काठमाडौं । लामो समय संघर्ष गरेर पनि धेरैले सफलता पाउन सक्दैनन् । केहीले भने छोटै समयमा उपलब्धि हासिल गर्छन्– त्यो पनि निकै लोभ लाग्दो तरिकाले । चलचित्र र संगीतमा यस्ता केही व्यक्ति छन्, जो बाल्य अवस्थामै सफल भए । भारतमा कला क्षेत्र हरेक व्यक्तिको पहिलो रोजाइमा पर्ने भएकाले कैयौं बालबालिका सेलिब्रिटी बन्छन् । तर नेपालमा भने कला साहित्यमा भविष्य नरहेको भन्दै सन्तानलाई यो क्षेत्रमा अभिभावकले प्रोत्साहन गर्दैनन् । परिणाम सानै उमेरमा उच्च सफलता पाउनेको संख्या निकै कम छ ।
सलोन बस्नेत, अनुभव रेग्मी, राज आचार्य, कमला घिमिरे, अशोक दर्जी, तेरिया मगर, प्रेम परियार, आयुष केसी, प्रितम आचार्य, सेड्रिना शर्मा प्रतिनिधि हुन् । यी सबै सानै उमेरमा त्यो पनि निकै छोटो समयमा लोकप्रिय हुने कलाकार हुन् ।
सलोन बस्नेत
सलोन बस्नेत चलचित्रमा बाल कलाकारका रूपमा सफलता हात पार्ने कलाकार हुन् । उनले चलचित्र ‘नेपाली बाबु’बाट बाल कलाकारका रूपमा अभिनय आरम्भ गरेका थिए । निर्देशक शोभित बस्नेतका छोरासमेत रहेका सलोनले दर्जनौं चलचित्रमा बाल कलाकारका रूपमा अभिनय गरे । उमेर बढ्दै गएपछि केही वर्ष चलचित्रबाट टाढिएका उनी ‘होस्टल’ बाट डेब्यु गरेका थिए । अहिले उनी विभिन्न चलचित्रमा काम गरिरहेका छन् ।
अनुभव रेग्मी
अनुभव रेग्मी पनि सानै उमेरमा राम्रो सफलता पाउने कलाकार हुन् । चलचित्रमा बाल कलाकारको भूमिकामार्फत उनले आफूलाई परिचित गराएका हुन् । विकास आचार्यको चलचित्र ‘रिदम’ बाट उनले डेब्यु गरेका थिए ।
तिनै अनुभव अहिलेका लोकप्रिय कलाकार बनिसकेका छन् । ‘रिदम’सँगै उनले ‘काली’, ‘नाइँ नभन्नु ल २’, ‘नाइँ नभन्नु ल ३’, ‘नाइँ नभन्नु ल ४’, ‘ए मेरो हजुर २’, ‘भैरे’, ‘हजार जुनीसम्म’ लगायत चलचित्रमा काम गरिसकेका छन् । थुप्रै टेलिचलचित्र र फिचर फिल्ममा अभिनय गरेकी कविता रेग्मी र अरुणका छोरा हुन् अनुभव ।
राज आचार्य
हास्य टेलिशृंखला ‘तीतो सत्य’ बाट कलाकारितामा प्रवेश गरेका हुन् राज आचार्य । बाल कलाकारका रूपमा ‘तीतो सत्यमा प्रवेश गरेका राज छोटो समयमै लोकप्रिय भए । तत्कालीन समयमा लोकप्रिय रहेको ‘तीतो सत्य’ का कारण पनि उनलाई सहज भएको थियो । उनले दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको चरित्र निभाएको थिए ।
राज अहिले कलाकारितामा छैनन् । राज कलाकार शंकर आचार्यका छोरा हुन् । शंकर चलचित्रसहित विभिन्न टेलिशृंखलामा काम गर्दै आएका छन् ।
अशोक दर्जी
सडकमा गीत गाउँदा–गाउँदै चर्चित भएका गायक हुन् अशोक दर्जी । झापाका सडकमा गीत गाउँदा गाउँदै उनको गायन प्रतिभा विभिन्न युट्युब च्यानलमार्फत बाहिर आएपछि उनलाई गायक टंक बुढाथोकीले काठमाडौं ल्याएर गाउने अवसर जुटाइदिए । त्यसपछि अशोक चर्चामा आए ।
निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका उनले गीत गाउन पाए । देश–विदेशमा रहेका विभिन्न व्यक्तिको सहयोगमा उनको घर पनि पक्की बन्यो । उनले पढ्न पाएका छन् । ‘मनविनाको धन ठूलो...’, र ‘चौंरीको चाम्रो छुर्पी...’ अशोकले गाएका गीत हुन् ।
कमला घिमिरे
धादिङकी कमला घिमिरे पनि गायनबाटै अगाडि बढेकी प्रतिभा हुन् । ११ वर्षको उमेरमै उनले आम नेपालीबीच आफ्नो प्रतिभा पु¥याइन् । प्रत्यक्ष दोहोरीमा दशकौं बिताएका अब्बल मानिने गायक–गायिकासँग लाइभ दोहोरी गाएर कमलाले आफ्नो पहिचान बनाएकी हुन् ।
छिनमै दोहोरीका टुक्का फुराउन सक्नु उनको प्रतिभा हो । यही कारण अहिले उनलाई स्टेज कार्यक्रममा भ्याइनभ्याई छ । दोहोरी गीत पनि रेकर्ड गराइसकेकी छिन् । हजारौं दर्शकका अगाडि भेट्रान कलाकारसँग दोहोरी गाएर उनले आफूलाई थप निखारिरहेकी छिन् ।
तेरिया मगर
तेरिया मगरले नृत्य कलामार्फत आफूलाई नेपाल मात्रै होइन भारतमा पनि चिनाइन् । रूपन्देहीकी तेरियाले भारतमा भएको प्रतियोगिता ‘डान्स इन्डिया डान्स’को विजेता बनेर आफ्नो कौशल प्रस्तुत गरेकी थिइन् । उनी भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रशारण हुने कार्यक्रम ‘झलक दिखला जा’ को पनि विजेता हुन् । हजारौं भारतीय प्रतिस्पर्धीलाई उछिन्दै यति ठूलो प्रतियोगिता जित्ने उनी पहिलो नेपाली कलाकार पनि हुन् । अहिले उनको ठूलो फ्यान फलोइङ छ ।
प्रेम परियार
केही वर्षअगाडि एउटा गीत गाइरहेको एक बालकको भिडियो धेरैको मोबाइलमा थियो । गीत थियो, ‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो...’ र गीत गाउने बालक थिए धादिङका प्रेम परियार । त्यसको केही समयपछि उनलाई महेश खड्का र शिशिर राणाले धादिङबाट काठमाडौं ल्याए । संगीतकार बसन्त सापकोटाले विकास आचार्यसँग भेटाएर । बसन्तले नै उनलाई चलचित्र ‘नाईं नभन्नु ल २’ को ‘यी आँखामा तिमी छौं...’ र ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत गाउन लगाए । यी गीत गाएपछि उनको लोकप्रियता उकालियो । तीनै गायक प्रेम परियार अहिले नायक पनि हुँदै छन् । ‘पर्खि बसे फर्कि आउँछु’ चलचित्रमा प्रेम नायकको भूमिकामा देखिँदै छन् ।
प्रितम आचार्य र आयुष केसी
प्रितम आचार्य र आयुष केसी पनि बालवयमै आफूलाई आम नेपालीबीच चिनाउन सफल भए । गायन उनीहरूको कलाको विधा हो । सुनसरीका प्रितम र भक्तपुरका आयुष दुवैले आफूलाई एकै समय एउटै स्टेजबाट आफ्नो प्रतिभा बाहिर ल्याएका हुन् । भारतीय टेलिभिजन जीटीभीको गत सिजनको रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा उनीहरू सहभागी भएका थिए ।
उक्त सोमा प्रितम तेस्रो भए भने आयुष थर्ड रनरअप भएका थिए । हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरू ग्रान्ड फिनालेमा पुगेका थिए । आफ्नो लोकप्रियताकै कारण प्रितमलाई सुनसरीको इटहरी उपमहानगरपालिकाले बाल सदभावना दूत बनाएको थियो ।
सेड्रिना शर्मा
सेड्रिना शर्मा एउटै चलचित्रबाट आफ्नो पहिचान स्थापना गर्ने बाल कलाकार हुन् । ‘नाईं नभन्नु ल ५’ मा अभिनय गरेकी उनले यसैमार्फत् आफूलाई दर्शकमाझ ‘नोटिस गराउन सफल भइन् । एउटै चलचित्रबाट आफूलाई स्थापित गराएकी उनले अन्य चलचित्रमा काम गरेकी छैनन् ।
यीमध्ये सलोन अहिले बालवय पार गरी नायक बनिसकेका छन् । सोलो नायकमा खासै अवसर नपाए पनि को–एक्टरका रूपमा उनले थुप्रै चलचित्रमा काम गरिसकेका छन् । प्रेमले पनि आफूलाई नायकमा डेब्यु गराउँदै छन् । बाँकीमध्ये राज पुनः कला क्षेत्रमा फर्किएका छैनन् भने अन्यले ‘बाल सेलिब्रिटी’ कै स्वाद चाखिरहेका छन् ।