चितवन । चितवन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा राप्ती र्यापिडस र इच्छाकामना वारियर्स विजयी भएका छन् । नारायणगढको क्याम्पाचौरमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा राप्ती र्यापिडसले भरतपुर गुर्खाजलाई ५६ रनले पराजित गर्यो ।
टस जितेर पहिले व्याटिङ गरेको राप्तीले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । राप्तीका लागि भीम सार्कीले २६ बलमा ४९ रन, हरिबहादुर चौहानले ३५ बलमा ४३ रन बनाए । भरतपुरका लागि संघर्ष पौडेलले ३ र प्रतिस जिसीले २ विकेट लिए ।
१७३ रनको लक्ष्य पछ्याएको भरतपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन मात्रै बनाउन सक्यो । भरतपुरका लागि प्रतीक जिसीले ३९ रन, सनद बुढाथोकीले २१ रन लिए । राप्तीका लागि कप्तान आकाश थापाले ३ विकेट र रोमन गिरीले २ विकेट लिन सफल भए । प्रतियोगिताको म्यान अफ दि म्याच राप्तीका आकाश थापा भए ।
यस्तै आजै सम्पन्न पहिलो खेलमा इच्छाकामना वारियर्सले माडी टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर इच्छाकामनाले फिल्ड रोजेपछि व्याटिङमा उत्रिएको माडी टाइगर्स २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो ।
माडीका लागि सुरज चापागाँईले ४३ रन, कृष्ण कार्कीले १४ रन जोड्न सफल भए । माडीका सुरज लामाले २ विकेट लिए । १ सय रनको लक्ष्य पक्षाएको इच्छाकामनाका लागि लोकेश बमले २०, खिम मल्लले २४ र अमरसिंह रौटेलाले २३ रन बनाए । माडीका लागि राजकुमार शाहाले ३ विकेट लिए । प्रतियोगितामा इच्छाकामनाका दिपेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
इच्छाकामना दीपेश श्रेष्ठ तथा माडी किशोर महत्तोको कप्तानीमा मैदानमा उत्रिएको हो भने राप्ती आकाश थापा तथा भरतपुर संघर्ष पौडेलको कप्तानीमा मैदानमा उत्रिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुने आयोजक नारायणी एड्भर्टाइजिङ एन्ड इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरू भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिडस, माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख पाउनेछ ।
खेलको अन्य विधामा उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउन्डरले पनि पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । यसैगरी हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ ।
प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई व्यावसायिक लिग एभरेस्ट प्रिमियर लिग (इपीएल) को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था गरिने आयोजकको भनाइ छ ।