काठमाडौं । अहिले पछिल्लो समयमा चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अमेरिकासम्म पुगेको छ ।
नेपालमा पनि यो भाइरसको जोखिम बढी रहेको विज्ञहरु बताउँछन् ।
कोरोना भाइरस के हो ? यसबाट कसरी बच्ने ?
डा. रवीन्द्र समीरले सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना भाइरस के हो र कसरी बच्न सकिन्छ भन्नेबारेमा उल्लेख गरेका छन् ।
हेरौं, उनले सामाजिक सञ्जालमा कोरोना भाइरसका बारेमा राखेको जानकारी :
कोरोना भाइरस संक्रमण : सतर्क बनौं
नोबेल कोरोना भाइरस अहिले चीनमा फैलिएको छ भने जापान, दक्षिण कोरिया, थाइल्याण्ड लगायतका देशमा पनि देखा परेको छ | यो भाइरस जनावरबाट मानिसमा सर्छ | त्यसपछि खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्छ | छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ |
यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ | संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ | यो रोगको खास उपचार छैन |
नेपालमा चिनियाँ पर्यटक तथा अन्य संक्रमण फैलिएका देशका पर्यटक आइरहेका छन् | सरकारले एयरपोर्टमा २ जना स्वास्थ्यकर्मी राखेको छ | त्यहाँ रोग लागेको तुरुन्त पत्ता लगाउने कुनै संयत्र छैन | कोरोना भाइरस हवाइजहाज चढेर तथा इमिग्रेसन पास गरेर नेपालमा आउने सम्भावना धेरै छ | तसर्थ एयरपोर्टमा चौबिसै घण्टा प्रभावकारी परीक्षण र शंकास्पद यात्रुलाई सिधै टेकु अस्पताल लैजाने ब्यवस्था मिलाउनु जरुरी छ |
नेपालमा कोरोना भाइरस देखा परेमा अकल्पनीय अवस्था आउन सक्छ | त्यो अवस्था रोकथामको लागि सबै सचेत बनौं | स्वस्थ जीवनशैली अपनाऔं, संक्रमण रोक्न सतर्क बनौं |