काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः अनिश्चित बनेको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेका लागि तय गरेको निर्वाचन अर्को सूचना नआएसम्मका लागि भन्दै स्थगन गरेपछि तत्कालका लागि स्ववियु निर्वाचन टरेको छ । स्ववियु निर्वाचनको नयाँ मिति कहिले तय हुने भन्ने निश्चित छैन ।
०६५ सालयता केही क्याम्पसहरुमा निर्वाचन भएपनि ठुला भनिएका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन । ०७३ सालमा पनि स्ववियु निर्वाचन सबै क्याम्पसमा हुन सकेन ।
त्रिभुवन विश्वविद्यालयकै केन्द्रिय क्याम्पस, किर्तिपुर, शंकरदेव क्याम्पस, पद्यकन्या क्याम्पस, त्रिचन्द्र क्याम्पस, नेपाल कमर्श क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल कलेजलगायत महत्वपुर्ण मानिने क्याम्पसहरुमा निर्वाचन हुन सकेन । त्रिभुवन विश्वविद्यालयका आंगिक महाविद्यालय र केन्द्रीय क्याम्पसमा निर्धारित तालिकाअनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको थिएन । कुल ६० आंगिक क्याम्पसमध्ये २१ मा मात्र निर्वाचन सम्पन्न भएको थियो ।
विश्वविद्यालयले २८ वर्षे उमेर हद लगाएपछि तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसकै भातृ संस्था नेपाल विद्यार्थी संघले उमेर हदको विरोध गर्दै स्ववियु निर्वाचन रोकेको थियो । रत्न राज्यलक्ष्मी क्याम्पसमा भने अदालतको आदेश ल्याएपछि स्ववियु निर्वाचन भएको थियो ।
गत सोमबार त्रिवि कार्यकारी परिषद्ले विशेष कारणले भन्दै स्ववियु निर्वाचन स्थगन गरेपछि स्ववियु थप अनिश्चित बनेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरले नयाँ सूचना नआउँदासम्म चुनाव स्थगित गरिएको जानकारी दिए ।
चुनाव स्थगन : दोष कसको ?
विद्यार्थी संगठनहरुल स्ववियु निर्वाचन अनिश्चित बन्नुको दोष त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने बताएका छन् । सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेविसंघले स्ववियु निर्वाचन नगराउन त्रिवि नै लागेको आरोप लगाए ।
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले त्रिविको कमजोरीका कारण स्ववियु निर्वाचन हुन नसकेको बताए । उनले स्ववियु निर्वाचन नगर्नु लोकतन्त्रलाईनै कमजोर पार्ने खेल भएको बताए । “स्ववियु निर्वाचन नगर्नु स्ववियु मात्र होइन लोकतन्त्रलाई नै कमजोर बनाउने खेल हो,” अध्यक्ष ढुंगानाले भने, “ नेविसंघले दबाब दिएर विश्वविद्यालयलाई निर्वाचन गराउन बाध्य गराउँछ ।”
उनले नेविसंघको नयाँ कार्यसमिति आएपछि एउटै पनि सर्वदलीय बैठक नबोलाएको बताए । त्रिविले स्ववियु निर्वाचनको प्रस्तावित कार्यतालिका पठाएपनि निर्णायक कार्यतालिका नपठाएको र निर्वाचन समितिको अध्यक्ष रहने रेक्टर नल्याएको भन्दै विश्वविद्यालयनै स्ववियु निर्वाचन नगराउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
सत्तारुढ दल अनेरास्ववियूका सहअध्यक्ष रञ्जीत तामाङले पनि विश्वविद्यालयकै कारण स्ववियु निर्वाचन नभएको भन्दै आपत्ती जनाए ।
‘विश्वविद्यालयका पदाधिकारी निकम्मा, राजीनामा माग्छौं’
अनेरास्ववियूका सहअध्यक्ष रञ्जित तामाङले नेविसंघ र अनेरास्ववियु स्ववियु निर्वाचनका लागि तयार भएपनि विश्वविद्यालयले नै स्ववियु निर्वाचन गर्न नचाहेको बताए । उनले भने, “ विश्वविद्यालयले निर्वाचन नै गराउन चाहेन । त्यसैले विशवविद्यालयमा राजनीतिक नियुक्तिबाट आएको अहिलेका पदाधिकारी निकम्मा र असक्षम छ । यसले स्ववियु निर्वाचन गराउने आफ्नो दायित्व पूरा गर्न सकेन । यो विश्वविद्यालयको नालायकी हो ।”
सहअध्यक्ष तामाङले अहिले स्ववियु निर्वाचन हुन नसक्नुको कारणबारे विश्वविद्यालयले जवाफ दिनुपर्ने बताए । “किन फागुन १४ मा स्ववियु निर्वाचन गर्न सकेन ? किन अर्को मिति तोक्न सकेन ? अब कहिले स्ववियु निर्वाचन गराउँछ ? विश्वविद्यालयले जवाफ दिनुपर्छ ,” उनले भने । तत्काल स्ववियुको निर्वाचनको मिति घाषणा नगरे विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग्ने उनले बताए ।