site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभरका आठ सरकारी अस्पतालमा नवजात शिशुको मृत्युदर घटाउन ‘सुसार’ कार्यक्रम

चितवन । नेपाल सरकारको नवजात शिशु मृत्युदर न्यूनीकरण गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यअनुसार सातै प्रदेशका आठवटा सरकारी अस्पतालमा सुसार कार्यक्रम सुरु गरिएकोे छ ।

नेपाल सरकारसंँग सहकार्य गरेर गोल्डेन कम्युनिटीले गत वैशाखबाट यो कार्यक्रम अस्पतालहरूमा सुरु गरेको हो । हालसम्म पांँचवटा अस्पतालमा कार्यक्रम लागु भइसकेको छ भने बांँकी अस्पतालमा पूर्व तयारीका काम भइरहेका छन् । 

गोल्डेन कम्युनिटीले सोमबार भरतपुमा आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा दिएको जानकारीअनुसार जनकपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली र सेती अस्पतालमा कार्यक्रम लागु भइसकेको छ । भरतपुर अस्पताल, कोसी अस्पताल र डडेलधुरा अस्पतालमा कार्यक्रम लागु गर्नका लागि तयारी भइरहेको छ । 

Argakhachi Cement Island Ad

कार्यक्रममा गोल्डेन कम्युनिटीकी सञ्चार विज्ञ सिर्जना शर्माले मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याई पहिलो दिनमा हुने नवजात शिशु मृत्युदर घटाउने, मातृशिशु स्याहारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई नवजात शिशु स्याहारासम्बन्धी ज्ञान तथा सीप बढोत्तरी गर्ने, प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्ने र सेवा प्रदान गर्न तथा उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई सशक्त बनाउन सुसार कार्यक्रम लागु गर्न लागिएको जानकारी दिइन् । 

उनका अनुसार हाल नवजात शिशुको मृत्युदर अनुपात ५० प्रतिशत कम गर्ने लक्ष्य सुसार कार्यक्रमको रहनेछ । कार्यक्रममा दिइएको जानकारी अनुसार हरेक वर्ष नेपालमा ६ लाख शिशु जन्मन्छन् जसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मिन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मिएको एक महिना नपुग्दै मर्ने गरेका छन् ।

नवजात शिशुको मृत्युका कारणमध्ये पनि महिना नपुगी जन्मनु ३१ प्रतिशत, जन्मनासाथ सास फेर्न नसक्नु २३ प्रतिशत र संक्रमण हुनु १९ प्रतिशत प्रमुख कारण हुन् ।

नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्यु प्रतिहजारमा २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मिने शिशुको दर प्रतिहजार १३ मा घटाउने लक्ष्य अघि सारेको छ ।

सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न सुसार कार्यक्रम गर्न लागिएको कार्यक्रम प्रबन्धक रेजिना गुरुङ्ग जानकारी दिइन् । कम्युनिटीले ती अस्पतालहरूमा स्वास्थ्यकर्मीलाई तालिम, शिशु कक्षमा चाहिने उपकरण लगायत सबै सेवा गरी नेपाल सरकारसंँग ४ करोड रुपैयांँ बराबरको सम्झौता गरेको छ ।

उक्त सम्झौता अवधि २ अवधिको हुने बताइएको छ । अस्पतालमा यस किसिमको सेवा आगामी चैत्रबाट सुरु हुने उनले जानकारी दिइन् । 

त्यस अवसरमा बोल्दै अस्पतालका प्रसूति विशेषज्ञ सुनीलमणि पोखरेलले विविध कारणले गर्भबाट मृत शिशु जन्मिने दर बढी रहे तापनि जन्मिएपछिका शिशुलाई बचाउन पनि उत्तिकै चुनौती रहेको बताए ।

उनका अनुसार विशेष गरी जनचेतनाको अभाव, अस्पतालको पहुंँच अभाव, सानै उमेरमा गर्भ रहनु र आर्थिक अभावका कारण गर्भमै शिशु मर्ने गरेका छन् । तर, जन्मिएका शिशुलाई बचाउन सुसार कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो ।

त्यस अवसमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले नवजात शिशु मृत्युदर न्यूनीकरण गर्नका लागि एक वर्ष अघिदेखि आमाको न्यानो माया (कंगारु मदर केयर) सञ्चालनमा समेत ल्याइएको बताए ।

अन्य अस्पतालमा भन्दा भरतपुर अस्पतालमा नवजात शिशुदर घट्दै गएको छ, उनले भने सुसार कार्यक्रमले थप मृत्युदर कम गर्न मदत गर्छ ।’  

नवजात शिशुभन्दा गर्भमै शिशु मृत्यु हुने दर उच्च

चितवन लगायत देशभर नवजात शिशुको मृत्युदर भन्दा गर्भमै शिशु मृत्यु हुने दर उच्च रहेको पाइएको छ । जसअनुसार भरतपुर अस्पतालमा पनि गर्भमै शिशुको मृत्यु हुने संख्या बढी रहेको तथ्यांक छ ।

अस्पतालले दिएको तथ्यांक अनुसार गत वर्ष  अस्पतालमा १३ हजार ५ सय ४५ जना महिला सुत्केरी भएको मध्ये १ सय ८५ जना शिशुको गर्भमै मृत्यु भएको थियो भने ३३ जना नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ ।

चालु वर्ष ६ महिनामा अस्पतालमा सुत्केरी हुन आएका मध्ये ९० जना शिशु मृत जन्मिएका थिए भने १४ जना शिशु उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर युवानिधि बसौलाले शिशु मृत्युदर बर्सेनि घट्दै गए पनि चुनौती उत्तिकै रहेको बताए ।

जनचेतनाको अभाव, कुपोषण, बालविवाह र नियमित जाँचको अभावमा गर्भमै शिशु मृत्यु हुने दर उच्च रहेको उनको भनाइ छ । देशभरको तथ्यांक अनुसार प्रदेश नम्बर २ मा सबैभन्दा बढी ३३ प्रतिशत शिशुको मृत्यु हुने गरेको छ भने सबैभन्दा कम प्रदेश नम्बर ३ का अस्पतालमा १८ प्रतिशत शिशुको मृत्यु हुने गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  २०:३५
प्रतिक्रिया दिनुहोस्