काठमाडौं । प्रतिनिधिसभा बैठकमा हाजिर गरेर सांसदहरू टाप कस्दा गणपूरक संख्या नपुग्ने क्रम पटक–पटक दोहोरिन थालेको छ । संसदको पाँचौं अधिवेशन सुरु भएपछि मात्र पनि पटक–पटक बैठकको कार्यसूची गणपूरक संख्या नपुग्दा प्रभावित भइसकेको छ । पछिल्लो अधिवेशनमा मात्र ४ पटक गणपूरक संख्या नपुग्दा बैठक प्रभावित भएको संसद सचिवालयले जनाएको छ ।
सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बैठक सञ्चालन हुँदा उपस्थित हुन सांसदहरूलाई आफुले भनिसकेकाले अब गणपूरक नपुग्ने अवस्था नआउने बताउँछन् । “सबै माननीयहरूलाई पूरापूर निर्देशन छ संसद चलेको बेलामा काठमाडौंमै हाजिर हुने भनेर मैले भनिसकेको छु । अब गणपूरक संख्या नपुग्ने समस्या नआउला,” नेम्वाङले भने ।
संसदमा सरकारले नै ल्याएका विधेयकहरूका कतिपय विषयमा प्रतिपक्षी दलको अहसमति हुन सक्छ । त्यस्तो अवस्थामा विधेयक पेस नहोस् भन्न उसले असहयोग पनि गर्न सक्छ । सरकारले ल्याएका विधेयक अघि बढाउन जिम्मेवार भूमिका सत्तारुढ दलको सांसदहरूको हुने गर्छ । तर, फागुन १५, १८ र १९ गते लगातार तीनवटा बैठकमा गणपूरक संख्या नपुग्दा कार्यसूची प्रभावित हुन पुग्यो । प्रधानमन्त्री केपी ओलीले पेस गरेको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधयेयक, अर्थ मन्त्रालयले ल्याएको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र गृह मन्त्रालयले ल्याएको कारागार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।
प्रतिनिधिसभामा सत्तारुढ नेकपाका मात्र एक सय ७४ सांसद छन् । तर, सांसद संख्या ६९ पनि नपुग्दा गणपूरकको प्रश्न उठ्दा बैठक प्रभावित हुँदै आएको छ ।
कहाँ जान्छन् सांसद ?
संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव दर्ता गर्न वा निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, पछिल्ला बैठकहरूमा एक चौथाइ सांसद पनि उपस्थित नहुने गरेका छन् । सांसदहरूलाई पार्टीले निर्देशन दिएपछि भने लगातार ३ पटक कोरम नपुगेर स्थगित बैठक फागुन २१ गते भने अघि बढ्यो । हाजिर गर्दा गणपूरक संख्या पुगे पनि त्यसपछि बैठक कक्षमा पनि सांसदको गणपूरक किन पुग्दैन त ? कहाँ जान्छन् सांसदहरू ?भन्ने प्रश्नमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ सांसदहरूलाई बैठकमा पुरै समय बसिदिन आफूहरूले भनेको बताउँछन् । सांसदहरू जिल्लामा काम छ भनेर जाने गरेको उनले सुनाए ।
सांसद गंगा चौधरीले जिल्ला नजाँदा जिल्ला आएन भन्ने गुनासो कार्यकर्ताले गर्ने गरेको र जिल्ला जाँदा संसदमा कोरम नपुग्ने गरेको बताउँछिन् । उसो त संसदमा हाजिर गरेर आफ्नो क्षेत्रका विकास निर्माणका योजना पार्न सांसदहरूको मन्त्रालय ओहोरदोहोर पनि बाक्लै हुने गर्छ ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला बैठकमा नियमित उपस्थित हुने सांसदमध्येमै पर्छिन् । संसदमा कुनै पनि विषय आउँदा उनी धारणा राखिहाल्छिन् । उनको बुझाइमा समानुपातिक भन्दा संसदमा नियमित नहुने सांसदहरूमा प्रत्यक्ष निर्वाचितहरू बढी हुने गर्छन् । “बैठकमा धेरै अनुपस्थित हुनेमा प्रत्यक्ष निर्वाचित सांसदहरू पर्नुहुन्छ । प्रतयक्ष जितेर आउनुभा’छ । वरिपरि जनता, जिल्लामा जनता, यताउता काममै व्यस्त हुनुहुन्छ । जनताकै काममा व्यस्त देखिनुहुन्छ, डुल्न जानुभएको होइन,” उनले भनिन् । त्यस्तै, सरकारप्रतिको उत्साह घट्दा जितेर आएका सांसदमा पनि निराशा बढेको र त्यसको प्रभाव संसदमा देखिउको उनी बताउँछिन् ।
प्रतिनिधिसभाभन्दा पारदर्शी राष्ट्रियसभा
संघीय संसदको प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा पारदर्शी देखिन्छ । गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको कार्यसूची प्रभावित भइरहँदा राष्ट्रियसभामा भने उपस्थिति उल्लेख्य देखिन्छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँल राष्ट्रियसभामा गणपूरक नपुगेर अहिलेसम्म एउटै बैठक स्थगित नभएको बताउँछन् ।
सांसदहरूको उपस्थितिबारे जानकारी दिन प्रतिनिधिसभाले आनाकानी गर्ने गरे पनि राष्ट्रियसभाले भने बैठकमा कति सदस्य उपस्थित थिए सोको हाजिरी विवरण नै दैनिक सार्वजनिक गर्छ ।
सरकारलाई उत्तरदायी र पारदर्शी बनाउन प्रेरित गर्ने दायित्व संसदको हो । सरकारलाई यस्तो जवाफदेही र पारदर्शी बनाउने संस्था आफैं पारदर्शी र जिम्मेवार हुनुपर्ने भन्दै राष्ट्रियसभामा सांसदले को उपस्थित भए भनेर हाजिरी नै सार्वजनिक गर्ने गरेको बताउँछन् सचिव फुयाँल । “हाजिर सार्वजनिक गर्दा नियमित जानुपर्छ, बस्नुपर्छ भनेर प्रेरित हुनेभयो । यसले गर्दा शून्य समय र विशेष समय पनि प्रभावकारी छ ।
सांसदहरूको उपस्थिति पनि ८० प्रतिशतभन्दा माथि छ,” उनले भने, “समान्यतः सदस्यहरू पुरै समय बस्नुहुन्छ । अपवाद त हुन्छ । सुरुमा ८० थियो भने अन्तिमसम्म ७० होला तर ४० चाहिँ हुँदैन ।”
फाइल तस्बिर ।