site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाटकघरमा कालो रंग र प्रकाशको सम्बन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । यदि तपाईं नाटक हेर्न नाटकघर प्रवेश गर्नुभएको छ भने तपाईं कालोपर्दा उघारेर अध्याँरो कोठामा प्रवेश गर्नुपर्ने हुन्छ । भित्र पनि मञ्च पछाडि कालो रंगकै पर्दा र बस्ने मेच पनि कालो नै रंगको हुन्छ । नाटक हेरिरहँदा कुनै दृश्यले आफ्नो फोन या क्यामेराको लेन्समा कैद गर्न मन लाग्यो भने गर्न त सक्नुहुन्छ तर फ्ल्यास लाइट अफ गरेर मात्रै ।

नाटकघरमा कालो रंग र अँध्यारोलाई प्राथमिकतामा राख्नुको कारण अभिनयको रंगलाई स्पष्ट पार्नु रहेको रंगकर्मी बताउँछन् । 

शिल्पी नाटकघरका संस्थापक र निर्देशक घिमिरे युवराज भन्छन्, “प्रकाशको अस्तित्व अँध्यारोमा हुन्छ । अँध्यारो हुने थिएन भने कुनै पनि बत्तीको अथवा सूर्यको पनि कुनै अर्थ नै हुने थिएन । त्यही भएर हामीले मञ्चमा प्रकाश खेल्छौं, प्रकाश खेल्नका लागि उज्यालोमा खेलिँदैन । त्यसका लागि अँध्यारो नै चाहिन्छ । किनभने अँध्यारोमा मात्रै प्रकाश देखिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

कथाअनुसार बल्ने भिन्नभिन्न खालको कृत्रिम प्रकाश देखाउनका लागि नाटकघर भित्र अँध्यारो हुने उनको भनाइ छ । उनका अनुसार अँध्यारो बिना उज्यालोको कुनै अस्तित्व नै छैन ।

आफ्नो भनाइलाई अझ स्पष्ट पार्दै उनी थप्छन्, “कसैमा भएको ज्ञान र बौद्धिकताको अस्तित्व त्यतिखेर रहन्छ जहाँ अज्ञानता हुन्छ ।”

Global Ime bank

नाटकघरलाई जति अँध्यारो बनाउन सकियो प्रकाशको जादु त्यति गहिरो र गाढा हुने उनको बुझाइ छ । हामीसँग रंगमञ्चमा प्रकाशको उपस्थिति बारेमा बोलिरहँदा उनी आफ्नै नाटकघरमा प्रकाशमै अभ्यास गरिरहेका थिए । जसलाई उनी निकै रोचक संयोग भएको बताउँछन् ।

हाम्रो बाहिरी वातावरणमा बिहान, दिउँसो, मध्याह्न र बेलुकाको प्रकाशको तह र प्रकृति फरक–फरक हुन्छ । त्यही फरकपन नाटकमा पनि देखाउनुपर्ने हुन्छ । जसका लागि पछिल्लो समय प्रायजसो नाटकघरले प्रयोग गर्ने भनेको कन्सोल लाइट हो । कन्सोल लाइटमा १ देखि १० सम्म नम्बर अंकित हुन्छ । नम्बर बढ्दै गएँसँगै प्रकाश गाढा हुन्छ भने ठिक विपरीत नम्बर कम हुँदै गयो भने प्रकाश मधुरो ।

नाटकघरमा प्रकाशको जति महत्त्व छ ठिक त्यसै गरी रंगले पनि धेरै फरक पार्ने गर्छ । नाटकघरमा चिसो वातावरणको महसुस गर्नका लागि नीलो रंगको प्रकाश (कृत्रिम बत्ती) को सहारा लिइन्छ । त्यस्तै सूर्योदयले नयाँ जोस र खुसीयालीको संकेत गर्न पहेँलो प्रकाश बालिन्छ र दिउँसोको संकेत गर्न सेतो प्रकाश र मध्याह्नका लागि फिक्का रातो प्रकाश बालिन्छ ।

तर यी सबै प्रकाश तब खुल्छ र दर्शकले प्रकाश अनुरुप समय छुट्याउन सक्छन् जब नाटकघरको कोठा अँध्यारो र कालोरंगले भरिएको हुन्छ । नाटककार अशेष मल्लका अनुसार नाटकघरको कालो पृष्ठभूमिले अगाडि मञ्चमा भएका रंगकर्मी र उनीहरूको अभिनयलाई स्पष्ट र खुलाउँछ । पृष्ठभूमि रङ्गिन भयो भने दर्शकलाई अभिनयबाट ध्यान विचलित बनाउँछ ।

“कालोपृष्ठभूमिभन्दा अगाडि कलाकार उभिँदा उसलाई मात्रै फोकस गरेर बालिएको प्रकाशले कलाकारको आँखाको भाव, शरीरको हाउभाउ लगायत सानोभन्दा सानो कुरा पनि खुल्छ र दर्शकले देख्छन्,” उनले भने ।

कालो रंग भनेको रंगविहीन भन्ने बुझिन्छ भने सेतो भनेको सबै रंगको मिश्रण हो । यसैकारण स्टेजमा प्रयोग गरिने विभिन्न प्रोप्स र कलाकारको अभिनय सबै मज्जाले छुटिएको र प्रष्ट देखियोस् भनेर नाटकघरभित्र कालो रंगको प्रयोग गरिने रंगकर्मी बताउँछन् ।

नाटकमा भौतिक वस्तुहरूले भन्दा पनि अभिनय र संवादले त्यसको परिपूर्ति गरिन्छ । त्यही कारण पनि अनुहारको हाउभाउ, बसाइको स्थिति लगायत सानोभन्दा सानो कुराले पनि धेरै फरक पार्ने रंगकर्मीको दाबी छ ।

नाटक घरमा अनावश्यक बती बल्दैनन् । साथै नाटक हेर्न आउने दर्शकमा पनि अनावश्यक लाइट बाल्ने अनुमति दिइएको हुँदैन । जस्तै फोटो खिच्दा मोबाइल अथवा क्यामराको फ्ल्यास लाइट अफ गर्ने हरेक नाटकघरको नियम नै हो । यो नियम राख्नुको कारण ती अनावश्यक लाइटले निर्देशक र लाइट टिमको परिकल्पनालाई असर नगरोस् भन्ने रहेको घिमिरे युवराज बताउँछन् ।

“कन्ट्रोल रुमबाट योजना बनाएअनुसार जति प्रकाश दिने हो, त्योभन्दा अर्को स्रोतबाट प्रकाश आउने बित्तिकै हामीलाई दुःख दिन्छ, हाम्रो परिकल्पना गरेअनुसार जुन नाटक डिजाइन गरिएको छ त्यसलाई बिगार्छ ।”

किनभने प्रकाशले वातावरण श्रृजना गर्छ, मान्छेको मुड र भावना व्यक्त गर्न नाटकघरमा प्रकाशले पुलको भूमिका खेलेको घिमिरे युवराज बताउँछन् ।

प्रविधिमा आएको विकासको पछिल्लो उपलब्धि कृत्रिम प्रकाशले रंगकर्मीलाई धेरै राहत पुगेको युवराज बताउँछन् । 

“रङ्गमञ्च भनेको उज्यालो र अध्याँरोको खेला हो ।” जस्तै एउटा भावना र सिनबाट अर्कोमा जाँदा कोठामा ५, १० सेकेन्ड अँध्यारो हुन्छ । उनका अनुसार त्यो अध्याँरोले (डार्कनेस) त्यो अँध्यारोले कथालाई बगाउन र एक दृश्यबाट अर्को दृश्यलाई जोड्न पुलको भूमिका खेलेको हुन्छ ।

त्यस्तै नाटक सुरु हुनु केही सेकेन्ड अघि पनि नाटकघर अँध्यारो बनाउनु भनेको पनि कलाकारलाई र दर्शकलाई अरु कुरा भुलेर नाटक हेर्नका लागि मानसिक रूपमा तयार गर्नु हो । भने नाटक मञ्चनपछि अन्तिममा हाउसलाइट बल्नु अगाडि एकछिन अँध्यारो हुन्छ । यी नाटकघरमा मञ्चनको समयमा हुने केही केही समयको अँध्यारोले नाटकलाई बलियो बनाउने नाटककार बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय