काठमाडौं । मंसिर १८ गते सागको चौथो दिन । नेपालले केही स्वर्ण जितिसकेको थियो । नेपालको स्वर्ण यात्रालाई मजबुत बनाउन तेक्वान्दोमा काजल श्रेष्ठ र वीर महराले स्वर्ण जितिसकेका थिए । पहिलो, दोस्रो र तेस्रो दिनमा नै स्वर्ण भित्रिएको तेक्वान्दोमा अन्य प्रतिस्पर्धीलाई केही दबाबका साथै हौसला पनि थियो ।
मैले स्वर्ण जित्न सकिन भने के हुन्छ ? घरेलु मैदानमा नै भएको सागमा स्वर्ण जित्दा यसको मज्जानै बेग्लै हुन्छ । नजित्दा हिनताबोध हुन्छ । मनमा ग्लानि पैदा हुन्छ । यी यस्तै कौतुहलता उदाउँदै र अस्ताउँदै थिए, संगीता बस्यालको मनमा । उनी घरेलु मैदानमा सम्पन्न भएको १३ औँ सागमा गेरुगीको महिलातर्फ ६२ केजी तौल समूहमुनि स्वर्ण जित्ने खेलाडी हुन् ।
१२ औँ सागमा सहभागी हुन नसकेकी संगीतालाई घरेलु मैदानमा भएको सागमा आफूलाई प्रमाणित गर्ने अवसर पनि थियो । भारतमा सम्पन्न १२ औँ सागका लागि अन्तिम छनोटमा उनी आयशा शाक्यसँग पराजित भएकी थिइन् । सागमा सहभागी भएर देशलाई स्वर्ण जित्ने अवसरबाट त्यतिबेला उनी वञ्चित भइन् ।
“खेलप्रति सानैदेखि रुचि थियो । झनै देशका लागि सागमा सहभागिता जनाउने कुराले बेग्लै किसिमको हौसला जागेको थियो । १२औँ सागको अन्तिम छनोट आयशा दिदीसँग पराजित भएँ । जम्मा पाँच तौल समूह भएकाले मैले सहभागिता जनाउन पाइनँ । मनमा निराशा त थियो तर, आफ्नै आइडियल प्लेअरसँग पराजित हुँदा त्यति धरै दुःख लागेन अझै खेलमा हौसला जाग्यो,” संगीताले १२औँ सागमा सहभागिता जनाउन नपाएको क्षणलाई सम्झिँदै भनिन् ।
१३ औँ साग संगीताका लागि पहिलो अनुभव हो । उनले भारतकी गगनजोत गिललाई १९–८ ले हराइन् । स्पर्धामा पाकिस्तानकी जोया सवीर र श्रीलंकाकी मनीषा साम्राजीवाले कास्य जितिन् ।
संगीतालाई फाइनलमा पुग्दा बाँकी एउटै मात्र लक्ष्य थियो । देशका लागि स्वर्ण । त्यसो त सागमा नै स्वर्ण नजिक पुग्दा सबैलाई रमाइलो लाग्छ नै तर, संगीताका लागि १३ औँ साग दोस्रो अवसरका रूपमा थियो ।
“मनमा धेरै कुरा खेलिरहेका थिए । त्यसमाथि बलियो मानिने भारतसँग नै फाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने थियो । दबाब पनि थियो । सँगसँगै घरेलु समर्थकको हौसला पनि । मनमा बलियोसँग बसेको कुरा के भने मैले अवसर गुमाउनु हुँदैन । लामो समयको सपनाले मेरो हौसला मर्न दिएन,” संगीताले भनिन् ।
संगीताले यो सागका लागि २०१६ देखिनै तयारी गर्दै आएकी थिइन् । उनले चीनमा पनि टिमसहित तयारी गरिन् । संगीताको साग दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो । उनका लागि सागको स्वर्ण अन्तर्राष्ट्रिय पदक मात्र होइन ओलम्पिकमा छनोट हुने अवसर पनि हो ।
“मेडल जितिसकेपछि खेलाडीको लक्ष्य नै अघिल्ला चुनौतीलाई कसरी समधान गर्ने भन्ने हो । आउने प्रतियोगिता केही कमजोरी भएमात्र मेडलको सानमा आँच आउन सक्छ । त्यसैले खेल जीवनमा जिम्मेवारी पनि बढेको छ । अबको ओलम्पिक क्लालिफायरमा सफल हुन सकेमा खेल जीवनको अर्काे पाना खोलिनेछ,” संगीताले भनिन् ।
२५ वर्षीय संगीताले तेक्वान्दो खेल्न थालेको अहिले १४ वर्ष पुग्न थाल्यो । सानो छँदा विद्यालय स्तरबाट कराँते खेलेकी उनलाई पछि तेक्वान्दोमा रुचि बढ्न थाल्यो । संगीताले अफ्नो बहिनीसँगै तेक्वान्दो खेल्न थालिन् । उनलाई तेक्वान्दोमा सफलता भने छैटौं राष्ट्रिय खेलकुदबाट मिल्यो । त्यसमा प्रथम भएसँगै उनले पछि फर्केर हेर्नुपरेको छैन । पाँचाैं राष्ट्रिय खेलकुदको छनोटमा परीक्षाका कारण जना नपाएकी उनले छैटौं, सातौं र आठौं खेलकुदमा प्रथम हुँदै ह्याट्रिक पनि गरेकी छन् ।
“सानो छँदा मैले कराँतेबाट खेल जीवनको सुरुआत गरेकी थिएँ । पछि तेक्वान्दोमा भविष्य देखेर यसैमा लागेँ । २०६८ सालमा छैटौं राष्ट्रिय खेलकुदमा एपीएफबाट सहभागिता जनाएँ । त्यसपछि मेरो खेल जीवनमा सफलता नै छाएको छ । पछि फर्केर हेर्नु परेको छैन । राष्ट्रिय खेलकुद ह्याट्रिक गरिसकेकी छु । अबको लक्ष्य साग खेलमा ह्याट्रिक गर्नु रहेको छ,” संगीताले भनिन् ।
संगीतालाई पहिलो अन्तर्राष्ट्रिय स्वर्ण धेरै विशेष छ । अझ उनलाई बेला बेलमा आउने बधाई तथा हौसलाले पनि विशेष बनाइदिएको छ । एउटा खेलाडीलाई खेल जीवनमा त्यो भन्दा धेरै खुसी के नै हुन्छ र ?
“सबैले चिन्छन् । हौसला पनि धेरै ठाउँबाट आउँछ । मैले गर्दा नै परिवारमा बेग्लै किसिमको खुसी छ । खेलमानै लागिरहन धेरैबाट सहयोग मिलिको छ । यसैले नै यो स्वर्णको महत्त्व छ,” संगीताले भनिन् ।
तस्विर ः सुनील प्रधान