site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ऊ पनि त गुलाफ थिई
Sarbottam CementSarbottam Cement

मानसी


“महोदय, यसपालिको ‘भ्यालेन्टाइन डे’ त निरस नहोला नि ? के छ प्लान ?”

“केही छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उसले बेपर्बाह जबाफ दियो । पश्चिमा संस्कार र संस्कृतिको अनुशरणमा खासै चासो राख्तैन ऊ ।

“अर्को वर्ष तिमेरुसँगै म पनि प्रेमिका लिएर ‘भ्यालेन्टाइन डे’ प्रोग्राममा सहभागी हुन्छु भनेको होइन लास्ट इयर ?” काँधमा हात राख्तै फेरि जिस्क्यायो क्रिसले ।

Global Ime bank

क्रिस उसको बालसखा । छोटै समय भए पनि पढाइका लागि विदेश गएको उसको नाम किरण थियो, फर्कंदा क्रिस भयो !

“....यसपालि ‘थ्री नाइट फो डेज’ को प्याकेज छ । केही गर् न यार ! चार दिनलाई भाडामा भए पनि खोज् ।” क्रिसको खिसिट्युरीले उसको दिमाग रन्थनियो ।

“दैनिक पत्रिकाले लाएको विज्ञापनको ज्याकेट, कछुवाको खपटा, मकैका खोस्टा... के नाम दिउँ म तेरो प्रेमलाई ? अर्काले बुन्दिएको डोकोमा बोकेर, डोकैमा छोपेर राख्ने तेरो प्रेमप्रति दया लाग्छ मलाई..!.”

“जाबो एउटा गर्लफ्रेन्ड नहुनेको यत्रो फुर्ती ? उमेर छिप्पिइसक्ता पनि गर्लफ्रेन्ड बनाउन नसक्ने तँलाई लाज लाग्दैन ‘पुरूष हुँ’ भन्न ?” बीचमा रोक्तै क्रिस जङ्गियो ।

सामान्य कुरामा ठूलै विवाद भयो त्यहाँ । अभिव्यक्ति स्वतन्त्रताको उच्च बिन्दुसम्म पुग्यो उनीहरुको सवालजबाफ । भन्नुनभन्नु भन्यो क्रिसले, केही राखेन बाँकी । सक्तो प्रतिकार ग¥यो उसले पनि ।

अचानक सिर्जिएको त्यो विवादले ऊभित्रको पुरूष जुरूक्कै उठ्यो । चलायमान मात्र होइन, भयङ्कर आँधीबेहरीको रुप लियो पुरूषत्व प्रामाणिकताले । त्यही आँधीले हुत्याएको थियो उसलाई पोखरा ।

००

पोखरा : कस्ती छु म ?

पर्यटक : भव्य ! एक्लै भोग्न कठिन भो !

पोखरा : सुन्दर ?

पर्यटक : गाह्रो भो सौन्दर्य सहन । त्यसैले फर्कंदै छु ।

पोखरा : केही समय त बस । मात्र मेरा लागि । सुन्दर छु भनेको होइन ? 

पर्यटक : सक्तिनँ ।

पोखरा : निष्ठुरी ! दुई दिन त बस । तिमी यसरी फर्कंदा सरकारको पर्यटन वर्ष कसरी सफल हुन्छ ?

पर्यटक : पर्यटन वर्ष सफल बनाउने ठेक्का लिएको छैन मैले । मेरो प्रेम सफल बनाउनु छ । एउटी प्रेमिका खोज्नु छ । दुई दिनपछि हो भ्यालेन्टाइन डे ।

पोखरा : तिम्री प्रेमिका मजत्तिकी सुन्दर छे ? 

पर्यटक : तिमीभन्दा पनि । 

पोखरा : छोडीजाने बैगुनीलाई खोज्छौ कि आफ्नै अगाडिको सौन्दर्यमा रमाउँछौ ?

चेतावनी महसुस गर्‍यो उसले ।

पर्यटक : हँ ? ऊ कसरी बैगुनी हुन्छे ? आमन्त्रित पाहुनाको अपमान गर्न न हाम्रो संस्कारले दिन्छ, न त संस्कृतिले सिकाउँछ । प्रेमको निम्ता उनैले दिएकी थिइन्— ग्रिन सिग्नल ।

पोखरा : आह्वान गरेर आफै बेपत्ता हुने बेइमान ? अनि बेइमानको खोजी गर्दै हिँड्ने बेबकुफ ! म कति सुन्दर छु ! हेर, हिमालको काख, पहाड, हरियाली, तालतलैया अनि उनकै केशराशि जस्तो यो झरना ! आँखा चिम्म गरेर आत्मसात् गर त मेरो सौन्दर्य ।

पर्यटक : तिमी सुन्दर छौ । सौन्दर्यकी खानी हौ । तर त्यो खानीसम्म पु¥याउने माध्यम मेरी प्रेमिका हुन् । म उनलाई बिर्सेर तिम्रो सौन्दर्यमा रम्न सक्तिनँ । थेग्न सक्तिनँ तिम्रो मुग्धता । पहिलो पटक मोबाइलमा देखाएकी थिइन् उनले तिम्रो सुन्दर रुप । त्यो दिन आज पनि झलझली नाचिरहेछ आँखामा ।

रातको १० बजे । जाडोको समय । महिना ठ्याक्कै याद भएन ।

अनलाइनमा देखेपछि सोधेँ, “कहाँ छौ ?”

“पोखरा ।”

मलाई विश्वास लागेन । उनले फेवातालको फोटो पठाइन् । तालछेउको बत्ती झिलिमिली थियो, रातको समयमा ।

“यस्ता फोटा गुगलमा कति छन् कति !”

त्यसपछि उनले लेकसाइडमा हिँड्दाहिँड्दै भिडियो कल गरिन् । त्यत्तिबेलै मेरो हृदयमा दुई सुन्दर चिजले डेरा जमाए— तिमी र उनी ।

तिमी सुन्दर छौ, उनी पनि सुन्दर । तर तिम्रो सौन्दर्यले जिस्क्याउँछ, कताकता गिज्याउँछ मलाई, उनको सौन्दर्यले राहत दिन्छ । मिठास भर्छ । अन्तर्मनमा कताकता पूर्णता आभास हुन्छ । काउकुती शैलीमा मीठो प्रेम बर्साउँछ । एक प्रकारको आँधी चल्छ ममताको । त्यसै हुटहुटी हुन्छ मनमा । अनि निमेषमै मत्थर हुन्छ र अन्त्य पनि मिठासपूर्ण ।

लेकसाइडको रात्रिकालीन झिलिमिली र शीतलतासँगै उनको सौन्दर्यको रापले हपहपी पोलिरहेथ्यो— भर्चुअल नै किन नहोस् । म सम्झिरहेको थिएँ एली खमारोभ— ‘धेरै व्यक्ति भर्चुअल रियालिटीको पर्खाइमा छन् । म सद्गुण वास्तविकताको पर्खाइमा छु ।’

तुरून्तै मैले उनी असुरक्षित भएको महसुस गरेँ— ‘यत्ति राति ? एक्लै सडकमा ?’

‘पोखरामा कोही एक्लो हुँदैन । फेवाताल, तालवाराही, विन्ध्यवासिनी, वेगनास, माछापुच्छ«े... अनि लेकसाइडको रौनक त अझ छुट्टै ।’ उनी मस्त हाँसिन् ।

हुन त निचोरेको कागती भएँ म, तर फेरि पनि लय मिलाउन हासिदिएँ ।

लेकसाइडको झिलिमिलीसँगै उनले बगैंचामा लगेर अड्याइन् क्यामेरा । कस्तो सुन्दर, फूलहरु थरीथरी !

बिजुलीको प्रकाशमा टल्किएको रात्रि सौन्दर्य । साह्रै चित्ताकर्षक ।

एउटा फूलमा भमरो घुमिरहेथ्यो ।

‘राति पनि भमरा आउँछन् बगैंचामा ?’

उनी खित्का छाडेर हाँसिन् । मेरो जिज्ञासा काँचो थियो क्यारे । असान्दर्भिक पनि हुन सक्छ । अथवा अज्ञानताको गतिलो उदाहरण ।

‘देखेनौ ? आए र त देख्यौ । तर यो अभागी भमरो...’ फुल कन्फिडेन्टमा थिइन् उनी ।

‘किन ?’ मेरो मलिन स्वर जिज्ञासु बन्यो ।

फक्रँदो फूलको सौन्र्दय मालीले मात्र देख्छ । त्यसैले ऊ हो भाग्यमानी । बिचरो भमरो त पूmल फक्रिएर सुगन्ध छरिन थालेपछि सुँघ्दै आउने बबुरो ! फक्रने र पूर्ण हुने समयको साक्षी त केबल माली न हो ।

फूल सधैं मालीमा सम्भावना देख्छे, तर माली फूलको चाहना, अपेक्षा, आकाङ्क्षा बुझ्न सक्तैन । प्रेमको मीठो विडम्बना हो यो ! फूल सधैं माली चाहन्छे, तर सामना गर्छे भमरो । उसको सम्पूर्णताको साक्षात्कार माली हो । भमरो पूर्णताको हकदार । त्यसैले फूल सधैं ‘सम्भावना’ देख्छे !

तत्कालै ममा उनको सम्पूर्णता साक्षात्कारको रहर जाग्यो— भमरोबाट माली ।

मेरो यही प्रयास प्रेमको बीज थियो सायद !

सबै प्रेमी आफ्नी प्रेमिकालाई सर्वाधिक सुन्दर देख्छन्, सर्वगुण सम्पन्न— सुशील, सौम्य, शान्त अनि मायालु । तर म उनमा भिन्न किसिमको चञ्चलता देख्न थालेको थिएँ ।

फक्रँदो कोपिला मालीको झारीबाट सिञ्चन हुँदै गर्दा उसैतिर निहुरिन्छे । म डराउँछु— मालीले अङ्कमाल गर्छ कि ? उनको अधर चुम्छ कि ? अनि उनको फक्रँदो यौवन...

मालीको सहकार्य र सहयात्राको सम्भावनाले म डराउँछु भयङ्कर । उनको यौवनसँग मालीको साक्षात्कार नहोस् कतै, म आराधन गर्न थाल्छु ।

हावाको झोक्का आउँदा पौंठेजोरी खेल्छे । म डराउँछु— कतै उसमाथि हावाको आधिपत्य कायम नहोस् । ऊ पराजित पो हुन्छे कि ? हावाको तीव्र वेगले उसका पुष्ट बन्दै गरेका अङ्गप्रत्यङ्गलाई धुजाधुजा पार्छ कि ? भय बढ्दै जान्छ ।

चर्को हुरीमा पूरै निहुरिएर लालित्ययुक्त जवानी लुकाउँछे । अन्तःस्करणमा मन्द मुस्कान छाउँछ मेरो । फेरि तत्कालै डराउँछु— हुरीले उसको जवानी चुँडाल्छ कि ?

पोखरा : त्यसपछि फेरि भेट भयो तिम्री प्रेमिकासँग ?

पर्यटक : भयो । कैयौं पटक भयो । माली बन्ने मेरो प्रयत्न जारी रह्यो । तर उसले मलाई सधैं भमरो देखी । न ‘म प्रेम गर्छु’ मैले भन्न सकें, न त ‘मलाई प्रेम गर’ भनेर करै गरेँ । ‘म तिमीलाई माया गर्छु’ र ‘तिमी मलाई माया गर्छौ ?’ भन्ने शैली नै मलाई वाहियात लाग्छ । प्रेमको अनुभूति परीक्षाको नतिजा जस्तो हो र ? प्रेममा ‘एस–नो’, ‘डब्लुएच’ जस्ता क्वेस्चन हुनुभन्दा ठूलो मूर्खता केही लाग्दैन मलाई । यो त अनुभूति हो । मैले हृदयमा अनुभूत गरेँ । हरबखत छायामा पनि प्रेम देखेँ ।

हाम्रो प्रेममा बुझाइको अस्पष्टता यही हो सायद ।

पोखरा : डेट गएका थियौ ?

पर्यटक : आकस्मिकताको डेट थियो त्यो । पूर्वघोषित नभई प्रारब्धले जुराएको । ऐतिहासिक सहरमा ऐतिहासिक डेट । पर्यटक शैलीको त्यो डेट परिभाषाभित्र थिएन । अनौठो, अपत्यारिलो । सपना जस्तो लाग्ने त्यो डेट साह्रै नशालु थियो । रसपानबिनाको नशा । मदिराबिनाको मादकता । वर्णन नै गर्न नसकिने अव्यक्त भावनाको काल्पनिक प्रस्फुटनको शृङ्गारिक डेट ।

पोखरा : नतिजा ? 

पर्यटक : अदालतको फैसला जस्तो भाकामा गयो । 

पोखरा : निर्णय आफूअनुकूल नहुने भएपछि फैसला आउनुभन्दा भाकामै गएको जाती । भावनाको अङ्कगणित नमिलेपछि किन ¥याइँ¥याइँ बजाएको प्रेमको बाजा ?

चर्को दबाब वा चेतावनी महसुस भयो पर्यटकलाई ।

पर्यटक : भावना गणित होइन । हाम्रो भावनाको योगफल एउटै हुनुपर्छ भन्ने छैन । भावनाहरु गणित हुने भए उहिल्यै हात लाग्यो एक वा दुई भैसक्थ्यो । जहाँसम्म फैसला र भाकाको कुरा छ, ‘निजहरुले सकार गरेको अपराध प्रहरीको डरले बलजफ्ती गरेको नहोला भन्न सकिएन’ भने जस्तो फैसला प्रतिकूल भए पुनरावेदनको गुञ्जायस हुन्छ अदालती अभ्यासमा ।

पोखरा : ए ! उसो भए तिमी विदेशी डेटको पुनरावेदन गर्न आएका ?

पर्यटक : बिलकुल होइन । उनले पहिलो तारिखको हाजिरी पोखरामै आएर गरेकी थिइन् ।

पोखरा : अनि ? 

पर्यटक : सोचेअनुसार हुन सकेन । यसलाई यसरी भनुँ क्यार । मैले सोचे जस्तो भएन । उनी पहिलेकी जस्ती पाइनँ मैले । अथवा, उनको व्यवहार पहिलाको जस्तो थिएन । बिलकुल भिन्न । 

पोखरा :  दोस्रो डेट ? 

पर्यटक : भर्चुअल ! मैले ‘भिडियो कल गर’ भनेँ, उनले भनिन् ‘वन्ली च्याट !’

म फेरि त्यो बगैंचा हेर्न चाहन्थेँ— फक्रन लागेका ती फूल । फक्रिसकेको होइन । म माली । भमरो बन्ने चाहना पटक्कै थिएन मेरो । उन्मुक्त यौवन होइन, यौवनको उत्कर्ष पनि होइन । शैशवकालदेखि चढ्दो यौवनका सम्पूर्ण चरण हेर्न चाहन्थेँ म ।

यथार्थमै माली, वास्तविक माली, जसको सम्भावना उनैले देखाएकी थिइन् । 

फटाफट भर्‍याङ चढेर बुइँगल पुग्ने रहर थिएन । म घुमेको भ¥याङ चढ्न चाहन्थेँ । त्यो पनि इच्छा लागेको खुट्किलोमा विश्राम गर्दै । तर, म फ्रिज भएँ उनको व्यवहारबाट । 

पोखरा : उनका आँखाले तिमीलाई कहिल्यै प्रेमी देखेनन् । देखेको भए तिम्रा चाहना मर्ने थिएनन् । तिम्रो अनुरोध अस्वीकृत हुने थिएन । 

पर्यटक : तिमीलाई म कसरी सम्झाउँ— प्रेम आँखाले देख्तैन ! प्रेमी आँखाले बनाउँदैन । यो त मनले स्वीकार्ने हो, अनुभूति । आत्माको स्वीकृति । प्रेम देखिँदैन, महसुस हुन्छ । प्रेमको भोकले हृदय जलाउँछ । मेरो हृदय जलेको देख्छौ र तिमी ? मेरो हृदयमा अहिले आगो दन्किरहेछ प्रेमको । देखिन्छ ? दुई दिनभित्र यो आगो निभाउनु छ मैले । पर्सि त प्रणय दिवस ! प्रेमले सिञ्चित गर्नुछ जलेको मनलाई ।

पोखरा : कहिलेदेखि हराई ऊ ?

पर्यटक : दोस्रो पटक तिमीसँगै देखेको थिएँ मैले । त्यसपछि सम्पर्कमै छैनन्, भर्चुअल पनि । म रिसाएको पक्कै थिएँ उनले भिडियो कल नगरेकाले । मलाई च्याट गर्नु थिएन । म तुरून्तै अफलाइन भएँ ।

मेरा हात–खुट्टा ठिहिर्‍याए । घरी म उनलाई मालीसँग देख्न थालेँ, घरी भमरोसँग । मेरा आँखा र सोच काम गर्न छोडेजस्तै भए । निद्रामा पनि फूलमा भमरो बसेको देख्न थालेँ । कहिले भमरो बस्ता थेग्न नसकेर फूलै चुँडिएर भुइँमा झथ्र्यो । कहिले नुघ्थ्यो अनि फेरि आफूलाई समालेर बौरिन्थ्यो ।

सपनाले भ्रम छर्‍यो कि भ्रमले सपनाको साम्राज्य बनायो ? भेउ नै पाउन छोडेको छु । 

घरीघरी ऐतिहासिक सहरको ऐतिहासिक डेट पनि सपनामा आउँछ । तर हिजोआज त्यो डेट खल्लो लाग्न थालेको छ । उनको सौन्दर्यले छायामा पारेको होला भन्ठानेको छु । खोज्नु छ मेरी प्रेमिका । मलाई कत्ति पनि मन छैन यो प्रणय दिवस एक्लै बिताउन ।

पोखरा : मैले भनिसकेँ नि छोडीजाने बैगुनीको पछि नलाग । म पनि कम्ता सुन्दर छैन । आउ स्थिर गराउ आफ्नो मन । उद्वेलित तरङ्गलाई लगाम लगाऊ । यो प्रणय दिवससँगै मनाऊँ ।

००

पोखराले अङ्कमाल गर्न खोजेको महसुस भयो पर्यटकलाई । ऊ बिस्तारै उल्टो पाइला चाल्दै भन्छ, ‘नआऊ मेरो सामु । नछोऊ मलाई । तिम्रो सौन्दर्य म एक्लै थेग्न सक्तिनँ । त्यसैले म मेरी प्रेमिका खोज्छु । 

भव्य तिम्रो सौन्दर्य,

भव्य तिम्रो मादकता,

भव्य तिम्रो शृङ्गार,

अनि शिथिल म ।

मेरी प्रेमिका जसरी पनि खोज्नु छ । प्रेमका ठेकेदारले, प्रेमका बिचौलियाले, प्रेमका अपहरणकारीहरुले, प्रेमका अपराधीले मलाई जिस्क्याउन पाउने छैनन् यस पटक एउटी पनि प्रेमिका नभएकोमा । कदापि म त्यो हुन दिने छैन । वर्षौंदेखि जिस्क्याउँदै आए तिनीहरु— ‘एउटी प्रेमिका पनि बनाउन नसक्ने नपुंसक’ । म नपुंसक किमार्थ होइन । प्रमाणित गर्नु छ प्रेमिका देखाएर । 

त्यसैले यी बाँकी दुई दिनमा मैले जसरी पनि भेट्नु छ मेरी प्रेमिका । म गएँ । प्लिज मलाई नरोक । म तिम्रो सौन्दर्य एक्लै थेग्न सक्तिनँ । सक्तिनँ, एक्लै सामना गर्न ।

पर्यटक पोखराबाट टाढियो— प्रेमिकाको खोजीमा ।

यत्रतत्र, सर्वत्र भौतारियो । कहाँ खोजेन ? मान्छे हराएको सूचना जारी गर्न मात्रै बाँकी राखेर चारै दिशा खोज्यो ।

पोखराको सौन्र्दय देखाएकी थिई । माली र भमराको भिन्नता पढाएकी थिई । प्रेमको वर्षा गराएकी थिई । फेला परिन निष्ठुरी ! ४८ घण्टा बित्यो । अर्को ४८ घण्टा पनि बित्यो तर उसकी प्रेमिका फेला परिन ।

‘तेरपायँ बाटो हिँड्न सजिलो, ठाडो उकालोले सास मात्रै बढाउने । खुट्टा मात्रै गलाउने । घुँडा दुखाउने । मेरो प्रेमको बाटो तेरपायँ थिएन । ठाडै उक्लन खोजेँ, आफै थाकेँ । सास मात्रै बढायो । घुँडा मात्रै दुखायो । खुट्टा मात्रै गलायो । मनको आँधी रोकेन ।’ चौतारीमा एक्लै फुसफुसायो ऊ । सहरमा प्रणय दिवसको रौनक मत्थर भइसकेको थियो ।

“म आफैं माली हुँ हजुर, आफैंले उमारेको बिरूवा हो ।” सुन्दर फूलका गमलाले भरिभराउ ठेला अड्याउँदै उसको नजिक गएर पूmल बेच्नेले भन्यो ।

पर्यटकको होसहवास उड्यो । तर झड्का कति भोल्टको थियो, ठम्याउनै सकेन । सिकारको खोजीमा भौंतारिएको सिंहको जस्तै नजरले फूल बेच्नेलाई हे¥यो । भन्दै थियो— “यो गुलाफ क्रस कटिङ हो । यो हाइब्रिड । यो गोदावरी, साह्रै राम्रो फुल्छ । अनि यो विशेष खालको गुलाफ । एउटै बोटमा दुई रङ्गका फुल्छ ।”

तत्काल ठूलो हुरी चल्यो पर्यटकको मनमा । मस्तिष्कले सोध्यो, “ऊ पनि गुलाफ थिई, तर रातो कि सेतो ?”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय