site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चलाई आईजीपीको जवाफ : कानुन मिचेका छैनौं 

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीले अदालतको अवहेलना नगरेको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अदालतको आदेशबाट छुटेलगत्तै गिरफ्तार गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरी महानिरीक्षकसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाई गर्दै गत फागुन १६ गते अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्नुपर्ने हो ? भन्दै प्रहरी महानिरीक्षकसहितलाई लिखित जवाफ पेस गर्न भनेको थियो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले मंगलबार अदालतको अवहेलना नगरेको भन्दै सो मुद्दा खारेज हुनुपर्ने लिखित जवाफ पेस गरेका हुन् । जवाफमा सर्वोच्च अदालतको आदेश प्रहरीले कार्यान्वयन गरेको उल्लेख छ ।

“कानुन कार्यान्वयनका लागि भएका कामकारबाहीमा अदालतको आदेशबमोजिम छुटेका व्यक्तिलाई पुनः कानुन विपरीतको कार्य गरेकोमा कानुनबमोजिम पक्राउ गरेको कार्यलाई सम्मानित अदालतको आदेशको पालना नभएको भनी व्याख्या गर्नु उपयुक्त हुँदैन,” महानिरीक्षक ज्ञवालीले पेस गरेको लिखित जवाफमा भनिएको छ, “साथै सोही आधारमा अदालतको अवहेलनाजस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर हुन मिल्ने नहुँदा प्रस्तुत निवेदन खारेजभागी छ । त्यसैले खारेज गरी पाउँ ।”

त्यस्तै, जवाफमा कानुनबमोजिम सम्पादन हुने कामकारबाहीको सन्दर्भमा कुनै कमजोरी भएमा आवश्यक सुधार गर्ने पनि जनाइएको छ । 

न्यायाधीश ईश्वर खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले प्रहरी महानिरीक्षकलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । महानिरीक्षक, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुखलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । 

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी र हरिचन्द्र खड्काले अदालतको अवहेलना भएको र आफूहरूलाई गैरन्यायिक थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दै अदालतले रिहा गर्न उनीहरूलाई आदेश गरेको थियो । तर, सोही दिन प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरेको थियो । संयुक्त इजलाशको आदेशमा तत्काल उनीहरूलाई रिहा गर्न पनि भनिएको थियो । तर, उनीहरू अहिले प्रहरी नियन्त्रणमै छन् ।

सर्वोच्च अदालतको संयुक्त इजलाशले लिखित जवाफ आएपछि अपहेलना मुद्दाको छुट्टै मिसिल खडा गरी मुद्दा दर्ता गर्न पनि आदेश गरेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro