site stats
बाह्रखरी :: Baahrakhari
देश
राज्यमन्त्री रावतद्वारा अस्पतालको आकस्मिक अनुगमन

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जिल्लामा रहेका दुई ठूला सरकारी  भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण अनुगमन गरेका छन् । मन्त्रालयको कामका सिलसिलामा जिल्ला आएका मन्त्री राउतले आइतबार पहिलो अनुगमन क्यान्सर अस्पतालको गरेका थिए ।

अस्पतालको अनुगमन, निरीक्षणपछि उनले अस्पतालले दिएको सेवा सन्तोषजनक भए पनि धेरै कुरा सुधार्नुपर्ने बताए । अस्पतालमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस अस्पतालले दिदै आएको सेवा सुविधा अझै उच्च र विशिष्टीकृत बनाउन आवश्यक रहेको बताए ।

Argakhachi Cement Island Ad

 ‘अस्पतालमा  बिरामीलाई दिइएको सेवा प्रवाह अझै चुस्त बनाउन आवश्यक छ,’’ उनले भने, ‘‘मैले बाहिर मात्र सुनेको थिएँ अहिले आफैंले देख्ने अवसर प्राप्त भयो ।’’ यस अस्पताललाई अझै माथि उठाउन सरकारका तर्फबाट सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । त्यसक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालले प्रगति र यहाँबाट उपलब्ध सेवाका बारेमा जानकारी गराएका थिए ।

राज्यमन्त्री रावतले सरकारी अस्पतालबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् । आज भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको निरीक्षण पश्चात् उनले नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताए । ‘‘सबै नागरिकले अस्तालमा आएपछि सर्वसुलभ उपचार पाउनुपर्छ,’’ उनले भने, ‘‘नागरिकले राज्यको अनभूति पाउने गरी काम गर्नुहोस् ।’’

उनले  सेवा र व्यवस्थापकीय पक्षमा ध्यान दिन चिकित्सक र कर्मचारीलाई आग्रह गरे । ‘‘ऐन नियमले असहजता भए, संस्थागत रूपमा आउनुहोस्, तर त्यो जनताको पक्षमा हुनपर्छ,’’ उनले भने । अस्पताल सुधारका लागि चिकित्सक, स्वास्थ्यकर्मी र सबै कर्मचारी उत्तिकै दायित्व रहेको उनको भनाइ थियो । . ‘अस्पतालको सुधारका लागि प्राथमिकताको आधारमा योजना बनाएर अघि बढ्न आग्रह गर्दै उनले  बजेटेको अभाव हुन नदिने समेत बताए ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्य र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले अस्पतालको अवस्थाका बारेमा राज्यमन्त्री रावतलाई जानकारी गराएका थिए । 
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १८:२२
प्रतिक्रिया दिनुहोस्