अघिल्लो साता (गएको मंगलबार) बेलायतको लन्डनमा नेपालका एक कूटनीतिज्ञको हृदयाघातका कारण गुमनाम मृत्यु भयो । साथी र केही चिनेजानेकाले उनलाई सामाजिक सञ्जालमा समवेदना दिएको देखियो । सञ्चारमाध्यममा खासै समाचार आएनन् । तर, उनी चर्चा गर्नै अयोग्य पात्र भने होइनन् । उनी नेपालका परराष्ट्र सचिव र संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा बेलायतका लागि राजदूत रहिसकेका व्यक्ति– मुरारीराज शर्मा हुन् ।
उनी नेपालको सोह्रौं परराष्ट्र सचिव हुन् भने अहिलेका परराष्ट्र सचिव शंकर बैरागी २३औं हुन् । मुरारी सन् १९९७ देखि २००० सम्म परराष्ट्र सचिव भएका थिए । उनीपछि नारायणशमसेर थापा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, मदन भट्टराई, दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा र अहिलेका शंकर बैरागी सचिव भएका हुन् ।
हुन त यो पंक्तिकारले पत्रकारिताको सिलसिलामा परराष्ट्र मन्त्रालयको रिपोर्टिङ थाल्दा केदारभक्त श्रेष्ठ (१९९३—९७) चौधौं सचिव थिए । नेपालमा लोकतन्त्र आएपछि नरेन्द्रविक्रम शाह, यादवकान्त सिलवाल, केदारभक्त श्रेष्ठ, कुमार ज्ञवालीपछि पाँचौं परराष्ट्र सचिवका रूपमा मुरारीले काम गरेका थिए ।
मुरारीसँग ‘गाउँले दाइ’ भएको पंक्तिकारसँग नाता थियो । भोजपुरको दिङ्लामा त्यतिबेला केउरेनीपानी गाविसको वडा २ मा पर्ने लम्सुवा वितलबमा कविराजको परिवार भनेपछि सबैले चिन्छन् । मुरारी सोही परिवारका एक सदस्य हुन् । उनी पनि अधिकारी हुन् तर शर्मा लेख्थे । त्यहाँका अधिकारीहरूलाई बालागुरु षडानन्द अधिकारीको सिंगो छाताले चिनाउने गरेको छ । षडानन्द अधिकारी पूर्वी नेपालमा मात्रै होइन विदेशमा पनि शिक्षाको ज्योति फैलाएका कारण चर्चित छन् । उनले खोलेको विद्यालयमा पढ्न भुटान र भारतदेखिका मान्छे आउने गर्थे ।
मुरारी र पंक्तिकार जन्मेको तल्लो घर माथ्लो घर भए पनि उनीसँग परिचय भने काठमाडौं आएरै भएको थियो । पंक्तिकारले लामै समय उनकै क्षेत्रमा रिपोर्टिङ गरेकाले पनि उनीबारे बुझ्न अझ सजिलो भएको थियो ।
मुरारीसहित केही कूटनीतिज्ञको पारा अलि अचम्मको लाग्थ्यो । तिनमा एकजना प्रदीपकुमार खतिवडा थिए भने अर्को मुरारी । उनीहरू खुलेआम लोकतान्त्रिक आन्दोलनको पक्षमा लागेका थिए । खतिवडा धेरै ठाउँबाट धेरैपटक ‘रिकल’ मा परेका थिए । मुरारी पनि बेलायतको राजदूत हुँदा पछिल्लोपटक ‘रिकल’ मा परे । उनी शरणार्थी भएर बेलायतमै बसे ।
त्यसको नेपाली मिडियामा निकै आलोचना पनि भयो । तर, उनले मलाई त्यस प्रसंगमा केही फरक कुरा बताएका थिए । लोकतान्त्रिक आन्दोलनमा यत्रो राजतन्त्र फालिए पनि नेताहरूको शैली देखेर उनले चित्त दुखाएका थिए । ‘‘यी नेताहरू अझै पनि आफूलाई दाम चढाउन् भन्ने ठान्छन्,’’ उनले भनेका थिए, “हामीले राजतन्त्र फाल्यौं तर अझै पनि उही पारा देखियो । फ्यांकफर्टमा गएका बेला आएन भनेर प्रधानमन्त्री रिसाए रे । दाम चढाउन जानुपर्ने जस्तो गर्छन् ।’’
