काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने विषय विवादमै छ । नेकपाभित्रका पूर्व एमाले र पूर्व माओवादी खेमा दुवैले सभामुख आफूले पाउनुपर्ने अडान राखेपछि सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ ।
यसैबीच बुधबार विराटनगर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखबारे अनिर्णित नेकपालाई लक्षित गर्दै कांग्रेसले सभामुख चलाइदिने बताए । “नेकपाले सभामुखको विषयलाई लिएर संसद चल्न दिएको छैन । उनीहरूले मिलाउन नसके हामीलाई दिए हुन्छ,” कांग्रेस संसदीय दलका नेता देउवाको टिप्पणी थियो ।
सभामुखका बारेमा नेकपा निष्कर्षमा नपुग्दा संसद् प्रभावित बन्न पुगेको छ । संसद् बैठक ३ पटक सूचना टाँस गरेर स्थगन भइसकेको छ । माघ ६ गतेका लागि अर्को बैठक आह्वान गरिएको छ । संसद् सचिवालयका अनुसार अब बस्ने संसद बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयन पनि छ ।
कांग्रेस के गर्छ ?
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सभामुख नेकपाले नछाड्ने बताउँछन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुखमा कांग्रेसले उमेदवारी दिने तयारी थालेको बताए । “सभामुखमा कांग्रेसले उमेदवारी दिन्छ । कसलाई उठाउने हामी सभामुख चयन प्रक्रिया अघि बढेपछि निर्णय गर्छौं,” उनले भने ।
संसदको अंकगणित कमजोर रहेको कांग्रेसले सभामुख पाउने अवस्था छैन । जसले गर्दा कांग्रेसभित्र सभामुखको उमेदवार कसलाई बनाउने भन्ने छलफल नै भएको छैन । कांग्रेस सचेतक खाँण पार्टीभित्र उमेदवारका बारेमा छलफल नभएको स्वीकार्छन् । “सत्तासिन दलको अनिर्णयका कारण बैठक रोक्न हुँदैन । सदनको माध्यमबाट जनताका मुद्दालाई राख्ने हो ।
जनप्रतिनिधिले जनताका बारेमा बोल्न पाएनन्,” खाँणको जोड संसद चलोस् भन्नेमा छ । सरकार संविधानको प्रतिकुल क्रियाकलाप गरिरहेको र जनताको दैनिक जीवनसँग सरोकार राख्ने विषयसँग सरकारलाई खासै वास्ता नगरेको उनी बताउँछन् । संसद छिटो खुल्नुपर्नेमा उनको जोड छ ।
उपसभामुखको राजीनामा पछि मात्र सभामुख चयन प्रक्रिया
नेपाली कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया उपसभामुखमा तुम्बाहाङ्फेलाई कायमै राखेर हुन नसक्ने बताएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत उपसभामुखकै नेतृत्वमा सभामुख चयन हुन नसक्ने बताउँछन् । “उपसभामुख कायम राखेरै प्रक्रिया अघि बढाए सभामुख कांग्रेसलाई दिनुपर्छ भन्ने हाम्रो कुरा हो । चाँडोभन्दा चाँडो टुंगियोस् भन्ने हामी चाहन्छौं,” उनले भने ।
संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने व्यवस्था छ । उपसभामुखले राजीनामा नगर्ने हो भने सभामुख अर्को दलको हुनुपर्ने महत बताउँछन् । “होइन भने उपसभामुखले राजीनामा गरेर सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ,” उनले भने । सत्तारुढ दल नेकपाको सविालयले समेतख तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले अस्विकार गर्दै आएकी छन् ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख पूर्व एमाले कि पूर्व माओवादीले लिने कुरा नमिल्दा तुम्बाहाङ्फेको राजीनामा टर्दै आएको छ ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुखको अनुपस्थितिमा उपसभमुखले बैठकको अध्यक्षता गर्नसक्ने व्यवस्था छ ।
जसअन्तर्गत पुस ४ गते उपसभामुख तुम्बाहाङ्फेले अध्यक्षता गर्दै संसदको पाँचौं अधिवेशन प्रारम्भ गरेकी थिइन् । बैठकको अध्यक्षता गर्न सके पनि उनको नेतृत्वमा सभामुख चयन प्रक्रिया अघि बढ्न नसक्ने कांग्रेसको निष्कर्ष छ । तुम्बाहाङ्फेले सभामुखको प्रक्रिया अघि बढाए नेकपाको उपसभामुख भएको मानिने हुँदा सभामुख कांग्रेसले पाउनुपर्ने महत बताउँछन् ।
“अहिले त्यस्तो उमेदवार बनाउने विषय पार्टीमा चर्चा भएको छैन । अहिले यो सरकारले पटक–पटक सदनलाई बन्धक बनाएर सरकारले तमासा देखाइरहेको अवस्था छ । यसको तत्काल अन्त्य चाहन्छौं ।