काठमाडौं । नेपालमा जन्मिए पनि भारतको मुम्बईमा हुर्किएका भरत सिंह विगत १५ वर्षदेखि पोट्रेट पेन्टिङको कला प्रस्तुत गर्दै आएका छन् । भारतीय हस्ती अमिताभ बच्चनदेखि, बाल ठाकरे, रतन टाटा, शरद पवार, सचिन तेन्दुलकरलगायतका घरमा सिंहको कला सजिएका छन् ।
उनले भारतका अधिकांश चर्चित हस्तीहरूको पोट्रेट बनाइसकेका छन् । सानैदेखि चित्र कोर्ने रहर पालेका भरतले सानो छँदा पनि निकै चित्र बनाए । विद्यालयबाट फर्किएपछि झोला थन्क्याएर उनी कापी–कलम समाएर चित्र बनाउन थालिहाल्थे । “मलाई खाना नदिए पनि चल्थ्यो तर चित्र नकोरी बस्नै सक्दैनथें,” उनले विगत सम्झिए ।
हामी बिहान उठेर झ्याल खोली हेर्दा आफ्नो वरिपरि भएका सुन्दर प्रकृतिदेखि मोहित हुँदै आहा... भन्छौं । कसैकसैले त सधैं देखिरहेकै भएर त्यति वास्ता पनि नगर्ला । तर उनी जहिल्यै आफ्ना वरिपरि चित्र मात्रै देख्थे । जसलाई देख्दा पनि उनले ब्रस र रङ लिएर क्यानभासमा उतारिहाल्थे ।
धनगढीमा जन्मिएका उनी १२ वर्ष हुँदै आमाबुबाको साथ लागेर मुम्बई पुगे । यहीं चुनौती र अवसर खोजी गर्दै उनी हुर्किए । कक्षा १२ सम्मको नियमित पढाइसँगै उनले मुम्बईमा हुने चित्रकला प्रदर्शनीहरू भने कहिल्यै छुटाएनन् ।
चित्र प्रदर्शनी हेर्दै गर्दा उनले आफ्ना चित्रहरूले पनि कुनै दिन ग्यालरीमा स्थान पाओस् भन्ने सोच्थे । उनले आफ्ना चित्र ग्यालरीमा सजाएर हजारौं व्यक्तिले अवलोकन गरोस् भन्ने सपना पनि बुन्न थाले ।
०००
चित्रहरू त धेरै कोर्थे तर उनले मनमा बुनेको त्यो सपना पूरा कसरी गर्ने भन्नेमै मग्न हुन्थे । चित्रकलाका विभिन्न विधामध्ये उनको विशेष रुचि भने पोट्रेटमै थियो । त्यही भएर उनी अरू कलाकारको प्रदर्शनी हेरेर यस विषयका किताबहरू अध्ययन गर्न थाले । सिक्दै गए अनि अहिले स्थापित पनि हुँदै छन् ।
उनी यस विधामा आफूलाई स्थापित गराउने पोट्रेट भारतका चर्चित राजनीतिज्ञ बाल ठाकरेको मान्छन् । “एकदिन मैले बाल ठाकरे साहबलाई भेटेर उहाँको पोट्रेट उहाँलाई नै दिने मौका पाएँ । त्यसबखत उहाँले राम्रो गर्नुभएछ, यसमै अघि बढ्दै जाऊ भनेर सुझाउनुभयो । उहाँको त्यो कुराले मेरो मनमा यसरी छाप बनायोे कि अबदेखि म पोट्रेटमै लाग्छु भन्ने अठोट लिएँ ।”
भारतीय अब्बल कलाकारहरूको भीडमा आफूलाई उभ्याउन सफल हुनुको खुराक उनी मिहिनेत, लगन र धैर्यसँगै आफ्नो भाग्यलाई पनि जस दिन्छन् । यद्यपि आफूसँग खुबी र कला भएर पनि उनलाई यो परिचय बनाउन भने लामो समय लाग्यो । उनी अहिले पनि आफू संघर्षकै दौडमा रहेको बताउँछन् ।
०००
अरूभन्दा (पोट्रेट) मा चुनौती बढी हुने उनी बताउँछन् । पोट्रेट बनाउनु चुनौती हुने भन्दै उनले सुनाए, “मैले रतन टाटाको पोट्रेट बनाए भने त्यो गहिराइमा जानुपर्छ । रतन टाटा नै देखिनुपर्यो ।”
पोट्रेटमा हुबहु मान्छेको अनुहार देखिन उसको स्वभाव, छालाको रङको प्रकृतिबारे पनि अध्ययन गर्नुपर्ने उनको बुझाइ छ । यसका लागि पनि १–२ दिन अध्ययन पनि गर्नेपर्ने हुन्छ । हुन त कोही कलाकारले एकचोटि देखेकै भरमा पोट्रेट बनाउँछन् । तर अध्यय नगरी बनाएको पोट्रेट र देखेकै भरमा बनाएकोमा धेरै फरक हुने उनको भनाइ छ । उनका अनुसार यथार्थपरक पोट्रेट बन्न ६ महिना लाग्नसक्छ ।
तर, सतहमै बसेर चित्र हेर्नेबित्तिकै यो चित्र फलानोको हो भन्ने तवरमा मात्र बनाउने भए बढीमा २ दिन र कममा २–३ घण्टामा पोट्रेटलाई क्यानभासमा उतार्न सकिने उनी बताउँछन् ।
०००
उनले आफ्नो पहिलो एकल पोट्रेट प्रदर्शनी ‘आर्ट लभर्स अफ भारत’ शीर्षकमा गरिसकेका छन् । यो प्रदर्शनीमा उनले भारतीय हस्ती टिन अम्बानी, हर्ष गोयंका, गौतम सिंघानीयालगायतको अनुहारलाई क्यानभासमा उतारेका थिए । उनलाई यो पहिलो प्रदर्शनीले आगामी यात्रा उक्लने खुट्किलो बनाइदियो । लगत्तै उनले एकपछि अर्को गर्दै अहिलेसम्म १०औं एकल पोट्रेट प्रदर्शनी गरिसकेका छन् ।
कलाको कुनै मूल्य हुँदैन । तर यही क्षेत्रलाई जीवन जिउने सहाराका रूपमा अघि बढाउँदा आर्थिक कुरा पक्कै आउँछ । उनी व्यक्तिको कलासम्बन्धी ज्ञान र उसको क्षमताअनुसार मूल्य निर्धारण गर्छन् । तर पनि उनको न्यूनतम मूल्य ४–५ लाख रुपैयाँ राख्छन् ।
०००
आजसम्म उनले हजारभन्दा बढी पोट्रेट बनाइसकेका छन् । उनी यो क्षेत्रबाट पाएको उपलब्धि भनेको रतन टाटा प्रदर्शनीमै आएर उनको कलाको प्रशंसा गरेको क्षणलाई सम्झन्छन् । “रतन टाटा साहबलाई मेरो चित्रकला प्रदर्शनीमा बोलाउने ठूलो रहर थियो । जब त्यो रहर पूरा भयो अनि बल्ल मलाई लाग्यो कि अब भने म साँच्चै कलाकार बनिसकेको छु ।” आफूले बनाएका हजारौं चित्रमध्ये टाटाको पोट्रेट उनलाई निकै मन परेको छ ।
०००
उनले ११औं प्रदर्शनीका लागि आफ्नो जन्मथलो नेपाललाई चुनेका छन् । भोलि मंगलबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ४ बजेदेखि उनको ११औं एकल पोट्रेट चित्रकला प्रदर्शनी हुँदै छ । जसमा उनले नेपालका चर्चित हस्ती अनुराधा कोइराला, रविभक्त श्रेष्ठ, अनिलकेशरी शाह, हिमानी शाह, सुरज वैद्यलगायत १४ हस्तीका पोट्रेट प्रदर्शनीमा समावेश गर्दै छन् । यसका लागि उनले झन्डै एक वर्षदेखि तयारी गरेका थिए । प्रदर्शनी पाँच दिन चल्नेछ ।
नेपालमा पहिलोपटक हुन लागेको प्रदर्शनीप्रति उनी केही ‘नर्भस’ पनि छन् । “मुम्बाईमा त मैले धेरै प्रदर्शनी गरिसकें तर नेपालमा पहिलोपटक गर्न लाग्दा भने म संघर्षको अवस्थामै छु जस्तो लागिरहेको छ । यो पहिलो प्रदर्शनी होजस्तो महसुस भइरहेको छ ।” तर यति हुँदा–हुँदै पनि उनी यो प्रदर्शनीबाट प्रशंसा पाउनेमा ढुक्क छन् ।
कर्मथलो भारत बनाए पनि उनले नेपालमा कला क्षेत्रमा भएका गतिविधि चासोपूर्वक नियालिरहेका छन् । नेपालको कला क्षेत्रको बारेमा जानकारी पनि राख्छन् । नेपालमा राम्रा कलाकार थुप्रै भए पनि कलाको विकास भने सुस्त भइरहेको उनको अनुभव छ । भलै मुम्बाई जस्तो ठूलो नहोला तर निराशाजनक पनि नभएको उनले सुनाए । र, कुराको बिट मार्दै उनले ‘पोट्रेट आर्टिस्ट’ हुन लगन, धैर्य र मिहिनेत उत्तिकै खाँचो हुने उनी सुझाउँछन् । अनि भन्छन्, “आफ्नो मिहिनेत अगाडि बढाउँदै लैजाने हो भने यसमै भविष्य, नाम र दाम कमाउन सकिन्छ ।”
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी