site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रचण्डले आश्वासन दिएपछि वडाअध्यक्षले अनशन तोडे 

चितवन । ७ बुँदे माग राख्दै आमरण अनशनमा रहेका माडी नगरपालिका १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले अनशन तोडेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माडीबासीको माग पूरा गर्ने अश्वासन दिएपछि उनले मंगलबार साँझ अनशन तोडेका हुन् ।

मंगलबार अध्यक्ष प्रचण्डसँगले पौडेलसँग टेलीफोन वार्तामा माडीबासीको माग पूरा गर्ने आश्वासन दिएपछि आफूले अनशन तोडेको पौडेलले बताए । उनलाई निकुञ्ज पीडित परिवारकी सदस्य बाटुली पौडेलको हातबाट जुस पिएर अनशन तोडाइएको थियो । चितवन ३ का सांसद प्रचण्डले मन्त्रिपरिषद् बैठकबाट माडीबासीको क्रमशः सबै माग पूरा गराउने प्रतिबद्दता समेत जनाएको पौडेलले बताए ।

Argakhachi Cement Island Ad

राष्ट्रिय निकुञ्जसम्बन्धी २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षण (जनपक्षीय) का लागि पुनः संशोधित हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव वन्यजन्तु निवारणका लागि ठोस रूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनु पर्ने साथै उत्तरी सिमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्ति व्यवस्थापन हुनुपर्ने माग राख्दै पौडेल फागुन ७ गतेदेखि आरमण अनशनमा थिए ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई माडीबाट भरतपुर अस्पताल ल्याएर सघनकक्षमा राखी उपचार गरिँदै थियो ।

यस्तै कसरादेखि बनकट्टा साथै बगहीँदेखि बाँदरझुलासम्मको बाटो पूर्ण रूपमा स्तरोन्नति गरी चौबीसै घण्टा आवातजावत हुनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबका रूपमा विकास गर्न विशेष योजना हुनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्ण रूपमा स्थानीय निकायको अधिकार हुनुपर्ने लगायतका माग राख्दै पौडेल एक्लैले आमरण अनशन बसेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १८:२०
प्रतिक्रिया दिनुहोस्