चितवन । भरतपुर गोल्डकप फुटबलको दोस्रो संस्करण फागुन २४ देखि सुरु हुने भएको छ ।
एजे इन्टरनेसनलको आयोजनामा हुने प्रतियोगिता चैत ३ सम्म चल्ने आज (मंगलबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लब र मोफसलका ४ गरी १० टोलीको सहभागिता रहने एजे इन्टरनेसनलका सीईओ एवं भरतपुर गोल्ड कप संयोजक आलोकप्रताप राणाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने सबै टिमको टुंगो केही दिनभित्र लाग्ने उनले बताए ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक क्यालेन्डरमा रहेकाले एन्फाकै नियमानुसार एक टिमले बढीमा ३ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेको छ । प्रतियोगितामा सहभागी खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिएको हुने पर्ने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।
यसपटक प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । यसपटक विजेताले १० लाख र उपविजेताले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपको पहिलो संस्करणमा विजेतालाई ६ लाख तथा उपविजेतालाई ३ लाख पुरस्कार थियो ।
प्रतियोगितामा हरेक दिन म्यान अफ दी म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले ५० हजार तथा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले २० हजार प्राप्त गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने आयोजकको अनुमान छ । नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको लागि ३ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गर्न लागिएको छ । दुई सय क्षमताको भीआईपी प्याराफिट निर्माण गरिनेछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई खेल पर्यटनका माध्यमबाट सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगिताको सह–आयोजकमा चितवन जिल्ला फुटबल संघ छ ।