site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमालका मनमाेहक दृश्य क्यानभासमा

काठमाडौं । खोंचबाट डाँडाको पर्दा उघारी हिमाल मुस्कुराइ रहेका छन् । आफ्नी प्रेयसीलाई उपहार स्वरुप बिहानी सूर्यले सुनको जलप लगाइदिएका छन् । दिनभरिको आफ्नो थकानबाट विश्राम लिन सूर्य ढल्किनै लागेका छन् । फेरि पनि तिनै खोंचबाट राता–पहेंला किरणले प्रेयसीलाई चिहाउँछन् । 

आँखालाई मन्त्रमुग्ध बनाउने यिनै दृश्यको रसपान गर्न बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भिड लाग्ने गर्छ नेपाली हिमाली भेगमा । 

तिनै सुन्दर दृश्यको झल्को मेट्ने गरी क्यानभासमा उतारेका छन् कलाकार विके नरबहादुरले । कुची र रंगको मद्दतले सुन्दर संसारको निर्माण गरेका छन्, उनले ।

बबरमहलस्थित आर्ट काउन्सिलमा ‘द युट्युब सिरिज’ नामक चित्रकला प्रदर्शनीमा उनले कोरेका प्राकृतिक दृश्यहरू देख्न सकिन्छ ।

१५ औं एकल चित्रकला प्रदर्शनीमा उनले १०५ वटा पूर्व मेचिदेखि महाकलीसम्मको प्राकृतिक सुन्दरतालाई समेटेका चित्रहरु राखेका छन् । 

समयसँगै हिमालमा देखिने सुन्दर परिवर्तनका दृश्यलाई कलाकारले निकै मनमोहक तरिकाले प्रस्तुत गरेका छन् ।

विशेष त प्राकृतिक विषयवस्तुलाई ल्यान्डस्केप विधामा उतार्न पोख्त उनले प्रदर्शनीमा राखिएका २ बुद्धको चित्र बाहेक सबै चित्र ल्यान्डस्केप नै छन् । लुम्बिनीमा जन्मिएका उनले बुद्धको चित्रमार्फत आफ्नो जन्मस्थानलाई सम्झिएका हुन् ।

वाटर कलर र एक्रेलिकको माध्यमको प्रयोग गरि क्यानभासमा उतारिएका यी चित्रहरू उनले आफ्नो युट्युब च्यानलमा विदेशी तथा विदेशमा भएका आप्रवासी नेपालीलाई सिकाउने क्रममा कोरेका चित्र हुन् ।

विदेशीहरू र विदेशमा भएका नेपाली बिदामा नेपाल आउँदा एक दुई साता मात्रै सिक्ने समय पाउँथे । तर, उनीहरूले अझै सिक्ने इच्छा व्यक्त गरेपछि उनले युट्युबमार्फत निःशुल्क सिकाउने निर्णय लिए । 

सोही अनुरूप उनले विगत १० महिनादेखि ‘द युट्युब सिरिज’ नामक युट्युब च्यानल खोलेका छन् । च्यानलमा अहिलेसम्म २३० वटा भिडियोहरू अपलोड भइसकेका छन् । पेन्टिङको सुरुवाती चरणदेखि अन्तिम चरणसम्मको चित्र कोरेको भिडियो युट्युबमा हालिदिने गर्छन् ।

अपलोड भैसकेका जम्मा भिडियोमध्ये सर्वाधिक माग आएका चित्र चुनेर १०५ वटा उनले चित्रकला प्रदर्शनीमा राखेका हुन् ।

“उहाँहरूले धेरै जसो हिमाल, अझ एभरेस्ट कसरी बनाउने भन्ने माग राख्नु हुन्थ्यो र मैले ‘हाउ टु पेन्ट एभरेस्ट’ टाइटल राखेर पेन्ट गरेको भिडियो राखिदिन्छु ।”

एक विदेशी कलाप्रेमीले बेलुकीको हिमालमाथि आकाशमा तारा भएको चित्रको माग गरेपछि उनले त्यो पनि कोरेर प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीमा नेपालको पूर्वदेखि पश्चिम सम्मको प्राकृतिक सुन्दरताले भरिएका चित्रहरू छन् । फेवाताल माथिको सुन्दर हिमाल, अन्नपूर्ण बेसक्याम्पबाट सन्ध्याकालमा देखिने हिमालको

दृश्यदेखि घान्द्रुकमा खरले छाएको परम्परागत घर तथा वरिपरिको सुन्दर हरियालीलाई पनि चित्रमार्फत प्रस्तुत गरेका छन् ।

प्रदर्शनीको अवलोकन गर्न जाने हरेक दर्शकलाई नरबहादुरका चित्र जिवन्त लाग्छन् ।

करिब २ दशकदेखि चित्रकलामै सक्रिय नरबहादुरका अनुसार नेपालको यसको स्कोप बढ्न थालेको बताउँछन् । यसमा लागेर कलाकारलाई बाँच्नै गाह्रो भएको कुरा नकार्दै भन्छन्, “ म

विगत २० वर्षदेखि यही क्षेत्रमा छु । यदि यसबाट जिविकोपार्जन गर्न नसकिने भए म यही क्षेत्रमा यति लामो समयदेखि हुन्न थिएँ होला ।”

आम्दानीको स्रोत भने कलाकारको दक्षता र क्षमतामा भरपर्ने उनी बताउँछन् ।

उनका अनुसार पछिल्लो १० वर्षयतादेखि चित्र उपहार दिने चलन बढ्दै गए पनि ५ वर्षयता भने यसले ह्वातै गति लिएको छ । २९ डिसेम्बरदेखि सुरु भएको चित्रकला प्रदर्शनी शनिबार ४ जनवरीसम्म जारी रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro