
काठमाडौं । सोलुखुम्बुका मिलन कुलुङ र त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकाया रसुवामा भएको लाङटाङ ट्रेल रनमा च्याम्पियन भएका छन् ।
लाङटाङ क्याजिन भ्यालीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि सुरु लाङटाङ ट्रेल रनमा महिलातर्फ सुनसरी र पुरुषमा मिलन च्याम्पियन भएका हुन् । च्याम्पियन दुवैले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए ।
रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा ३२ किलोमिटरको उक्त ट्रेल रन सुरु भएको हो । मिलनले उक्त दुरी दुई घण्टा २६ मिनेट ४६ सेकेन्डमा पूरा गरे । तीन हजार ८५० मिटर उचाइमा रहेको क्याजिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रेस भएको थियो । पुरूषमा नै पाँचथरका विशाल राई एक मिनेटले पछि पर्दा दोस्रो स्थानमा सीमित भए ।
सोलुखुम्बुका अर्जुन कुलुङ राई भने तेस्रो भए । उनले भने दुई घन्टा २८ मिनेट दुरी पार गरे । काठमाडौंका किरनसिंह बोगटी चौथो स्थानमा रहँदा दुई घन्टा २९ मिनेटको समय निकाले ।
सुनसरीले दुई घण्टा ५५ मिनेट ४३ सेकेन्ड समयमा दुरी पार गरिन् । नेपाल पुलिस क्लबकी लाक्पा निमा शेर्पा दोस्रो स्थानमा रहिन् । उनको नाममा तीन घन्टा पाँच मिनेट समय रह्यो । खोटाङकी निर्मला राई तीन घन्टा १५ मिनेटमा तेस्रो र सोलुखुम्बुकी आङ फुर्पा शेर्पा तीन घन्टा ३८ मिनेट समयका साथ चौथो भए ।
ट्रेल रनका महिला र पुरुष दुवैले समान नगद पुरस्कार पाए । दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
ट्रेल रनमा ८६ पुरूष र १५ महिला गरी कुल १०१ धावकले प्रतिस्पर्धा गरेका थिए । उक्त ट्रेल रेसको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका थिए । संस्कृति तथा पर्यटन मन्त्रालय वाग्मती प्रदेश, नेपाल पर्यटन बोर्ड र गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा आयोजना भएको हो । लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।
लाङटाङ क्षेत्रलाई पदयात्राका साथै, दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ ।