site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो लक्ष्य नेपाली टोलीलाई जिताउने : पारस 

काठमाडौं । घरेलु मैदानमा बुधबारबाट हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा पहिलो पटक हुन लागेको एकदिवसीय सिरिजका लागि नेपाली टोली पूर्ण रूपमा तयार छ । घरेलु समर्थकलाई खुसी बनाउने योजनामा नेपाली खेलाडीहरूले तयारी गरिरहेका छन् ।

नेपाली टोलीका तत्कालीन कप्तान पारस खड्का पनि नेपाली टोलीलाई घरेलु मैदानमा सफलता दिलाउने योजनामा छन् । 

१० वर्षसम्म नेपाली टोलीको कप्तानी सम्हालेका पारस नेपाललाई सफलता दिलाउने कुराबाट भने टाडा भएका छैनन् । नेपालले घरेलु मैदानमा खेल्न लागेको सिरिज ऐतिहासिक भएकाले यसलाई आफ्नो पक्षमा ल्याउने उनको लक्ष्य छ । 

“यो सिरिज हाम्रा लागि ठूलोभन्दा पनि ऐतिहासिक हो । घरेलु मैदानमा पहिलो एकदिवसीय हुँदैछ । हामी धरै मिहिनेत गरेर यहाँसम्म आइपुगेका छौं । हामीले यो सिरिजमा धेरै उत्तेजित हुनु भन्दा जितको अवसरलाई आफ्नो बनाउँदै घरेलु समर्थकलाई खुसी पार्ने लक्ष्य लिएका छौं ।

सिरिजका लागि सबै खेलाडीले मिहिनेत गरेर लागि परेका छौं । आशा छ, नतिजा हाम्रोतर्फ नै हुनेछ,” पारसले भने ।

ओमान र अमेरिकासँग हुन लागेको त्रिकोणात्मक सिरिज माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ । सिरिजमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गर्ने छन् । घरेलु मैदानमा हुन लागेको सिरिजमा सबै खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर पनि भएको पारसले बताए । 

“व्यक्तिगत रूपमा हरेक खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर आएको छ । हरेक खेलाडीले आफ्नो जिम्मेवारी लिने हो भने हामीलाई यो ऐतिहासिक माहोल आफ्नो बनाउने अवसर पनि छ । मैले पनि ओपनरका रूपमा प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने योजना बनाएको छु,” पारसले भने । 

सिरिज अन्तर्गत नेपालले पहिलो खेल २२ गते ओमानसँग खेल्दैछ । पहिलो खेलको नतिजानै आफ्नो पक्षमा पार्ने योजनामा नेपाल रहेको छ । माघ २५ गते नेपालले यूएसएसँग प्रतिस्पर्धा गर्दा २६ गते ओमान र अन्तिम खेल २९ गते यूएसएसँग खेल्दैछ । कप्तानीको जिम्मेवारी छोडेपछि पारसले पहिलो पटक एक दिवसीय क्रिकेट खेल्दैछन् ।

पहिलो पटक खेलाडीका रूपमा एकदिवसीय क्रिकेट खेल्न लागेका पारसले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने पनि बताए । साथै उनले एउटा कप्तान र खेलाडीका रूपमा केही फरक नआएको पनि बताए । 

“मैले कप्तानको जिम्मेवारीमा हुँदा र अहिले केही फरक पाएको छैन् । म एक खेलाडी भएको नाताले कसरी अफ्नो टिमका लागि उत्कृष्ट प्रदर्शन गर्ने भन्ने विषयमा नै सोच्छु । मैले आफ्नो तर्फबाट जे जति दिन सकिने हो मैदानमा दिने कोसिस गर्नेछु,” पासरले भने । 

पारसले टिममा कुन खेलाडीको कस्तो भूमिका रहेको छ भन्ने हेर्न भन्दा पनि सबैको लक्ष्य टिमलाई जिताउने भएको बताए । साथै पासरले अहिले नयाँ आएका खेलाडीका लागि पनि प्रमाणित गर्ने अवसर भएकाले उनीहरूले पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छन् ।

उनले त्रिवि क्रिकेट मैदानमा खेल्नु हाम्रा लागि सधैं रमाइलो र खुसीको कुरा भएको बताए । सबै खेलाडीको मनोबल उच्च रहेको बताए । 

“हामी सबैको लक्ष्य भनेको नेपाली टिमलाई कसरी जिताउने भन्ने हो । हामीले यो पटक घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको सुरुआत राम्रो तरिकाले गर्ने योजनामा छौं । म सधैं टिममा परिरहनेछु भन्ने पनि छैन । जबसम्म छनोटमा पर्नेछु त्यो बेलासम्म टिमका लागि उत्कृष्ट प्रदर्शन गर्नेछु,” पारसले भने । 

सिरिजमा सहभागी टोली यूएसए र ओमान पछिल्लो समयमा बलियो टोलीका रूपमा रहेका छन् । लगातार टि–ट्वान्टी क्रिकेट खेलेको नेपाललाई एकदिवसीय क्रिकेटमा केही असहज भने हुनेछ ।  

प्रतियोगिता अघिको अभ्यास... (फोटो फिचर)

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro