काठमाडौं । हिजोदेखिको अविरल झरी थामिएको छैन । झरी ओत्ने त परै जाओस्, आङमा चिसो छल्ने गतिलो लुगा पनि छैन । हातगोडा उत्तिकै कठ्याङ्ग्रिएका छन् । ओठ उसैगरी लुगलुग काँपिरहन्छन् ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका विद्यार्थीले माइतीघर मण्डलामा एकसरो त्रिपालको जुगाड गरिदिएका छन् । तर, हावाले कहाँ अडिन दिन्छ र ! सोझा–सीधा किसानको नगदेबाली उधारोमा उठाइदिने र बेपत्ता होइदिने मिल–मालिक जत्तिकै पिराहा बनिदिन्छ ।
हिजो थोरै पानी परेथ्यो, जेनतेन पानी छेलिएथ्यो । आजको दर्के पानी थाम्न सकेन । एकनाश परिरहेको झरीबाट बचाउन आन्दोलनप्रति समर्थन जनाउन आएकाले आगो बालिदिएकाले त्यसैमा आङ सेकाएर चिसो भगाउन विवश छन् ।
“काठमाडौंको जाडो निकै कडा हुँदो रहेछ । पहिलोपल्ट झरी मिसिएको जाडो झेल्दै छु । सरकारले बक्यौता उठाइदिएको भए देहातकै घुर ताप्न पाउँथे,” पालबाट तप्किएर निधारमा परेको पानी पुछ्दै सर्लाही, धनकौल २ का रामविलास महतो दुखेसो पोख्छन् ।
तर उनलाई आफ्नोभन्दा ज्यादा परिवारको चिन्ता छ । ९० वर्ष उमेर पूरा भएकी आमाको चिन्ता छ । साहू खोज्न पहिलोपल्ट काठमाडौं हिँड्नै लाग्दा उनले पैसा नलिई नआउनू भनेकी थिइन् । जहान–परिवारले पनि पैसा लिएरै आउनु भनेका थिए । झरीले भन्दा परिवारको आशाले पिरोलेको छ । ‘देहातमा झन् ठूलो पानी परेको होला ! चिसोले बालबच्चा बिरामी पो परे कि !’ चिन्ताले पिरोलेको छ । “काठमाडौंमा त यस्तो जाडो छ । देहातमा कस्तो होला ?” उनी झनै दुःखी देखिन्छन् ।
दुःख पाउने रामविलास एक्ला होइनन् । उनीसँगै उखुको बक्यौता उठाउन आएका दस जनाभन्दा बढी किसान झरी र पानीसँग पौठेजोरी खेल्दै धर्नामा बसिरहेका छन् । पैसा नलिइ नफर्कने सामूहिक अडानै आन्दोलनको ऊर्जा बनेको छ । एक–अर्काको पीडाले नै उनीहरूलाई धर्ना बस्न उकासिरहेको छ ।
अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलले २०७० सालदेखि बक्यौता नदिएपछि मालिक खोज्दै सय किसान काठमाडौं हान्निएका थिए ।
१५ दिन माइतीघरको चिसो भुइँमा धर्नामा बस्दा आधाआधी बिरामीले थलिएका छन् । अधिकांशको स्वास्थ्य अवस्था बिग्रँदो छ । रुघा–ज्वरोले हातगोडा करकरी खान थालेको छ । जिउ अति दुख्न थालेको छ । विभिन्न सङ्घ-संस्था, माइतीघरमै आएर आन्दोलनप्रति सद्भाव देखाउँदै औषधोपचारको प्रबन्ध त मिलाएका छन् । सहृदयीको मल्हमपट्टीले मात्रै सारसौदो हुने अवस्था छैन ।
“१५ दिनदेखि माइतीघरमा धर्ना बसेका छौं । हिजोसम्म भोकले पेट हुँडलेको थियो । आजबाट निर्दयी झरी पनि थपियो । झरीले के पिरोलेको छ ? साहू र सरकार दुवै उत्तिकै चिसा !,” धनकौल गाउँपालिका ७ का रामविश्वास यादव बताउँछन् ।
रामविश्वास यादवको गत सालको ८० हजार बक्यौता बाँकी छ । धनकौल २ मा रहेको अन्नपूर्ण सुगर मिलले बक्यौता नदिएपछि उनी बाध्य भएर काठमाडौं आएका हुन् । पैसा नलिइ नफर्कने सामूहिक अडानमा मत मिसाउँछन् । “अरूको तुलनामा मेरो बक्यौता कम छ । तर किसानका लागि यो रकम धेरै हो । २०औं हजार किसान मारेको छ, त्यसले (अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवालले) । हेर्नुस् त सरकारलाई पनि घुमाइरहेछ !” उनले थपे ।
रामविश्वाससँगै धनकौल ७ कै लखिन्दर यादव, लालबाबु यादव, राजेश यादव पनि आन्दोलनमा मिसिन काठमाडौं आइपुगेका छन् । उनीहरूको क्रमशः २५, ७८ हजार र एक लाखभन्दा बढी बक्यौता छ ।सर्लाहीका मात्रै १४ हजार बढी किसान चिनी उद्योगीका फन्दामा परेका छन् । सर्लाहीको अन्नपूर्ण र महालक्ष्मी सुगर मिलको ५० करोड र २१ करोड बक्यौता छ । “राजनीतिक पहुँच र सरकारको आड पाएकाले उनीहरूले निरन्तर ठग्दै आएका छन् । किसानको धीरता टुटिसकेको छ । पैसा नलिइ फर्कंदैनन्,” उखु किसान संघर्ष समिति संयोजक राकेश मिश्र भन्छन् ।
सरकार भन्छ घर जाओ !
गत बुधबार उखु किसान संघर्ष समिति, प्रतिनिधि किसान, आन्दोलनप्रति ऐक्यबद्धता जनाएका नागरिक समाजका प्रतिनिधि र सकारबीच उद्योग मन्त्रालयमा वार्ता भयो । तर सरकारले निरीहता प्रकट गरेको भन्दै रामविलास आक्रोशित हुन्छन् ।
“यस्तो झरी, ठिहीमा हामी रहरले माइतीघरमा बसेका होइनौं । हाम्रा धेरै साथी बिरामी परिसके । भात खाने पैसा छैन । कुन पैसाले उपचार गर्नु । हामीले धेरै कुरा त मागेका छैनौं नि ! मिल मालिक समातेर पैसा उठाइदिए त भइहाल्यो,” उनी आक्रोशमिश्रित भावमा भन्छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा ठोस कुरा हुन नसकेको रामविलास बताउँछन् ।
“सरकार भन्छ कि पुसको २५ गतेसम्म ८० प्रतिशत बक्यौता दिलाइदिउँला । बाँकी माघ ७ सम्म सम्पूर्ण बक्यौता भुक्तानी भइसक्छ । हाम्रो हातमा नपरी सरकारको कुराले मात्रै कसरी विश्वास गर्नु ! झरी, चिसो सहन्छौं । तर साहूको अत्याचार सहन नसक्ने भइसक्यौं हामी,” उनी आफ्नो अडानमा टसको मस देखिँदैनन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बिहान पनि मन्त्री लेखराज भट्टसँग उनको भेट भएको थियो । धेरै कुरा त हुन पाएन । तर उखु किसानको पीडा, रोदनप्रति उनी गम्भीर थिएनन् । ‘तपाईंहरू अझै घर जानु भएको छैन ?’ भन्ने भावभंगिमामा प्रस्तुत भए । बरु ‘तपाईंहरू फर्किए हुन्छ । सरकारले उखुको बक्यौता दिलाउँछ’ भन्ने आशय व्यक्त गरे ।
“हामीले आश्वासन धेरै सह्यौं । किसानहरूले नगदेबाली वर्षौंदेखि उधारोमा बेच्दै आएका छन् । नाफा त परै जाओस् लगानी उठाउन पनि समस्या छ । उचित मूल्य पाएका छैनौं । आफूले बेचेको उखुको भुक्तानी लिन पनि तीन वर्ष पर्खनुपर्छ, तीन वर्षको ऋणको ब्याज कसरी झेल्ने ?” महतो थप्छन् ।
“जहान, बालबच्चा भोकै छन् । ऋण गरेर उखु लगायौं । बाली काट्ने बेलामा मिल बन्द छ । साहू भागेको भाग्यै छन् । थापाथलीदेखि पश्चिम, त्रिपुरेश्वरमा रहेको घरमा जाँदा पनि भेटिएनन् । सरकार भन्छ, पर्खनूस् ! अब हामी पर्खनेवाला छैनौं । जसरी हुन्छ हाम्रो पैसा चाहियो,” उनी भन्छन् ।
तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी