काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतबारको संसद बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
जुन प्रस्तावमा नेकपाकै देव गुरुङ, ओनसरी घर्तीमगर र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरे । गत असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त थियो । प्रतिनिधि सभाले करिब चार महिनापछि निर्विरोध नै सभामुख पाएको हो ।
सभामुखमा सापकोटाको मात्र उमेदवारी दर्ता भएको थियो ।
सभामुखमा सापकोटाको नाम प्रस्ताव गर्दै सुवास नेम्वाङले आफुहरुको चयन उपयुक्त भएको दाबी गरे । सभामुख चयनका लागि नेकपाले सापकोटालाई प्रस्ताव गर्दा प्रतिनिधिसभामा कसैले विकल्प अघि नसार्नुले सापकोटाको उमेदवारी उपयुक्त भएको पुष्टि भएको उनको भनाई थियो ।
सापकोटाले सिंगो संसदलाई विश्वासमा लिएर अगाडी बढ्ने विश्वास पनि व्यक्त गरे ।
त्यस्तै, सापकोटाको उमेदवारीमा समर्थन गर्दै नेकपा सांसद ओनसरी घर्तीमगरले सभामुखमा सर्वसम्मतीको अवस्था बनेकोमा खुशी व्यक्त गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित सबै दललाई धन्यवाद दिइन् । सापकोटा सभामुख बन्दा शान्तिप्रक्रियाको बाँकी काम पुरा गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
उपसभामुख माग्दैनौं : कांग्रेस
नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले आफुहरुले कमण्डलु लिएर संसदमा उपसभामुख नमाग्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबार सभामुख निर्वाचनका विषयमा पार्टी संसदीय दलको निर्णय जानकारी गराउँदै कांग्रेसले उपसभामुखको बार्गेनिङ नगरेको बताएका हुन् ।
कांग्रेसले सभामुखमा उमेदवारी नदिएको भन्ने कुराको खण्डन गर्दै उनले भने, “कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्न संसदमा उपस्थित छैन । कमण्डलु लिएर आएका छैनौं प्रष्ट होस् ।”