काठमाडौं । दुई व्यक्ति आमनेसामने उभिएका छन्, एक व्यक्ति रङ्गिन र अर्का व्यक्ति हल्का नीलो रंगमा । पृष्ठभूमिलाई परम्परागत पौवा चित्रले सजाइएको छ । चित्रकार पृथ्वी श्रेष्ठको यो चित्रमा व्यक्ति र छायाको सम्बन्ध देखाउन खोजिएको छ ।
उनका अनुसार छाया अदृश्य भए पनि हरेक व्यक्तिको जीवनमा यसको आफ्नै महत्त्व हुने गर्छ । “जबसम्म छाया हुन्छ, म छु । छाया नहुँदा म पनि हुन्न । छायाले सधैँ मलाई पछ्याइ नै रहेको हुन्छ ।”
उनले क्यानभासमा आफूलाई उतारेर समग्र मानवजातिलाई प्रस्तुत गर्न खोजेका छन् । उनका अनुसार जीवन र मरणको औचित्य छायाले निर्धारित गर्छ । योसँगै कलाकार श्रेष्ठले जम्मा ५ वटा चित्र कोरेका छन् । ती सबै चित्रमा परम्परागत पौवा कलालाई प्रस्तुत गरिएको छ ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको ‘नाउडेयर’ नामक चित्रकला प्रदर्शनीमा सजाइएका सबै समकालीन चित्रहरूमा परम्परागत शैली र कौशल झल्किने पौवा कलालाई समायोजन गरिएको छ ।
नेपाल, बंगलादेश, भारत र पाकिस्तानका २–२ जना गरी जम्मा ६ जना चित्रकारहरूले समकालीन र परम्परागत चित्रकलाको संयोजन गरेर ४० चित्रहरूमा नयाँ रूप दिन खोजेका छन् ।
पौवा भनेको परम्परागत कलाकौशल झल्काउने कलाको एक रूप हो । “पौवा आर्टिस्टहरू अरू आर्टिस्टसँग सहकार्य गरेर काम गर्न रुचाउँदैनन् । तर, हामीले यो प्रदर्शनीमार्फत् परम्परागत शैली र समकालीन शैलीलाई नयाँ रूप दिन खोजेका छौं । जुन दुई विधाका कलाकारहरूबीच आत्मीयता बढाउने राम्रो सुरुवात भएको छ,” श्रेष्ठले भने ।
त्यस्तै बंगलादेशकी चित्रकार ताइबा बेगम लिपिले पनि श्रेष्ठले जस्तै क्यानभासमा आफूलाई उतारेर समग्र महिलाको अवस्था र भावनालाई व्यक्त गर्न खोजेकी छन् । नारीवादी भावनामा काम गर्न रुचाउने उनले यी चित्रहरूमार्फत् पनि फेमिनिन मनोवृत्ति दर्शाउन खोजेको बताइन् । “यो मेरो आफ्नै पोट्रेटहरू हुन् भन्दा फरक नपर्ला । तर मलाई उभ्याएर मैले समग्र महिलाहरूको मनोभाव प्रस्तुत गर्न खोजको छु ।”
उनका अनुसार महिलाहरू एक निश्चित सीमाभित्र बाँधिएका हुन्छन् । उनीहरू हरदम त्यो परिधिभन्दा बाहिर आउन लडिरहेका हुन्छन् । कहिले स्वतन्त्रता खोज्न, कहिले डिप्रेसनबाट मुक्त हुन त कहिले आफैंभित्र हराउन । तर, त्यो परिधिभित्र उनीहरू यति धेरै जकडिएका हुन्छन् कि त्यहाँबाट उम्कन कहिले सफल हुन्छन् त कहिले असफल ।
विभिन्न देश घुमेर बटुलेको अनुभव सुनाउँदै उनी भन्छिन्, “साउथ एसियन देशहरूमा प्रायः जसो महिलाहरूको अवस्था यस्तै छ । तर, यसको मतलब यो होइन कि पश्चिमी देशका महिलामा यो समस्या छैन । उनीहरू पनि यही परिस्थितिबाट गुज्रिरहेका छन् । तर हामीभन्दा कम मात्रामा ।”
त्यस्तै बंगलादेशबाटै आएका अर्का कलाकार महबुबुर रहमानले क्यानभासमा दोस्रो विश्वयुद्धदेखि अहिलेसम्ममा विवादास्पद तर उच्च पदमा भएका विभिन्न देशका नेताहरूको पोट्रेट उतारेका छन् । उनका पोट्रेटमा डोनाल्ड ट्रम, भ्लादिमिर पुटिन, जर्ज डब्लु बुस, लगायतका व्यक्तिवहरू समावेश छन् ।
उनको पोट्रेको चाख लाग्दो पक्ष भने उनले ती व्यक्तिहरूको अनुहारलाई अस्पष्ट हुने गरी माथिबाट सुनौलो रंगले उनीहरूका देशको झण्डाहरू कोरेका छन् ।
यसरी अनुहारलाई भन्दा देशको झण्डालाई प्राथमिकता दिनुको पछाडि कुनै पनि व्यक्तिको परिचय उसको देशमा सीमित भएको देखाउन खोजिएको उनी बताउँछन् ।
“उनीहरू जुन शक्ति र स्थानका कारण विश्वमा प्रख्यात छन् त्यो भनेको उनीहरूको देशको नामले नै हो । उनीहरू विश्वमा आफ्नोभन्दा पनि देशको प्रतिनिधित्व गरेर उभिएका छन्,” उनले बताए ।
यसैगरी भारतीय चित्रकार एम पर्वतले २०७२ सालमा गएको भूकम्पका फोटोहरूलाई प्रिन्ट गरेर त्यसमाथि पौवा कलालाई प्रस्तुत गरेका छन् । भने चित्रकार सीमा कोहलीले योगका विभिन्न आसनलाई क्यानभासमा उतारेकी छन् ।
चित्रकार रहमान र लिपी सन् १९९४ देखि समयसमयमा नेपाल भ्रमणमा आइरहेका छन् । यो दौरानमा उनीहरूले नेपाली कलाकारहरूले आजसम्म पनि आफ्नो संस्कृति र कला बचाइरहेकोमा खुसी लागेको बताए ।
“बंगलादेशमा लोक कलाबाहेक अरु सबै पुराना कलाकौशलहरू हराइसकेका छन् । तर नेपाली कलाकारहरूले आजसम्म पनि पौवा, वास्तुकला, धातुकलामार्फत् परम्परागत कलाको विरासतलाई जोगाइ राखेका छन् । नेपाली कलाकारको यही लगाव र आफ्नो कलालाई जोगाइराख्ने जोसले हामीलाई कलाकै यी दुई विधालाई समायोजन गरेर नयाँ रुप दिन हौस्यायो ।”
भारतमा प्रदर्शनीपछि कलाकारहरू नेपालमा प्रदर्शनीका लागि आएका हुन् । फ्रेब्रअरी २० देखि मार्च १० सम्म सञ्चालन हुने यस प्रदर्शनी नेपालपछि पाकिस्तान, बंगलादेश र अन्तिममा स्विजरल्यान्डमा गएर समापन हुनेछ ।
यी चित्रहरू करिब एक वर्ष लगाएर सबै कलाकार नेपालकै पौवा आर्टिस्टसँग बसेर तयार पारेका हुन् । उनीहरूका अनुसार यसरी सबै कलाकारहरू एकैथलोमा बसेर काम गर्दा कलाकारहरूमा आत्मीयता त बढ्यो नै सँगै एकअर्कासँग सिक्ने र सिकाउने मौका पनि पाएको बताए ।