site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्ती बन्यो प्रथम चितवन प्रिमियर लिग च्याम्पियन

चितवन । राप्ती र्‍यापिड्स प्रथम संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा आज (शुक्रबार) भएको फाइनलमा सौराहा स्यान्ड्सलाई पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो ।

सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । राप्तीको जितमा कप्तान आकाश थापाले इनिङ खेले । थापाले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरे । उक्त साझेदारीले नै राप्तीलाई जिततर्फ डोर्‍यायो । आक्रामक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किएका थिए । हरिबहादुर चौहान १८ तथा भीम सार्की ११ रनमा नट आउट रहे । आक्रमक ब्याटिङ गरेका सार्कीले १७औं ओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गरे । सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यानमाथि हाबी हुन सकेनन् । सौराहाका आकाश चन्द र सूवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय रीत गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । रीत १७ बलमा ४ चौका प्रहार गर्दै १९ रन बनाएर आउट भए । राजेशले ४८ बलमा ७ चौका प्रहार गर्दै ५१ रन बनाए । यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द ८ बलमा ७ रनमा नट आउट रहे । राप्तीका कमल थापाले २ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चिए । खेलको म्यान अफ दी म्याच राप्तीका कप्तान आकाश थापा घोषित भए ।

विजेता बनेको राप्तीले २ लाखसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता बनेको सौराहाले १ लाखमा चित्त बुझाएको छ । उता राप्तीका हरिबहादुर चौहान प्लेयर अफ दी सिरिज घोषित भए । उनले सीपीएलमा १३१ बलमा १५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्त्वपूर्ण ५ विकेट लिएका थिए ।

यस्तै राइट एन्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिताभर १३ ओभर ५ बल बलिङ गर्दै ७६ रन खर्चिएर ९ विकेट लिए । प्रतियोगिताभर ७३ बलमा १३१ रन बनाएका राप्तीका भीम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउन्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्त्वपूर्ण ८ विकेटसमेत लिए । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि वागमती प्रदेशका सांसद विजय सुवेदी र अतिथि राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा नारायणी एड्भर्टाइजिङ एन्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले सीपीएलको पहिलो संस्करण सफलता पूर्वक सम्पन्न भएको बताए । आगामी संस्करणलाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो ।

माघ १७ बाट सुरु प्रतियोगितामा चितवनका ५ टिम भरतपुर गुर्खाज, सौराहा स्यान्ड्स, राप्ती ¥यापिड्स, इच्छाकामना वारियर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सीपीएलको सहयोग आयोजकमा चितवन क्रिकेट संघ थियो ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज थियो । स्पोन्सरका रूपमा टेस्ला एयर कन्डिसन, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस प्रा.लि. चितवन थियो । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरका रूपमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro