site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पिकासो र ब्राकलाई पनि मेरो चित्र राम्रो लागेछ’
Sarbottam CementSarbottam Cement

लैनसिंह वाङ्देल


“नेपाल कलाको देश भैकन पनि नेपालमा कलाप्रति त्यतिको अभिरुचि र प्रेम जागेको छैन । फलस्वरुप कलाको अवहेलना भइराखेको छ– यो एउटा दुःखको कुरो हो । तर मलाई लाग्छ आजका नवयुवक र युवतीहरु यसप्रति बढी जागरुक भइराखेका छन् । आज कला र कलाकारहरुले प्रोत्साहन पाएनन् भने तिनीहरु भोलि त्यसै मरेर जान्छन् । निर्माणतर्फ लम्केको देशमा संस्कृति र कलाको विकास भएन भने देशको विकास कार्य सन्तुलन हुँदैन । अहो ! मैले लामो कुरा भने क्यार ।” भन्दै श्री वाङ्देलले आफ्नो कुरा टक्क रोक्नुभयो । 

लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ नै मेरो उहाँसँगको मानसिक परिचयको प्रथम स्रोत थियो । धेरै वर्षअगाडिको कुरो हो– ‘मुलुक बाहिर’ र उहाँको सम्पादनमा निस्कने मासिक ‘प्रभात’ पढ्दा वाङ्देलज्यूलाई आफैंले भेट्न पाए कस्तो रमाइलो हुने थियो होला भनी उहाँबारे अनेक किसिमको कल्पना गर्दथेँ । र, पछि मेरो त्यो कल्पना साकार हुने खुसीको दिन पनि आयो । त्यो दिन आजै थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

थ्याप्चो अनुहार, ठीकैको नाक, अनि आँखा पनि त्यही खालको, गहुँगोरो अनुहार, पुड्के खालको नेपाली स्तरको उचाइ गालाका घाउको दाग आदि चिह्नाङ्कित मङ्गोली टाइपको पुरुषको सामुन्ने मैले आफूलाई पाएँ ।

औपचारिक परिचयपछि मैले जिज्ञासा प्रकट गर्दै भनेँ– “म यहाँको बारेमा केही जान्न भनेर आएको । कसरी तपाईं साहित्य र कला क्षेत्रतर्फ लम्कनुभयो ? कुन धारणाको आधारमा लेख्नुहुन्छ ? इत्यादि कुराहरु म थाहा पाउन सक्छु ?”

Global Ime bank

“ओ, किन नसक्नु ?” उही दार्जलिङे नरम मिजास थियो– “हेर्नुस, केटाकेटीदेखि नै म साहित्यतर्फ झुकेको हुनाले आफ्नो भविष्य पनि साहित्य र कलातर्फ मोडेँ । आफैं पनि मध्यम वर्गको भएकोले साहित्य र कलामा पनि त्यही माध्यम नै प्रयोग गर्दछु । मलाई लाग्छ, यदि मैले माथिल्लो श्रेणीको चित्रण गर्न थालेँ भने त्यो मेरो अनाधिकार चेष्टा मात्र हुनेछ र हुन सक्छ असफल पनि हुनेछु ।”

माघको चिसो महिना, त्यसमाथि कुपण्डोलको खुला ठाउँ वाग्मतीको स्याँठ, बिहानीको तुषारो–यी सबैले हाम्रो जिउ कमाउन सहयोग दिइरहेका थिए । यस्तैमा मेरो मुखबाट ‘धन्यवाद’ शब्द निस्क्यो । मेरो अगाडि तातो बाफ आइरहेको चियाको कप थियो– श्रीमती वाङ्देलको सौजन्यताको प्रतीक ।
“यहाँको विवाह ?” बीचैमा रोकिनुपर्यो– वाङ्देलज्यूले मेरो प्रश्नको मतलब बुझिसक्नुभएछ । 

