बनारस
कुनै भ्रम, कुनै जादु
जसरी ऐनामा देखिँदै कुनै उपवनको बिम्ब
यी आँखाहरूबाट नदेखिएको
एउटा सहर, सहर मेरो सपनाको,
जो बाँड्दै छ दूरीहरुलाई
रेशमी डोरी समान
अनि गरिरहन्छ परिक्रमा
आफ्नै दुर्गम भवनहरूको ।
मन्दिरहरू, फोहोरका पहाडहरू,
चोक र कारागारहरूसम्मबाट
अँध्यारोलाई खरानी बनाउँदै
चहकिलो प्रकाश
उक्लिन्छ पर्खालको माथिसम्मै
र, चम्किरहन्छ
पवित्र नदीको छङ्छङ् पानीमा ।
गहिरो उच्छवास् भर्दै सहर,
जो पोख्छ सारा क्षितिजमा
ताराहरूको घना समूह,
निद्रा र सुस्त हिँडाइमा समेटिएको
एउटा अनिँदो बिहानमा
रोशनी तिनको गल्लीहरूलाई
खोल्छ
मानौं खोल्दै छ,
आफ्नो दुवै हातको अँगालो ।
ठीक त्यसैबखत उठ्छ सूर्य,
पूर्वतिर हेर्दै गरेको ढोकामा
दिन्छ आफ्नो उज्यालोको दृष्टि ।
मस्जिदहरूको शिखरबाट उठ्ने ‘अजान’ले
बतासलाई गम्भीर बनाउँछ
गर्छ जय–जयकार
एकान्तका देवताको
अन्यअन्य देवहरूको त्यस नगरमा ।
(र, जब कि म खेलिरहेको छु
उसको अस्तित्वको आग्रही कल्पनाहरूसँग,
त्यो सहर अब पनि ‘आवाद’ छ
संसारको तोकिएको कुनामा,
आफ्नो निश्चित भूगोलका साथ
जसमा मेरा सपनाहरूजस्तै भरिएका मानिस छन्,
र, छन् अस्पताल, ब्यारेक अनि पीपलको छहारी दिने
सुस्त गल्लीहरू
अनि दाँतविहीन(थोते) ओँठ भएका मानिस पनि
जसका दाँत सधैं जाडोले कट्कटिएका नै हुन्छन् ।)
० ० ०
न्यु इङ्ल्यान्ड १९६७
मेरा सपनाहरूको आकृति फेरिएको छ;
अब सँगै रहेको रातो घर छ
र, ‘काँस’ रङ्गका नरम पातहरू
अनि ‘अक्षत’ चिसो तथा पवित्र काठ
सातौं दिनजस्तै संसार
सुन्दर छ, साँझमा बनेको छ
किञ्चित साहसी, उदास र प्राचीन कानेखुसी,
बाइबलहरू र युद्धको ।
चाँडै नै पहिलो हिउँ पर्नेछ (उनी भन्छन्)
अमेरिका मेरो प्रतीक्षा गरिरहेको छ हरेक सडकमा,
तर हिजो केही क्षण यस्तो लाग्यो
र, आज धेरै अबेलासम्म
ढल्दै गरेको साँझमा महसुस गरिरहेको छु ।
ब्युनस आयर्स, म भट्किन्छु
तिम्रा सडकहरूमा असमय र अकारण ।
(अर्जेन्टिनामा सन् १८९९मा जन्मिएका लेखक बोर्गेसका विशेष गरी कविता प्रख्यात छन् । उनी चिन्तक, विचारक, अनुवादक तथा समीक्षक पनि थिए । ८६ वर्षको उमेरमा उनको निधन भयो ।)