दोस्रो श्रेणीमा पर्छ ।
दोस्रो श्रेणीको यो शैली पछ्याएर पंक्तिहरु जोड्दा पहिले–प्रधानमन्त्री केपी शर्मा ओलीलाई हार्दिक बधाई । सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीको शीघ्र सुस्वास्थ्य र सक्रिय जीवनचर्याको कामना । प्रधानमन्त्री ओलीले पुनर्जीवन प्राप्त गरेको भन्नु अन्यथा हुँदैन । नेपालका चिकित्सकले केही बिरामीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण यसअघि पनि गरेका थिए । मुलुकको कार्यकारी प्रमुखलाई त्यही प्रकारको उपचार सेवा दिएर देशको चिकित्सकीय क्षमता सबैले थाहा पाउने गरी प्रस्ट्याएका छन् । नेपाली चिकित्सकलाई यो सुखद अवसर प्रधानमन्त्रीले दिए, प्रशंसनीय निर्णय लिए ।
यसअघि अधिनायकवादी, अनुदार, अहंकारवादी, दम्भ, व्यंग्य र उत्तेजक संस्कारशैली देखाएका प्रधामन्त्री ओलीले पुनर्जीवनमा भ्रष्टाचार विरोधी, सुशासन, लोकतन्त्र वा नागरिक अधिकार र संवैधानिक निकायको स्वायत्तता कायम राख्न साँच्चै प्रजातन्त्रवादी नेताको छवि बनाउन् भन्ने अपेक्षा छ । ललिता निवासको जग्गा घपलाको निर्णयकर्ता, निर्णय दस्तावेजी गर्ने र त्यस्तो तारतम्य मिलाएबापत पुरस्कृत हुने आफ्नै पार्टीका भ्रष्ट प्रवृत्ति वाहकलाई जोगाउन र अरुलाई फसाउन प्रधानमन्त्रीले ‘अदुअआ’ को प्रयोग अब नगरुन् ।
कार्यकारी अख्तियार यस्ता भ्रष्टजन्य अन्य कृत्यलाई जोगाउन पनि दुरुपयोग नगरुन् । समग्रमा, प्रधानमन्त्री ओलीले बाँकी अवसरलाई सुशासन, संविधान र प्रजातन्त्रको पहरेदारीमा लगाउँदा विगत कटु भूमिका विस्मृतिको गर्तमा थन्किने छन् ।
दोस्रो, कोरोना संक्रमण । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको मानिने कोरोना भाइरसको संक्रमणले यतिबेला विश्व नै त्रसित छ । सीमाको छिमेकी नेपाल संवेदनशील क्षेत्रमा पर्ने नै भयो । सरकारले यसबाट नागरिकलाई जोगाउन अनेक प्रयत्न गरेको जानकारी दिइरहेको छ । चिकित्सकीय क्षेत्रमा सेवारतलाई पचहत्तर प्रतिशतसम्म थप भत्ता दिने निर्णय सार्वजनिक गरेको छ । तर, उपचारका बेला सुरक्षाकवच वा सामग्री नपाएर चिकित्सकहरु रुघा र ज्वरोका बिरामी आउनेबित्तिकै कार्य क्षेत्रबाट भाग्न थालेको समाचार पनि आएका छन् । यस्तो जोखिमपूर्ण महामारीको लागि पहिलो सर्त चिकित्सकलाई सुरक्षा सामग्री उपलब्ध गराउनु हो ।
हजार प्रतिशत भत्ताको आकर्षण दिए पनि जीवन जोखिममा राख्न चिकित्सक तयार नहुनु उसको कमजोरी होइन । तिनका लागि पहिलो जरुरी औषधि र सुरक्षा सामग्री हो । देशभरका लागि सरकारले त्यस्ता वस्तुको विश्वसनीय प्रत्याभूति सक्दो चाँडो दिलाएपछि उपचारमा खट्नै पर्ने र थप भत्ताको व्यवस्था गर्नु सुल्टो पर्छ । तब चिकित्सकले पनि मानवीय कर्तव्य निर्वाह गर्न हिच्किचाउनु हुँदैन ।
अन्तिम घडीमा सरकारले एसईई परीक्षा अनिश्चित समयसम्म स्थगित गरेको छ । परीक्षा हुन्छ भन्दाभन्दै, सबै तयारी, खर्च र व्यवस्था गरेपछिको पूर्वसन्ध्यामा परीक्षा स्थगनको घोषणा गर्नुले सरकारी व्यवस्थापनको दूरदर्शिता बुझाएन, विश्वास पनि भत्कियो । केहीअघि नै विद्यालयमा बिदा र परीक्षाबारे सोच्न विभिन्न कोणबाट सुझाव आएकै हुन् । अन्तिम घडीमै भए पनि सरकारले स्थितिबोध गर्नसक्नुलाई आलोच्य नमान्दा हुन्छ । तर, सरकारी भनाइप्रति विश्वास गर्न नसक्ने यस्तै कारणले सामग्री सञ्चयमा उपभोक्ता लागे र अभाव सिर्जना भएको हो ।
तेस्रो,मोदी मन्त्र– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणको सामना दक्षिण एसियाली सहयोग संगठन (सार्क) मा आबद्ध मुलुकहरुले संयुक्तरुपमा गर्ने वा गर्नुपर्ने प्रस्ताव राखे । सार्कका राष्ट्र र सरकार प्रमुख वा प्रतिनिधिले ‘कन्फ्रेन्स’मा सहभागिता जनाए, मोदी प्रस्तावको स्वागत गरे । उनले एक करोड डलरको सहयोग कोष घोषणा पनि गरे । नेपालका प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरी बिदा भएको दुई दिनमै बैठकमा मन्तव्य दिन सिंहदरबार पुगे । अशक्त देखिने प्रधानमन्त्रीले लिएको जोखिम आलोच्य थियो । तर, उनले भारतीय प्रधानमन्त्रीको प्रस्तावलाई दिएको महत्त्व राजनीतिक र कूटनीतिमा लाभदायक हुने ठाने सायद !
भारतीय प्रधानमन्त्री मोदीको सहयोगी सद्भाव तारिफयोग्य हो । उनले पनि कूटनीतिक बाजी मार्ने अवसरसमेत यसलाई बनाए । चीनले यस क्षेत्रमा (नेपाललगायतलाई आश्वासन दिएको पनि हो) गर्नसक्ने सहयोग अतिरिक्त भारत पनि तयार र सक्षम छ भन्ने सन्देश दिए । सार्कलाई समेट्ने नेतृत्वमा भारत रहने जनाउसमेत उनले दिए ।
चौथो, प्रदेश प्रमुखहरुको संयुक्त जदौ हो । राष्ट्रपति र प्रदेश प्रमुखहरुको वैधानिक एवं नैतिक दायित्व दलीय आबद्धता मुक्त हुनु हो । पहिले नियुक्त प्रमुखहरु कम्युनिस्ट सरकारको राजनीतिक आग्रहका कारण असमयमै हटाइए । तिनले नियुक्त गर्ने पूर्ववर्ती सरकारको दलप्रति नियुक्तिपछि वा निष्काशनपछि पनि कुनै सम्बद्धता सार्वजनिक गरेको थाहा भएन, छैन । त्यस्तो आरोप, आलोचना पनि सुनिएन । तर, यसपटकका प्रमुखहरु हातेमालो गरेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को दोस्रो अध्यक्ष पुष्पकमल दाहालको घरमा सेवा, सुविधा थपको प्रस्ताव लिएर पुगेको सार्वजनिक सुनियो । तिनले नियुक्ति दिलाएकोमा कृतज्ञभाव पनि अर्पण गरे होलान् ।
प्रमुखहरुको यस्तो कृत्य लोकतन्त्र र संविधानको मर्मविपरीत तथा प्रजातान्त्रिक पद्धतिको मर्ममाथि प्रहार गर्ने प्रवृत्तिको भयो । प्रदेश प्रमुखभन्दा पनि कम्युनिस्ट कार्यकर्ता नै रहेको जनाउ दिए । वैधानिक र नैतिक मर्यादा स्खलित गरेको सार्वजनिक आलोचनापछि ती सबै प्रमुखहरुले नागरिक समक्ष क्षमा मागेर राजीनामा दिनु न्यायसंगत हुन्छ । किनभने ,पदीय आचरणमाथि भ्रष्टाचार (भ्रष्ट आचार वा आचरण) गरिएको घटना हो यो ।
पाचौँ र छैठौँ– चिया पसलको सन्देश र डाक्टरको राजनीति । उनी पनि चियाचुस्कीको आनन्द लिँदै थिए । सफा, सुकिला, हट्टाकट्टा र हँसिला । लमजुङका गुरुङ समुदायका ३७ वर्षे युवक । हँसिलो अनुहारले बातमार्न प्रेरित गर्यो । भलाकुसारीपछि चर्चामा देश नै पर्यो । उनले भने–‘१५ वर्षजति अरब मुलुकमा रोजगारी गरँ, केही कमाएँ, ल्याएँ । अब विदेश जाने मन छैन, पाँचवर्षको छोरो छोडेर गएको हुँ । तिनैको भविष्य राम्रो बनाउने सोचेर गएँ, बीचमा जाने, आउने गरेँ । अहिले फर्किएर हेर्दा मेरो छोरा पनि रोजगारीको लागि विदेशतिरै जानुपर्ने अवस्था देख्छु । बुझ्ने भएदेखि विकास र रोजगारीको कुरा सुन्दै आएँ । तर, अवस्था मभन्दा पनि छोराको बेला अरु गाह्रो लाग्छ । विदेशबाहेक उसलाई पनि देशमै सजिलो उपाय छ भन्ने देखिन.... ।’
स्वास्थ परीक्षण गर्दै गरेका एक एना चिकित्सक मुखरित भए – ‘प्रजातन्त्र हामी नागरिकको हो, नेताको होइन । नेताको मर्जी र स्वार्थमा हाम्रो प्रजातन्त्र हरण गर्न पाइँदैन । हाम्रो प्रजातन्त्र नेताले मार्न पाउँदैनन्, मर्न, मार्न दिनु हुदैन । बुझ्नु भयो ?’ ती चिकित्सकको स्वायत्त अस्मिताप्रतिको बद्धता खतलाग्दो रह्यो ।
टिपनटापनका प्रत्येक सूत्रसूचक सिङ्गै लेखका सामग्री हुँदा हुन् । बनाउन सकिने हो । तर, कहिले काहीँ टिपनटापनले दिने समग्रता पनि एक प्रकारको लेखन प्रस्तुतिमा प्रयुक्त हुने रहेछ । यिनले बोक्ने मर्मबाट समय, स्थिति एवं सन्देश बुझाउने सग्ला अभिव्यक्ति बन्दा रहेछन् । यसैले यो शैली पनि बाँचेको रहेछ ।