
जनकपुर । माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको लागि गठबन्धन बनाएका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सांसदहरुले संयुक्त बैठक बसेका छन् ।
बैठकमा नेकपातर्फका सबै सांसद सहभागी भए पनि राजपाका करिब आधा दर्जन सांसद अनुपस्थित रहे । गठबन्धनबाट उमेदवारी दर्ता गराउने दुवै दलका प्रत्यासीको पक्षमा एकढिक्का भएर मतदान गर्ने वातावरण निर्माणका लागि भनेर बैठक बोलाइएको थियो । लामो समयदेखि आन्दोलनको नाउँमा दुई दलका नेताहरुबीच बढिरहेको दूरी घटाउन भनेर बोलाइएको बैठकमै राजपाका केही सांसद अनुपस्थित भइदिएपछि चुनावमा ‘क्रस भोटिङ’ हुन सक्ने आशंका उत्पन्न भएको नेकपाका एक सांसदले बताए ।
कुल १ सय ७ सांसद रहेको प्रदेशसभामा नेकपाका ३२, समाजवादी पार्टीका ३०, राजपाका २५, नेपाली कांग्रेसका १९ र नेपाल संघीय समाजवादी पार्टीका १ सदस्य छन् । तीमध्ये नेकपा र राजपा तथा समाजवादी र कांग्रेस छुट्टाछुट्टै गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा होमिएका छन् । चार जना सदस्यको लागि हुन लागेको प्रदेश २ को राष्ट्रियसभा चुनावमा १ सय ३६ स्थानीय तहका नगरप्रमुख र उपप्रमुख तथा गाउँ पालिका अध्यक्ष र उपाध्यक्षगरी २ सय ७२ जना एवं १ सय ७ प्रदेश सांसदले मतदान गर्नेछन् ।
राष्ट्रियसभा चुनावका लागि प्रदेश २ को कुल मतभार १० हजार ३२ छन् । ती मध्ये नेकपा र राजपाको गठबन्धनसँग ५ हजार २ सय २ तथा समाजवादी र कांग्रेसको गठबन्धनमा ४ हजार ६ सय ८३ मतभार छन् । यस आधारमा नेकपा-समाजवादी पार्टी गठबन्धनसँग जम्मा ५ सय १९ मतभार बढी देखिन्छ ।
प्रदेशको मतभार र अप्रत्यासित गठबन्धनको अवस्था विश्लेषण गर्दा चुनावको परिणाम यकिन गर्न सहज नरहेको जानकारहरु बताउँछन् । दुई गठबन्धनमा आवद्ध चार वटै दलका नेतृत्व तहमा पनि ‘क्रस भोटिङ’ हुनसक्ने आशंकाले पिरोलिरहेको देखिन्छ । त्यहीँ आशंका मेट्न बिहीबार जनकपुरमा बोलाइएको नेकपा र राजपाका सांसदहरुको संयुक्त बैठकमा मधेश आन्दोलनमा अगुवाइ गर्ने राजपाका केही अगुवा सांसदहरु नै अनुपस्थित भइदिएपछि आशंका गर्ने आधार झनै बलियो हुन पुगेको नेकपाका ती नेताले बताए ।
‘चुनावमा सत्ताको भरपुर उपयोग गरिन्छ’
बैठकलाई सम्बोधन गर्दै राजपा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा-राजपा गठबन्धन कुनै हालतमा पनि जित्नुपर्ने बताए । संघीय सरकार हाँक्ने र प्रदेशमा समेत बलियो अवस्थामा रहेको दलबीचको गठबन्धनलाई समान्य नआँक्न समाजवादी-कांग्रेसको गठबन्धनलाई चेतावनी दिँदै सोनलले भने, ‘हामी सत्तापक्ष हौं । चुनावको लागि सत्ताको भरपुर उपयोग गर्नुपर्छ ।’
सोनलले उक्त भनाइ राखेपछि बैठकमा सहभागी नेकपा तर्फका राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डल लगायतले टाउको हल्लाएर समर्थन जनाएका थिए ।
क्रस भोटिङ रोक्न नयाँ रणनीति
मधेश आन्दोलनको क्रममा करिब एक दशकसम्म सँगै होमिए र एक वर्षदेखि पार्टी एकताकै प्रक्रियामा लागेका समाजवादी तथा राजपाबीच नयाँ गठबन्धनले अगामी चुनाव रोमाञ्चकारी बन्दैछ । चुनावको बेला हेर्नै नचाहने दलका नेतालाई जिताउन आन्दोलनमासँगै प्रहरीको लाठी खाएका नेतालाई हराउनुपर्ने अवस्थाले समाजवादी र राजपा दुवैतर्फका केही सांसदहरुमा असन्तुष्टी देखिएको राजपाका एक सांसदले बताए ।
बैठकमा सहभागी ती सांसदले बाह्रखरीसँग भने, "समाजवादीका सांसदहरुले के गर्लान् भन्न सकिन्न तर, हामीले कुनै हालतमा एमालेको पक्षमा मतदान गर्न सक्दैनौं ।" उनले स्थानीय तहका प्रमुख र उपप्रमुखहरुमा पनि यस्तो भावना रहेको दावी गरेका छन् ।
मतदातामा देखिरहेको यस्तै सोच तथा भावनालाई सम्बोधन गर्न राजपा नेतृत्वले मतदान हुनुभन्दा तीन अघि देखि नै सबै सांसदलाई जनकपुर बाहिर लगेर नेकपा सांसदसँगै राख्ने रणनीति बनाएको छ । यसका लागि महोत्तरीस्थित बर्दिबासमा तत्कालिन माओवादीले बनाएको आधारशिलामा माघ ७ गतेदेखि ९ गतेसम्म दुवै दलका सांसदहरुलाई बस्न, खान व्यवस्था मिलाइरहेको राजपास्रोतले जनायो ।
"७ गते सबै सांसदलाई बर्दिबासमा बोलाएर पार्टीका नेता राजेन्द्र महतोले प्रशिक्षण दिने र ९ गते बस रिजर्भ गरेर एकैपटक मतदानका लागि जनकपुर पुर्याउने योजना राजपाको छ", ती स्रोतले भन्यो ।
बिहीबार जनकपुरमा बसेको दुई दलको संयुक्त बैठक सञ्चालनको भूमिकामा रहेका राजपाका सचेतक परमेश्वर साहले पनि ७ गतेदेखि बर्दिबासमा प्रशिक्षणको लागि बोलाइएको विषयलाई पुष्टी गरे ।
"बर्दिबासको प्रशिक्षण वारे पत्र आएको हो" उनले भने, "बिहीबारको बैठकमा दुवै दलका सांसदहरुले एक अर्कालाई सघाउने र जिताउने विषयमा गहन छलफल भएको छ ।" राजपाकै तर्फबाट प्रदेश सरकारमा सामाजिक विकास राज्यमन्त्री रहेका अभिराम शर्मा पनि माघ ७ र ८ गते स्थानीय तहका प्रमुख, उपप्रमुखसमेत प्रदेशका सबै मतदातालाई उपस्थित हुन पार्टीले सर्कुलर गरेको बताए ।