काठमाडौं । उनी प्रफुल्ल थिइन्, नौ वषपछि स्वर्ण प्रतीक्षा सफल भएकोमा । छलफलकै क्रममा आँखामा खुसीको छनक दिँदै लामो सास तानेर उनले भनिन्, ‘‘वाउ ! त्यो स्वर्णिम क्षण, सारा देशबासी, आफन्त र परिवारमा एकै साथ खुसी ल्याउन सकें ।’’
सफलताको यात्रा सहज कसको पो हुन्छ र ? उनलाई यहाँसम्म आउन धेरै संघर्ष गर्नुपरेको थियो । सुरुवातमा परिवारले पनि साथ दिएका थिएनन् । ‘‘बंगलादेशमा भएको ११ औँ सागमा पहिलो पटक देशका लागि अन्तर्राष्ट्रिय स्वर्ण जिताउन लागि परेकी थिएँ । त्यो समय न त मेरो उमेरले नै साथ दियो न त अनुभवले ।’’ फाइनलमा पराजित भएपछि उनको स्वर्ण सपना पूरा हुन सकेन ।
उनका लागि स्वर्ण सपना भने अन्त्य भएको थिएन । उनी अर्थात् सागकी स्वर्ण धारी कराँते खेलाडी अनु अधिकारी । अनुले घरेलु मैदानमा आयोजना भएको १३ औँ सागमा स्वर्ण जित्न सफल भइन् । सागमा स्वर्ण जित्ने उनको सपना करिब नांै वर्ष पहिलेको हो । अनु जम्मा १६ वर्षकी हुँदा बंगलादेशमा २०१० मा भएको ११ औँ सागमा उनले रजत पदकमा चित्त बुझाउँनुपरेको थियो ।
पहिलो सागमा सफलता हात नपरे पनि अनु पछि हटिनन् । १२ औं सागमा कराँते विधा नै परेन । उनको सपना सपनै मात्र रह्यो । अनु विचलित भइनन् ।
“स्वर्ण जित्दाको क्षण मेरो खेल जीवनमा सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्यो खुसी शब्दमा व्यक्त गर्नै सक्दिनँ । जीवनमा योभन्दा ठूलो खुसी मिल्लान् नमिल्लान् तर, मेरो खेल जीवनमा यो क्षण नै मुख्य हुनेछ । जसलाई मैले खेल जीवनको महत्त्वपूर्ण सफलताका साथ लिएको छु,” अनुले भनिन् ।
फाइनलमा स्वर्ण जित्नु पूर्व अनुले केही सोच बनाएकी थिइनन् । मात्र उनलाई पर्खाइको मीठो फल चाख्नु थियो । यो स्वर्णमा पनि अनुका लागि तगारहरू नतेर्सिएका होइनन् । तीन पटक स्वर्ण विजेता श्रीलंकाकी डन टुउलु उनको फाइनल प्रतिस्पर्धी थिइन् ।
“फाइनलमा जानुभन्दा पहिले केही सोचेकी थिइन, मात्र यो पटक स्वर्ण गुमाउँनु हुँदैन भन्ने बाहेक । फाइनलमा तीनपल्ट स्वर्ण जितेकी प्रतिद्वन्द्वी थिइन् । उनीभन्दा आफूलाई अब्बल देखाउनु थियो । घरेलु मैदान सारा देशवासी आफैंतिर फर्किए झै लाग्थ्यो । मनले दहरोसँग भन्यो अनु यो मौका तैले गुमाउनु हुँदैन । उत्साहले स्फूर्ति दियो ८–० अंकले अगाडि रहें । जित्नसक्छु भन्ने आँट बोके पनि एक अंकसमेत बटुल्नै नदिई यस्तो फराकिलो अन्तर बनाउन सक्छु भन्ने आफैं विश्वस्त थिइन,” अनुले भनिन् ।
अनुले कराँतेको कुमुते ५० केजी तौल समूहमा ८–० फराकिलो अंकले जित हात पारिन् । “मलाई घरेलु मैदानले धेरै उत्साह दियो । पहिलो पटक सागमा जाँदा यो खालको हौसला भएको भए मैले पनि स्वर्ण जित्न सक्थे भन्ने मनमा आयो । यहाँ त सबै चिने जानेका साथीहरू । परिवार पनि दर्शक दिर्घामा । प्रशिक्षकहरूले पनि हौसला दिरहेका थिए । चारैतिर राष्ट्रको नाम गुञ्जिरहेको थियो । मैले आफैंलाई बिर्से सबैको बल मसँगै छ । म के गर्न सक्दिन र ? बस त्यसको परिणामा तपाईंले पनि त देख्नु भयो नि है,’’ उनी मुस्काइन् । ‘‘विजयी भएपछि देशको झण्डा लिएर गोल्ड मेडल लिन जाँदाको पल अविश्मरणीय छ,” अनुले भनिन् ।
पहिलो साग १६ वर्षकै उमेरमा । विदेशी खेलाडीहरूसँग कमै प्रतिस्पर्धा गरेकी अनुलाई पूर्ण रुपमा खेलको नियम पनि थाहा थिएन । अन्तर्राष्ट्रिय अनुभव र खेलबारे जानकारी पहिले नै भएको भए सहज हुने उनी बताउँछिन् ।
“पहिलो साग खेल्दा म सानै थिएँ । त्यो समयमा मलाई खेलको बारेमा धेरै जानकारी पनि थिएन । त्यो समय र अहिले धेरै कुरामा फरक छ । अन्तर्राष्ट्रिय खेलको एक्सपोजर भएको भए सहज हुने थियो । त्यसले विदेशी खेलाडीको खेल्ने तरिका पनि थाहा हुन्थ्यो । खेलसँग सम्बिन्धित नियम पनि थाहा पाउने थिएँ,” अनुले भनिन् ।
यो महत्वपूर्ण सफलता देशलाई समर्पण गर्न चाहन्छिन्, उनी । ‘‘यो पदक देशको हो, म त यसका निमित्त मात्रै न हुँ । मेरो लगाव मिहिनेत र संघर्ष देशकै लागि हो । खेल जीवनको प्रारम्भ गर्दा जे सोचेकी थिएँ ती पूरा हुँदैछन्,’’ अनुले मुहार हँसिलो पार्दै भनिन् ।