
सार्वजनिक स्थानमा मन्त्रीको तस्बिरमा जुत्ता हान्नेलाई पक्राउ गर्दै प्रहरी । तस्बिर सौजन्यः घनश्याम मिश्र
जनकपुर । गत आर्थिक वर्षमै सम्पन्न गरेको योजनाको भुक्तानी नदिएको भन्दै प्रदेश मन्त्रीहरुको तस्बिरमा जुत्ता हान्ने ठेकेदारसहित आधा दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार जनकपुरको जिरोमाइलस्थित सार्वजनिक स्थानमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको तस्बिरमा जुत्ता हान्ने कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमका आयोजक स्थानीय रोशनसिंह राना, विमलेश चौधरी, शंकर साह र रोशन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमध्ये रानासमेत अधिकांश निर्माण व्यवसायी हुन् । उपभोक्ता समितिमार्फत काम गराएको र आर्थिक वर्ष समाप्त भएको छ महिनासम्म पनि बजेट निकासा गर्ने ग्यारेन्टी नगरेको भन्दै उनीहरुले विरोधस्वरुप उक्त कार्यक्रम आयोजना गरेको बताएका छन् ।
‘असक्षम सरकारका असक्षम मन्त्री, उपभोक्ताको पैसा कहिले ?’ लेखिएको मुख्यमन्त्री तथा मन्त्रीहरुसहितको तस्बिर अंकित व्यानरमा उनीहरुले जुत्ता हानेर विरोध प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनको अगुवाइ गरेका राना राजपाका केन्द्रीय सदस्य हुन् भने अन्यहरु पनि राजपाकै कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । गत आवमा प्रदेश सरकार मातहत सम्पन्न भएका ८ सय ४२ वटा योजनाको ८६ करोड ४९ लाख ३५ हजार ४५ रुपैयाँ भुक्तानी बाँकी छ ।
ती मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयका २०६ योजनाको ३२ करोड ८८ लाख ७४ हजार २५४ रुपैयाँ, सामाजिक विकास मन्त्रालय अन्तरगतका २५६ योजनाको २७ करोड ७३ लाख २० हजार ४११, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको १६८ योजनाको ९ करोड २० लाख ६४ हजार ९५०, कृषि मन्त्रालय अन्तर्गतका १० योजनाको १ करोड ५८ लाख ९९ हजार ७१५ रुपैयाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २०२ योजनाको १५ करोड ७ लाख ७५ हजार ७१३ रुपैयाँ निकासा माग गर्दै सांसदहरुले करिब छ महिनादेखि प्रदेशसभा पनि अवरुद्ध गर्दै आएका छन् ।