उनको संकेत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित थियो । प्रचण्ड पहिलो संविधानसभा निर्वाचनमा पार्टीले बहुमत ल्याएपछिको राप र तापका प्रधानमन्त्री थिए । सन् २००८ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क गएको समयमा जर्मनीको फ्यांकफर्टमा युरोपका राजदूतलाई सम्बोधन गर्ने कार्यक्रम बनेको रहेछ । मुरारी गएनछन् ।
पूर्व परराष्ट्रसचिव मदनकुमार भट्टराईसमक्ष यसबारे जिज्ञासा राख्दा उनले पनि मुरारी त्यहाँ नगएको जानकारी दिए । कारण के होला ? कारण रहेछ– तत्कालीन पर्यटनमन्त्री हिसिला यमी बेलायत भ्रमणमा गएकी रहिछन् । उनलाई छाड्न नहुने यस्तै केही बाध्यता राजदूतलाई परेको रहेछ ।
मुरारीका लागि फ्यांकफर्टको निप्पन होटलमा रातको सय डलर पर्ने कोठा पनि लिइएको रहेछ । तर, उनी गएनछन् । भट्टराईका अनुसार राजदूतहरूलाई सस्तो खालको र प्रधानमन्त्रीलाई विशेष खालको होटलको प्रबन्ध गरिएको रहेछ ।
मुरारीको ‘कुस्ती’ दोस्रोपटक पनि प्रचण्डसँग अर्कै घटनामा पनि परेको थियो । प्रधानमन्त्री प्रचण्डले सन् २००९ को मार्च २९ देखि ३१ सम्म नर्वेको भ्रमण गरेका थिए । बेलायतका लागि नेपालका राजदूतले नै नर्वे पनि हेर्ने भएकाले प्रधानमन्त्रीको भ्रमणमा जानुपर्नेमा उनी त्यहाँ पनि गएनछन् । त्यतिबेलाको कारण नर्वेका राजासँग उनले ओहदाको प्रमाणपत्र नै बुझाएका रहेनछन् । ओहोदाको प्रमाणपत्रमा परराष्ट्रमन्त्री उपेन्द्र यादवले हस्ताक्षरै नगरिदिनुले समस्या निम्तिएको रहेछ ।
‘‘प्रधानमन्त्रीलाई कसैले केही सुनायो होला परराष्ट्र मन्त्रालयले पछि फिर्ता हुन पत्र पठाएको मलाई जानकारी छ,’’ मदनले पंक्तिकारसँगको कुराकानीमा भने ।
मुरारीको बानी कस्तो भने चिनजानका मान्छे भए पनि समाचार चुहाउँदैन थिए, साह्रै चाम्रा मान्छे । पत्रकारितामा सुरुको समय भएकाले कहिलेकाहीं रिस पनि उठ्थ्यो । चिनजानको मान्छे भएर पनि कति असहयोगीजस्तो लाग्थ्यो । तर, पछि कुरा बुझियो । संवेदनशील मन्त्रालय भएका कारण सबै कुरा खोल्न नहुने पनि हुँदा रहेछन् । यस्तो समय आयो भित्रका समाचार के हुँदै छ भनेर पंक्तिकारसँगै कर्मचारीले सोध्थे । सचिव आफैं छक्क पर्थे कहाँबाट समाचार गयो भनेर ।
उनले नभने पनि कहिलेकाहीं उनका कतिपय समाचार आउँदा दंग पर्थे । कसरी लिनुभयो ? भनेर सोध्थे । ‘स्रोत खोल्न मिल्दैन’ भन्ने जवाफ दिएपछि मुस्कुराउँथे । सरकारी मान्छेको भ्रम कस्तो भने ‘मैले समाचार दिइनँ भने यो पत्रकार बेरोजगार हुन्छ’ भन्ने मान्यता राख्ने । त्यसैले ‘यसले समाचारका लागि चाकडी गरिरहे हुन्थ्यो’ भने झैं गर्ने पनि हुन्छन् । तर, कहाँ त्यस्तो हुनु ? गौंडा गौंडाका मान्छेले सम्पर्क गर्छन् पत्रकारलाई । गेटदेखि मन्त्रीका पीएसम्म र सहसचिवसम्मले । कागजातै फोटोकपी गरेर पठाउँथे । सचिव वा प्रवक्ता भनेका त समाचारलाई औपचारिकता दिनका लागि कोट गराएर ‘होइन वा हो’ भन्नका लागि मात्रै थिए ।
मुरारी ‘सार्प’ थिए लेखनमा । नेपाली र अंग्रेजी दुवै निकै राम्रो थियो । उनी परराष्ट्र सचिव भएका बेलामा भुटानी शरणार्थीबारे वार्ता चलिरहेको थियो । भारतीय विमान अपहरण प्रकरणलाई पनि उनले सफलतापूर्वक सोही समयमा अवतरण गराएका थिए । कहिलेकाहीं भेट भइरहन्थ्यो । विशेषसचिव नारायणशमशेर र सचिव मुरारीले कुन पत्रिका कति छापिन्छ ? कुन एफएमको कति क्षमता छ ? भन्ने प्रश्न स्थायी पाराले सोधिरहन्थे । “राजदूत कता खाली छ र को जाँदै छ भन्ने समाचारमा तपाईहरू नलाग्नुस् । विदेशमा त यो समाचारै होइन’’ पनि भन्थे ।
जनआन्दोलन–२ पछि परराष्ट्र मामिला सुधारको एउटा कार्यदलको प्रमुख पनि मुरारीलाई बनाइएको थियो । उनले प्रतिवेदन बुझाउने बेलामा साँझतिर पत्रकार सम्मेलन गरेको याद छ । केही देशमा दूतावास खोल्नुपर्ने र राजनीतिक तथा कूटनीतिक क्षेत्रका मानिसलाई आधा–आधा राजदूत बनाइनुपर्ने भनेर सुझाव दिने उनै थिए । सायद ती सुझाव अहिले क्रमशः लागु हुँदै गएका छन् । उनलाई मध्य बानेश्वरतिर कहिलेकाहीं ‘पालीवाल क्याप’ लगाएर पैदल हिँड्दै गरेका बेलामा पनि भेटेको थिएँ । उनी कस्तो छ ? भनेर जिज्ञासा राख्थे र उभिएरै देशको बारेमा केहीबेर चर्चा गर्थे ।
एकपटक यदुनाथ खनाल, दामोदरप्रसाद गौतम (अमेरिकामा गिरिजाप्रसाद कोइरालाले सीएनएनको अन्तर्वार्तामा भुटानी शरणार्थीको संख्या गलतभन्दा कारबाहीमा परेर फिर्ता बोलाइएका अमेरिकाका लागि नेपाली राजदूत) र त्यतिबेला संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि रहेका मुरारीसँग मित्र व्याकुल पाठक र मैलै परराष्ट्र मामिलासम्बन्धी एउटा म्यागेजिनमा विशेषांक निकालेका बेलामा छुट्टाछुट्टै भेटेका थियौं ।
मुरारीले न्युरोडको एउटा होटलमा भेटौं भने । हामीले त्यहाँ झन्डै डेढ घण्टा जति कुरा गर्यौं । निस्कने बेलामा हामीले (व्याकुल र मैले) खाजा खाएपछि उनी ‘रेस्ट रुम’ गएका बेलामा रेस्टुरेन्टको बिल तिर्यौं । आएपछि उनले बिल तिर्न खोजे । रेस्टुरेन्ट वालाले दिइसकेको भन्यो । उनले ‘म दिन्थे किन हतार गर्नुभएको’ भने । हा
मीले ‘होइन हाम्रो लागि आउनुभएको हामी नै दिन्छौं’ भन्यौं । उनले ‘प्रोफेसनल हुनुहुँदो रहेछ युरोप अमेरिकाका मिडियाले पनि अतिथिलाई पैसा तिराउँदैनन्’ भने । तपाईंहरूप्रति ‘गर्व लाग्यो’ पनि भने । हामी मुस्कुरायौं । त्यसपछि लामो कुराकानी हुन पाएको थिएन । अहिले अमेरिकामा रहेका व्याकुलसँग उनको निधनको बारेमा हालै कुरा गर्दा सोधेको थिएँ, ‘‘त्यतिबेलाको फोटो छैन ?’’ व्याकुलले भने, ‘‘त्यतिबेला कहाँ अहिले जस्तो मोबाइल थियो र ?’’
उनी कहिलेकाहीं राष्ट्रिय हितका लागि न्युज एंगल के हुन्छ ? भनेर पनि पत्रकारलाई सिकाउँथे । अरू सचिवले त्यो तहमा कुरा गरेको याद छैन । मैले सार्कका केही शिखर सम्मेलनमा जाँदा भारत वा पाकिस्तानका विदेश सचिवहरूले आफ्नो देशका मिडियालाई कसरी अर्को पक्षलाई प्रश्न गर्ने भनेर सिकाइरहेको देखेको थिएँ । मुरारीले पनि कहिलेकाहीं त्यसो गर्न खोजेको देख्थें । अनि अर्को उनले भन्ने गरेको कुरा सम्झन्छु ।
उनी भन्थे, ‘‘हाम्रो देशका मान्छे धेरै विदेश भ्रमणमा जानुभन्दा विदेशका मान्छेलाई ल्याउनु महत्त्वपूर्ण हुन्छ ।’’ किन भनेर सोध्दा उनी भन्थे, ‘‘हाम्रा मान्छे जाँदा खर्च मात्रै हुन्छ । विदेशी मिडियामा स्थान पनि दिँदैनन् । हाम्रोमा विदेशका मान्छे आउँदा विदेशमा ठूलो कभरेज पाउँछ । त्यसले पर्यटन प्रवद्र्धनमा मद्दत गरिरहेको हुन्छ ।’’
१ अप्रिल १९५१ मा जन्मेका मुरारीको ६८ वर्षको उमेरमा मृत्यु भएको हो । उनी १९७७ मा निजामती सेवामा प्रवेश गरेका थिए । अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालय हुँदै उनी सन् १९९२ मा परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका हुन् । उनी उपसचिवका रूपमा परराष्ट्र पुगेका थिए ।
उनी कथा लेखक पनि हुन् । प्रतिस्पर्धी धेरैलाई पछि पारेर ‘बोस’ बनेका कारण उनीप्रति डाह गर्ने पनि नभएका होइनन् । उनी संयुक्त राष्ट्रसंघको एड्भाइजरी कमिटी तथा एडमिनिस्ट्रेसन र बजेटरी कमिटीका सदस्य पनि भएका थिए । उनी ‘रिइन्भेन्टिङ द युनाइटेड नेसन्स’ का लेखक पनि हुन् ।
१२ फेब्रुअरी २००८ मा बेलायतकी महारानीसँग उनले ओहदाको प्रमाणपत्र बुझाएका थिए । २००९ मा उनलाई लोकतान्त्रिक सरकारले ‘रिकल’ गरेको थियो । त्यसअघि राजदरबार पनि उनीसँग निकै क्रूद्ध थियो । किनकि उनी माघ १९ को कदमपछि खुलेर त्यसविरुद्ध लागेका थिए । उनले थुप्रै लेख नै लेखेर सो कदमको विरोध गरेका थिए ।
मुरारीको निधनबारे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले लेखेको फेसबुक स्ट्याटसले पनि धेरै कुरा बोलेको छ । उनले लेखेका छन्, ‘‘वरिष्ठ कूटनीतिज्ञ मुरारीराज शर्माको असामयिक निधनको खबरले स्तब्ध भएको छु । सन् १९९९ मा श्रीलंकामा भएको सार्क परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिँदा परराष्ट्र सचिव शर्मा मसँगै हुनुहुन्थ्यो । उहाँको योग्यता, लगनशीलता र कर्तव्यपरायणताबाट म प्रभावित भएको थिएँ । उहाँसँग मेरो पछिल्लो भेट सन् २००५ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सयुक्त राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन जाँदा मेरो विरोधमा आयोजित जुलुसको नेतृत्व गरिरहेको अवस्थामा भएको थियो । राष्ट्रसंघ भवनअगाडिको सडकमा प्रदर्शन गरीरहेका कूटनीतिज्ञ मुरारीराजसँग मेरो अन्तिमपटक कुरा भएको अहिले सम्झिरहेको छु । सुन्दर लेखनका धनी, लामो अनुभवका खानी मुरारीप्रति हार्दिक श्रद्धाञ्जली ।’’
सामान्य जीवन र उच्च विचारका प्रतीक मानिने मुरारी मादक पदार्थ सेवन गर्दैनथे । पार्टीहरूमा अरूले ड्रिंक्स गर्दा उनी फ्यान्टा भएको गिलास लिएर बसिरहेका देखिन्थे । एकपटक ठट्टा गरेर पंक्तिकारले सोधेको थियो, ‘‘ड्रिंक्स नगर्दा अप्ठ्यारो हुन्न सचिव ज्यू ?’’ उनले ठट्टामै जवाफ दिएका थिए, ‘‘हुँदैन झन् सजिलो हुन्छ ।’’
कसरी ? प्रश्नमा उनको जवाफ थियो, ‘‘उनीहरू मातेर के–के भनिरहेका हुन्छन् । म मातेको हुन्न झन् कुरा बुझ्न सजिलो हुन्छ ।’’
अल बिदा मुरारी दाइ !