काठमाडौं । अमेरिका र इरानबीच चर्किएको द्वन्द्वका कारण इरान असुरक्षित बन्दै गएको छ ।
अमेरिकी आक्रमणमा इरानी रिभोल्युसनरी गार्डका प्रमुख जनरल कसेम सुलेमानीको मृत्य भएपछि इरान–अमेरिका सम्बन्ध चिसिँदो छ र इरानले इराकमा भएको अमेरिकी बेस क्याम्पमा आक्रमण जारी राख्दा इराकमा भएका नेपाली नागरिक पनि असुरक्षित बनेका हुन् ।
अमेरिकी आक्रमणको प्रतिरक्षामा इरानले अमेरिकी बेसक्याम्पममा दुईपल्ट आक्रमण गरेको छ । यसकारण अमेरिकाले पनि सो आक्रमणको बदला दिने घोषणा गरिसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूहरुसँग विश्वकै शक्तिशाली सेना भएको दाबी गरेका छन् ।
यसले पनि उक्त क्षेत्र अझै आतंकित हुने सम्भावना बढी देखिएको छ ।
भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाउने तयारी गरेको छ भने त्यस क्षेत्रमा नजान आफ्ना नागरिकलाई भनिसकेको छ ।
त्यसैगरी बुधबार पनि इरान र इराकको हवाइमार्ग प्रयोग गर्दै उडान भर्ने कैयौं अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले ‘डाइभर्ट’ गरेका छन् ।
यस्तो बेलामा त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा नेपाल सरकारले के गरिरहेको छ त ?
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल भन्छन्, “इरानमा दुई अंकमा नेपाली नागरिक छन् भने इराकमा कति छन् भन्ने ऐकिन छैन तर पनि हजारौं भएको अनुमान छ ।”
इराक जाने नेपालीहरु दुबईको बाटो हुँदै जाने र त्यहाँ जान नेपालले रोक लगाएको हुँदा कति नेपाली छन् भन्ने बारेमा नेपाल सरकारले ऐकिन गर्न नसकेको हो ।
तर वैदेशिक रोजगारविज्ञहरु भने तत्काल त्यस क्षेत्रमा भएका नेपालीलाई फर्काउनुपर्ने बताउँछन् ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङका अनुसार नेपाल सरकारले सानो संख्यामा रहेको भए पनि त्यहाँ रहेका नेपालीलाई कुनै माध्यमबाट फिर्ता ल्याउनुपर्ने सुझाव दिन्छन् ।
बाह्रखरीसँग कुरा गर्दै उनले भने, “सरकारले हवाई वा सामुन्द्रिक माध्यमबाट त्यहाँ भएका नेपालीलाई फिर्ता बोलाउनुपर्छ ।”
उनका अनुसार अमेरिका–इरान सम्बन्ध चिसिँदा नेपालीलाई ठूलै असर नपर्ने भए पनि मनोवैज्ञानिक त्रास फैलन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल इरानमा १९ जना नेपाली नागरिक वैधानिक रुपमा वैदेशिक रोजगारीका क्रममा छन् । त्यसबाहेक अरु नेपालीहरु पनि अवैधानिक रुपमा इरानमा हरेको हुन सक्ने सरकारी अधिकारीहरुको भनाई छ ।
सरकार के गर्दै छ ?
प्रवक्ता पौड्याल भन्छन्, “हामीले त्यताका घटनालाई नजिकबाट हेरेका छौं । चार दिनअघि कतै तनाव बढ्ने त होइन भनेर त्यहाँका नेपालीको सुरक्षा र वेलफेयरका बारेमा छलफल गरिएको छ ।”
पौड्यालका अनुसार परराष्ट्र मन्त्रीले श्रम मन्त्री, श्रम सचिव तथा सम्बन्धित महाशाखा हेर्ने प्रमुखसँग छलफल गरेर निर्देशन दिएका छन् ।
उनले भने, “सरोकारवाला निकायसँग छलफल भएको छ । जसमा त्यताको अवस्थालाई मूल्याङ्कन तथा निरीक्षण गर्ने र त्यसलाई रिपोर्टिङ गर्ने, आफुले हेर्ने मुलुकमा काम गर्ने र नेपाली नागरिकसँग नियमित सम्पर्कमा रहने तथा नेपाली नागरिकमा केही घटना घटे सतर्क रहन र नजिक रहेको दूतावासलाई खबर गर्न निर्देशन दिइएको छ ।”
महाशाखा तथा विभागले आ–आफ्नो ठाउँबाट मूल्याङ्कन गरिररहेका छन् । पौड्यालले भने, “तपाईँसँग कुरा गर्दैगर्दासम्म नेपाली नागरिक अप्ठेरोमा परेको भन्ने सूचना प्राप्त भएको छैन । इरान र इराकमा नेपालको प्रत्यक्ष उपस्थिति छैन । हाल इरानलाई इस्लामवादस्थित र इराकलाई कुवेतको दूतावासले हेर्छ ।”
इरानमा किन जान्छन् नेपाली ?
इराकमा १२ जनाको निर्मम हत्या तथा अफगानिस्तान बस विष्फोटमा परेर १४ नेपालीको मृत्य भएपछि नेपालीको द्वन्द्वग्रस्त मुलुक जाने आकांक्षा कम भएको देखिन्छ । सरकारले पनि यी दुई देशमा वैदेशिक रोजगारी रोक्का गरेको छ ।
तर, डरैडरका बीच राम्रो कमाइ हुने भएकाले केही नेपाली इरान जाने गरेका छन् ।
नेपालबाट पहिलोपटक इरान जानेको संख्या उल्लेख्य नभए पनि खाडी मुलुकमा काम गर्न जाने क्रममा इरानी कम्पनीले आकर्षक कमाइको लोभ देखाउँदै नेपालीहरुलाई इरान लैजाने गरेका छन् ।
“इरानमा धेरै संख्यामा नेपाली कामदार छैनन् । गएकाहरु पनि घरेलू कामदारका रुपमा वा उद्योगमा काम गर्ने भनेर गएका छन्,” वैदेशिक रोजगार विज्ञ डा. गुरुङ भन्छन्, “दुबईलगायत खाडी मुलुकमा काम गर्न जाँदा इरानी मालिकहरु भटिन्छन् । ती इरानीले नेपालीलाई आकर्षक आयको लोभ देखाउने गरेका छन् ।”
नेपालबाट सीधै इरान जाने नेपाली कामदारको संख्या नगन्य छ ।
नेपालीहरुले अरु देशका भन्दा न्यून ज्याला लिने भएकाले इरानीहरु नेपालीलाई आफ्नो देश लैजान चाहन्छन् ।
गुरुङले भने, “खाडी देशमा कम्पनी खोल्ने इरानीले आफ्नो मुलुकमा रहेको फ्याक्ट्रि वा आफ्नो घरमा काम गर्न नेपालीलाई आह्वान गर्दछन् ।”
त्यहाँ रहेका नेपालीलाई के गर्ने ?
अमेरिकासँगको सम्बन्धमा तनाव आएपछि इरान नेपालीलगायत सबैका लागि असुरक्षि बनेको छ । इरानमा गैर आवसीय नेपालीको संघ पनि छैन । त्यसैले एक्लै रहेर मनोवैज्ञानिक असर परिसकेका कारण उनीहरुलाई कुनै माध्यमबाट नेपाल फिर्ता बोलाउनुपर्ने धारणा रोजगार विज्ञ गुरुङको छ ।
गुरुङले थपे, “नेपालले गर्नुपर्ने पहिलो काम भनेको त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्छ । तर, सरकारले संयन्त्र नै विकास गरेको छैन ।”
“यसअघि पनि समस्या परेपछि मात्र सरकारले चासो लिने गरेको देखिन्छ । हताहती नभएसम्म सरकार चुप बस्ने गरेको छ,” गुरुङ भन्छन्, “आफ्ना नागरिक आपत् परे पनि सरकारले इरान सरकारलाई भारतमार्फत् फर्काउन आग्रह गर्ने गरेको छ ।”
नेपालीलाई स्वदेश फर्काउन अहिले नै पहल गर्नुको कुनै विकल्प पनि छैन ।
गुरुङका अनुसार सरकारले ‘वाच’ गर्नेमात्र नभएर कुन तरिकारले नेपाल ल्याउन सकिन्छ भन्ने योजना बनाउनुपर्छ । गुरुङले भने, “नेपाल आईओएम र आईएलओको सदस्य हो । उनीहरुमार्फत् पनि पहल गर्न सकिन्छ ।”
हालसम्म केही भइहाल्यो भनेमात्र सोच्ने बानी भएका सरकारी निकायलाई क्षति नहुँदै सुरक्षा अपनाउन सुझाव गुरुङले दिए ।