site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 धेरैदिन टिकेन ‘नेकपा–राजपा भाइ–भाइ’, फेरि समाजवादीतिरै ढल्कियो राजपा

जनकपुर । भर्खरै सम्पन्न भएको राष्ट्रियसभा चुनावमा नेकपासँग गठबन्धन गरी ‘नेकपा–राजपा भाइ–भाइ’ नारा लगाएको राजपा एक हप्ता नबित्दै समाजवादीतिर साइनो जोडेको छ । 

प्रदेशको नामाकरण विषयमा छलफल सुरु भएपछि मधेश क्षेत्रमा आधारित समाजवादी र राजपा एक ढिक्का भएको हो । 

“हेर्नुस्, पहिचान रहेन भने संघीयता पनि सुरक्षित रहँदैन । संघीयता नै टिकेन भने प्रदेशको नाउँको पनि कुनै अर्थ रहँदैन,” प्रदेश नामाकरण विषयमा सहमति जुटाउन बसेको प्रदेशसभा मातहतको विशेष समितिमा सहभागी नेकपा र कांग्रेसका प्रतिनिधिहरुसँग समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादवले भने । 

उनको भनाइमा हो मा हो थप्दै राजपाका सचेतक परमेश्वर साहले भने, “यो मुलुकमा संघीयता आएको मधेश आन्दोलनको जगमा हो । त्यसैले आन्दोलनको मर्म र सहिदको भावनालाई सम्मान गर्न पनि यस प्रदेशको नाउँ ‘मधेश प्रदेश’ हुनुपर्छ ।”

गत भदौ ५ गते प्रदेश २ को स्थायी राजधानीको लागि पाँच तथा नामाकरणको लागि चारवटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । 

उक्त प्रस्तावअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले सीमा क्षेत्र तोक्नेबारे समान्य मतान्तर भए पनि राजधानी जनकपुर नै हुनुपर्ने प्रस्ताव गरेका छन् । 

मधेशवादी दलका पर्सा जिल्लाबासी सांसदहरु तथा नेपाली कांग्रेसको एक पक्षले भने विरगंजलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

नामको सन्दर्भमा समाजवादी र राजपाले संयुक्त रुपमा ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने नेकपाले ‘जानकी प्रदेश’ को प्रस्ताव दर्ता गराएको छ ।

नेपाली कांग्रेसबाट दुईवटा नाम प्रस्ताव भएको छ, दलका नेतासहितको एक समूहले ‘मिथिला–भोजपुरा प्रदेश’ हुनुपर्ने प्रस्ताव ल्याएको छ भने कांग्रेसकै अर्को एक समूहले ‘मध्य मधेश प्रदेश’ प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयमा पार्टीपिच्छे स्थायी राजधानीको केन्द्र र प्रदेशको नामवारे फरक प्रस्ताव दर्ता भएपछि साझा सहमति कायम गर्न प्रदेशसभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गर्‍यो ।

उक्त समितिले निर्धारित एक महिनाको समयमा समान्य छलफल पनि गर्न नसकेपछि अर्को एक महिनाको समय थप गर्‍यो । 

गत माघ पहिलो साता बसेको उक्त समितिले राजधानीको विषयमा सहमति कायम गरेपनि नामाकरणवारे सुरु भएको बहस पेचिलो बन्यो ।

समितिले धनुषाको ढल्केवरदेखि दक्षिण, भारतीय सीमादेखि उत्तर र मध्यमा परिक्रमा सडकको दायराभित्र पर्ने पुर्व तथा पश्चिमको भागलाई राजधानी तोक्ने निर्णय गरेको छ । 

नामाकरणको लागि माघ १८ गते तेस्रो पटक समितिको बैठक बस्न लागेको छ । 

दोस्रो पटक माघ १३ गते बसेको बैठकमा प्रदेशको सत्तापक्षले उठाएको पहिचानको विषयवारे नेकपा र कांग्रेसमा दलभित्र छलफल गर्ने भनेको छ ।

माघ १८ गते बस्ने समितिको बैठकले नामवारे सहमति कायम गरे लगत्तै प्रदेशसभा बैठक बसेर नाम र राजधानी दुवै टुंग्याउने प्रदेशसभा सचिवालयका सचिव रंजीत यादवले जनाए । 
 
फाइल तस्बिर 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro