काठमाडौं । नेपथ्यबाट सुमधुर धून बजिरहेको छ । कोठाको कुनामा माछाहरू सलबलाइरहेको एक्वोरियमा रातो नीलो रंगको कृत्रिम बत्तीलाई मधुरो पार्दै मञ्चमा उज्यालो प्रकाश बल्छ । एकाएक सेतो नकाव लगाएका व्यक्तिहरू सोही धूनमा आवाजमा आवाज मिलाई हो, हो, हो... गुन्गुनाउँदै सल्बलाउन थाल्छन् ।
संगीत रोकेसँगै सेतो नकावधारीले बोल्न सुरु गर्छ, “एउटा कुरा छ नी वकिल साहब, म जिन्दगीमा विभिन्न बिहे, समारोह, गोष्ठीलगायतका पार्टीहरूमा गएको छु । तर, आफैं चुनाव हारेर पनि पार्टी दिने नेता भने पहिलो चोटी देख्दै छु है ।”
यो संवादसँगै नाटकले गति लिन्छ । यो दृश्य रातोपुलस्थित ‘शैली थिएटर’ मा पुस १८ गतेदेखि मञ्चन सुरु भएको नाटक ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) को हो ।
यो चर्चित रूसी साहित्यकार एन्तोन चेखोभको एकांकी नाटक ‘द म्यारिज प्रपोजल’ को नेपाली अनुवाद हो । एन्तोन चेखोभको यो कृतिलाई सविन न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् ।
स्टिपान स्टेपानोभिच ७० वर्षका भइसकेका छन् । उनी लामो समयदेखि चुनाव लडिरहेका छन् । तर, हरेकपटक उनले पाउने भनेको हार मात्रै हो । पटकपटकको हारले पनि स्टेपानोभिचलाई कुनै दुःख छैन, यही कारण त होला उनले जोसँग हारेको हो उसलाई र अरू कार्यकर्तालाई भव्य पार्टीको आयोजना गरेका छन् ।
पार्टीका कार्यकर्ता र प्रतिद्वन्द्वी नेता स्टेपानोभिचको पार्टीमा गएर उनकै अपमान गर्छन् । तर, उमेरले अनुभवी स्टेपानोभिचले उनका प्रतिद्वन्द्वी र कार्यकर्तालाई मिलेर अघि बढ्न सुझाव दिँदै जनता र सामाजिक कार्यका लागि आएका बजेटदेखि सेवासुविधाहरू कसरी ‘पचाउने’ भन्ने सिकाइदिने प्रतिबद्धता जनाएसँगै दुवै पार्टीबीच मिलेमतो हुन्छ ।
कार्यकर्ताहरूले हार पचाउन सकेन भन्दै प्रहार गर्दा स्टेपानोभिचले आक्रोशमा आएर आफ्ना पुर्खाले सरकारी बजेट, जग्गा, बाटोघाटो, पुल, विदेशीशक्तिबाट आएका सहयोग, छरछिमेकीको जग्गा जमिन सबै पचाएको र चुनाव हारे पनि आफूलाई केही फरक नपर्ने गोप्य तिता सत्यहरू खोल्छन् ।
उनीहरू बाहिरबाट सुनको जलप लगाएका शब्द प्रयोग गरी एकअर्कालाई गिराउने हद पार गर्छन् ।
यो पहिलो दृश्य र संवादले जनताको भोट जितेर देश हाक्न भनेर उच्च पदमा पुगेका नेताहरूलाई पेचिलो व्यंग्य प्रहार गरेको छ ।
७० वर्षीय स्टेपानोभिचलाई चुनावको हार त हँदै छ आफ्नी उमेर पुगिसकेकी छोरीको विवाहको तनाव पनि छ । छोरीको विवाह गरिदिनु पछाडि पनि स्टेपानोभिचको छुट्टै स्वार्थ लुकेको छ ।
हरेकपटक चुनाव हारिरहँदा छोरीको हात माग्न कोही पनि आउँदैनन् । तर, एकदिन ३५ वर्षीय इभान भ्यासिलियच लोमोभ उसको छोरीसँग विवाह गर्ने प्रस्ताव लिएर आउँछ ।
इभान उनीहरूकै छिमेकी हुन् । ऊ स्टेपानोभिचकी छोरी नतालियासँग विवाह गर्ने प्रस्ताव लिएर आउँछन् ।
तर, नतालिया र इभानबीच उनीहरूको पुर्खाको जग्गा र कुकुरलाई लिएर हुने विवादले अन्ततः विवाह प्रस्ताव स्वीकार्य होला कि नहोला भन्ने अवस्थामा नाटकले गति लिन्छ ।
इभान र स्टेपानोभिच एउटा पुर्खौली जग्गालाई लिएर विवाद भइरहेको हुन्छ । र इभान र स्टेपानोभिचले यो विवाह होस् भन्ने चाहना राख्नु पनि सोही जग्गा आफ्नो नाममा हुन्छ र विवाद रोकिन्छ भन्ने नै हुन्छ ।
नाटकले विवाहसँग जोडिएको सरल कथावस्तुलाई हास्यास्पद अवस्था सिर्जना गरी सामाजिक चाल–चलनलाई व्यंग्य गरेको छ ।
नाटकमा तीनजना मुख्य पात्रका आआफनो स्वार्थ लुकेका छन् ।
स्टेपानोभिच इभानले छोरीको हात माग्न आउँदा उसकी छोरीलाई सामान अर्थात् वस्तुको संज्ञा दिन्छन् । यसले पनि प्रष्ट हुन्छ, बाहिरबाट छोरीको माया देखाए पनि भित्र भने अरू नै कुरा लुकेको छ ।
नाटक निर्देशक नवराज बुढाथोकीका अनुसार नाटकले मानिसहरू बहुरुपी हुन्छन् परिस्थितिअनुसार आफ्नो रूप फेर्छन् भन्ने मुद्दालाई प्रस्तुत गर्न खोजेको बताए ।
०००
मञ्चमा देखिने छेपारोको फोटो र गोहीको आकृतिलाई सिम्बोलका रूपमा प्रयोग गरिएको छ । जसले नाटकको मुख्य मुद्दालाई निकै आकर्षकरूपमा चित्रण गर्न सफल भएको छ । नेपाली भाषामा मञ्चन भए पनि वेशभूषा, सेट र दृश्यमार्फत् रूसको वातावरणको झ–झल्को दिने प्रयास गरिएको छ ।
तर, नाटक हेरिरँदा दर्शकलाई कुनैकुनै दृश्य र संवाद आवश्यकताभन्दा केही बढी दोहोरिएको वा लम्बिएको हो कि भन्ने भान हुन सक्छ । अंग्रेजीको अनुवाद भएर कहिकतै शब्दको चयन र संवाद केही कमजोर हो कि भन्ने अनुभव हुन सक्छ ।
नाटकमा मुख्य कलाकारका रूपमा शशांक बोहोराले इभान, स्नेहा पौडेलले नतालिया र सुवास सुवेदीले स्टेपानोभिचको भूमिका निर्वाह गरेका छन् । कोरसमा मास्क लगाएर गाउँलेको भूमिकामा देवेन्द्र बब्लु, भारती रिजाल, रोविन तामाङ, विशाल सुवेदी, दिप्ति पौडेल, निर्भिक भट्टराई, रूपक काफ्ले र सन्तोष बराइली रहेका छन् ।
देवेन्द्र बब्लुको संगीत अनि अमन माली, सुजन माली र सुशील मालीको स्वर रहेको छ ।
१ घण्टा १५ मिनेटको नाटक माघ १० सम्म मञ्चन हुनेछ । नाटक बुधबारबाहेक हरेक दिन ४ः५० बजे र शनिबार १ बजे मञ्चन हुन्छ ।
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी