site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटना बढेसँगै जांँचमा कडाइ

चितवन । अन्य समयमा भन्दा बढी रातिमा दुर्घटना बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको समन्वयमा सडक सुरक्षा सयुंक्त जांँच थालिएको छ । 

रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएकाले जांँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । ‘‘विगत ६ महिनाको तथ्यांंक हेर्दा रातको समयमा बढी दुर्घटना भएको पायौं,’’ उनले भने, ‘यसलाई न्यूनीकरण गर्न हामीले रात्रिकालीन समयमा कडाइ गर्न लागेका हौं ।’’ उक्त समयमा मापसे गरी चलाउने, चालक निदाउने, तीव्र गति, ट्राफिक नियम मिच्नेजस्ता कार्य बढी हुने गरेका छन् ।

Argakhachi Cement Island Ad

उनका अनुसार चितवनका दुर्घटना बढी हुने ८ स्थानमा प्रहरी र ट्राफिक ७ जनासम्मको टोलीले चौबीसै घण्टा निगरानी गर्नेछ । प्रहरीले १ महिनासम्म यस योजनालाई परीक्षणका रूपमा लिने र प्राप्त उपलब्धिका आधारमा अघि बढिने जनाएको छ । यसलाई प्रभावकारी बनाउन जिल्लाका ५५ ट्राफिक र प्रत्येक टोलीमा प्रहरीको समन्वयमा जांँच गरिँदै आएको भट्टले बताए । 

तथ्यांकअनुसार चालु आव माघको तेस्रो सातासम्म जिल्लामा १ सय ८३ दुर्घटनामा परि ८२ जनाको मृत्यु र ३ सय ७७ जना घाइते भएका थिए । तीमध्ये बिहान ६ देखि १२ बजेसम्म ३६ वटा, मध्यह्न १२ देखि सांँझ ६ बजेसम्म ५३ वटा, सांँझ ६ देखि रातको १२ बजेसम्म ६७ र रातको १२ बजेदेखि बिहान ६ बजेसम्म २७ दुर्घटना भएको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १२:१२
प्रतिक्रिया दिनुहोस्