भन्न थाल्नुभयो– “ओ ! विवाह । हाम्रो विवाहको घटना रमाइलो छ । सन् १९४९ मा दार्जलिङबाट प्रकाशित हुने ‘खोजी’ नामक पत्रिकामा मेरो र मनकुमारीको कविता सँगसँगै छापियो । यो आकस्मिकतापूर्वको छपाइद्वारा ‘खोजी’ –ले हामी दुवैको पारस्परिक खोज गरिदियो भनौं न । प्रकाशित कविताको आधारमा पत्रव्यवहार सुरु भयो र पछि सन् १९५३ मा प्यारिसमा हाम्रो विवाह भएर पत्रव्यवहारको सुखद अन्त्य भयो । “गुडबाई डार्लिङ ।” श्रीमती वाङ्देल सायद अस्पतालतिर लाग्नुभयो । मौकाको फाइदा उठाउँदै म आफ्नो शङ्का समाधान गर्नतिर लागेँ– “अहिले पनि यहाँको पारिवारिक जीवन सुखी छ त ? कलाकारसँग धेरैजसो पत्नीको जीवन दुःखलाग्दो हुन्छ भन्छन् नि ?” प्रेम विवाहपछिको पारिवारिक जीवन दुःखपूर्ण हुन्छ भन्छन् भन्ने कुरो भने मैले व्यक्त गरिनँ । अशिष्ट साबित हुँला भन्ने डरले यसलाई मनैमा राखेँ ।

मेरो यो प्रश्न सुनेर वाङ्देलजी अचानक भावनामा बग्न थाल्नुभयो । भावुक भई उहाँले व्यक्त गर्नुभएको प्रत्येक शब्दमा प्रेमको आगो सल्केको भान हुन्थ्यो– “ओ ! नो, सी इज भेरी इन्स्पायरिङ एन्ड ह्याज डन ए ग्रेट स्याक्रिफाइस फर मी । हाम्रो दाम्पत्य जीवन असाध्यै सुखी छ ।”

कोठामा सुकुल ओछ्याइएको थियो । त्यसमाथि पुरानो रुमालले ढाकिएको पुरानो टेबुल–दुईतिरको पुरानो मेचमा हामी आमनेसामने । ठाडै सोध्न शिष्टाचारले अनुमति नदिने भएकाले अलि हिचकिचाइकनै भए पनि सोधेँ– “यहाँको आर्थिक स्थिति त राम्रै छ क्यार ?”

मेरो यो सोधाइप्रति अलिकति पनि सङ्कोच नमानी उहाँले जवाफ दिनुभयो– “म जस्तो चाहन्छु, हाललाई मेरो आर्थिक अवस्था त्यस्तै छ । मैले आफ्नो जीवनमा केही बुझ्न सकेदेखि नै सङ्घर्ष परेको थियो र यो ‘थियो’ मात्र नभई ‘छ’ पनि भएको छ । प्यारिस र लन्डनमा पनि आफनो अस्तित्व बचाउन सङ्घर्ष नै गरिरहनुपर्‍यो । एकातिर म आफ्नो चित्र बेचेर केही समस्या सुल्झाउँदै थिएँ भने अर्कोतिर मनकुमारी नर्स भएकीले अस्पतालमा काम गरेर बाँकी समस्या सुल्झाउन सहयोग गर्थिन् । पहिलोपल्ट आफ्नो स्वप्नभूमि नेपाल आएर पनि हामीले सङ्घर्षमै जीवन बिताउन परिरहेछ । मलाई यस्तो सङ्घर्षमै सन्तोष छ किनभने म सङ्घर्ष नै जीवन हो भन्ने पक्षमा छु । यो कुरा मलाई भ्यानगोगले सिकाएका हुन् भने पनि हुन्छ ।”

“अँ, साँच्चि, तपाईंले आफ्नो अध्ययन युरोपमा नै पूरा गर्नुभएको हो कि ? मध्यमवर्ग जस्तो सङ्घर्षरत् जीवनमा हुर्केको तपाईं कसरी युरोपमा अध्ययन गर्न पाउनुभयो ?” म प्रश्नमाथि प्रश्न थप्दै थिएँ । 

करिब १५–१६ दिन मात्रको एउटा चकचके छाउरोलाई टोकरीमा पल्टाएपछि ढोकामा उभिएका एक नवागन्तुकलाई एकछिन कुर्नको लागि अनुरोध गरी श्री वाङ्देल आफ्नो पहिलेकै ठाउँमा फेरि आरामपूर्वक बस्नुभयो । हामी बसेको कोठालाई दुई टुक्रा पारी खडा भएको कठबारको उतापट्टिबाट बलिरहेको स्टोभको आवाज आइरहेको थियो– सायद त्यो भान्साघर थियो । भात पाक्दै होला । 

कुराको सिलसिला कायम गर्दै श्री वाङ्देल भन्न थाल्नुभयो–“युरोप ! हो  मैले आफ्नो कला अध्ययनको अन्तिम चरण यूरोपको विभिन्न भागमा पूरा गरेँ । युरोप जानुभन्दा अघि म कलकत्तास्थित एक ब्रिटिस विज्ञापन फर्ममा काम गर्थें । वर्तमान विश्वविख्यात फिल्म निर्देशक सत्यजीत राय पनि त्यहीँ काम गर्नुहुन्थ्यो । हामी दुवै पाँच वर्षसम्म सँगसँगै काम गर्‍यौं । उहाँको प्रेरणाद्वारा कलाको विस्तृत अध्ययन गर्न म प्यारिसतिर लागेँ । कसरी त्यहाँ पुगेँ भन्ने कुरो ज्यादै लामो छ । त्यहाँ पुग्न अनेक बाधा र समस्याको सामना गर्नुपर्‍यो । तर सङ्घर्ष मेरा लागि नौलो कुरो नभएकाले सबै बाधाहरु हटाई आफ्नो चिरस्वप्न पूरा गरी छोडेँ ।’’ 

“त्यहाँ आफ्ना दुई आदर्श व्यक्ति पिकासो र ब्राकलाई भेटेर आफ्नो चित्र पनि देखाएँ । उहाँहरुबाट प्रोत्साहन पाउनका साथै जीवनोपयोगी शिक्षा पनि पाएँ । मेरो अर्का आदर्श पुरुष न्युट ह्यामसन पनि हुनुहुन्थ्यो । उहाँलाई पनि भेट्ने ठूलो इच्छा सँगालेको थिए मनमा । तर म जहाजमा छँदैमा उहाँको मृत्यु हुनाको कारण यो इच्छा पूरा हुन सकेन ।”

“पिकासो र ब्राकलाई तपाईंको चित्र कस्तो लागेछ ?” म एकोहोरो प्रश्न गर्दै थिएँ । 
“राम्रै लागेछ । खास गरेर त ब्राक मेरो रङ्गको प्रयोग गर्ने तरिकाबाट ज्यादै प्रभावित हुनुभएको थियो,” बिना बडप्पनको सीधा उत्तर पाएँ । 

घाम तेजिलो हुँदै आइरहेको थियो । अब त बाहिर सडकमा मोटरको आवाज पनि निकै सुनिन थालिसकेका थिए । 

“अब तपाईंको के गर्ने विचार छ ?” उहाँको भविष्यबारे केही जान्न म निकै उत्सुक थिएँ । 

“साहित्यिक बन्धुहरुको भनाइअनुसार अब मैले ‘मुलुकभित्र’ लेख्नुपरेको छ । मुलुकको भ्रमण गरेपछि लेख्ने विचारमा पनि छु । अहिले भ्रमणको बारेमा म एक किताब लेख्दैछु । आफूलाई मन परेको कुनै जीवित या मृत नायकको जीवनी लेख्ने विचार पनि गरेको छु । अनि कला र कलाकारको बारेमा एक बृहत् पुस्तक पनि लेख्ने विचारमा छु । यदि यसो गर्न सकेँ भने आफूले कला र साहित्य क्षेत्रमा केही योगदान दिन सकेँ भनी ठान्नेछु । अनि मेरो अर्को यौटा सपना छ– नेपालमा चित्रकलाको न्यासनल ग्यालरी खोल्ने । हामीले कला र साहित्यको विकास गर्नुछ र त्यसको निमित्त अहिले राम्रो समय छ । कोसिस गरे यस युगलाई ‘सुनौलो युग’ बनाउन सक्छौं । किनभने हाम्रा राष्ट्रनायक नै कला र साहित्यका प्रेमी होइबक्सन्छ साथै संरक्षक पनि ।” यति जवाफ नै मेरो लागि प्रशस्त थियो ।

“वाङ्देलज्यू, तपाईंको मन परेका साहित्यकार, नेपाली साहित्यको गति अनि साहित्य केको निमित्त आदिआदि बारेमा पनि तपाईंको विचार सुनिहालौं न ?” समय धेरै भइसकेकाले मैले एकैपटक खिचडी जस्तो प्रश्न सोधेँ । 

“विदेशीमा तुर्गनेभ, न्युट ह्यामसन, सिग्रिङ अनसेत, आन्द्रे मुखा र शरत्चन्द्र र स्वदेशीमा स्वर्गीय देवकोटाजीको ‘मुना मदन’ले ज्यादै प्रभावित भएको छु । साहित्यमा कला र सामाजको द्विपक्षीय चित्रण गरिनुका साथै देशको प्रतिनिधित्व गरिएको हुनुपर्दछ । अहिले हामी कुनै वाद विशेषमा लाग्ने समय छैन ।” यो उहाँको समन्वयवादी उत्तर थियो । उहाँ भन्दै हुनुहुन्थ्यो–“नेपाली साहित्यको पद्य पक्ष त ठीकै छ, तर गद्य पक्ष भने ज्यादै कमजोर छ । राष्ट्रलाई नै जागृत गराउन सक्ने खालको लेखकको ज्यादै खाँचो छ । हामीले त्यस्तै नवयुवक लेखकलाई पर्खिरहेर बस्नुपरेको छ । सायद चाँडै नै यस अभावको पनि पूर्ति होला कि ?”
“कलालाई भन्दा पैसालाई तपाईं बढ्ता महत्व दिनुहुन्छ भनेर बाहिर गाइँगुइँ सुनिन्छ । के तपाईं यसमा सहमत हुनुहुन्छ ?” मेरो आखिरी र अलि अप्रिय सवाल थियो यो ।

घुँईई–घच्च– बाहिर सडकमा झण्डैले दुई मोटर जुधेका ! यता कोठामा छाउरो फेरि काइँकुइँ गर्न थाल्यो–अनि ढोकामा मेरो रिक्सावाला अबेर भयो भनेर कराउन लाग्यो । 

दुवैको उजुरलाई चित्त बुझाउन या सामसुम पार्न खोजेझैं श्री वाङ्देलले गम्भीर हाँसोको अनौठो मिश्रणमा भन्न थाल्नुभयो– “हेर्नुस्, मेरो कला सित्तै चाहनेको निमित्त म आफ्नो तर्फबाट तल ओर्लन सक्तिनँ । राष्ट्रसेवा नै मेरो प्रमुख लक्ष्य भएकोले म पैसालाई बढी महत्व दिन्नँ । तर यसको यो मतलब होइन सबैलाई म मेरो आफ्नो कलाकृति सित्तैमा बाँड्दै जाऊँ । पैसा नै मेरो निम्ति सर्वोपरि भएको भए म नेपाल आउने थिइनँ नि ! यी सबै खुट्टा तान्ने प्रवृत्तिवालाको हल्ला मत्र हो । घडी हेरेँ, पौने ११ भैसकेछ । साँढे आठ बजे आएको अहो ! यत्तिका बेर ! “अमूल्य समय दिनुभएकोमा धन्यवाद” भन्दै मुलुकबाहिरबाट भित्र पसेका साहित्यकार र कलाकारलाई नमस्ते गर्दै ढोका बाहिर निस्केँ । 

(उत्तम कुवँरको ‘स्रष्टा र साहित्य’ पुस्तकबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय