site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

निर्वाचित जनप्रतिनिधिको ‘राजसी सोख’को रहरले हो कि सुरक्षा अधिकारीहरूको सामन्ती सोचको करामतले हो राजधानीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका ‘अतिविशिष्ट’ महानुभाव सडकमा निस्कनेबित्तिकै लाखौं सर्वसाधारणको आवागमन ठप्प हुनेगरेको छ । आज पुस १५ का दिन पनि राष्ट्रपति विद्यादेवी भण्डारी कुनै सार्वजनिक कार्यक्रममा ‘सबारी’ हुने भन्दै प्रहरीले महाराजगन्जबाट टुँडिखेल जाने सडकमा एक घन्टाजति सार्वजनिक यातायत रोकिदियो । निजी र सरकारी कारहरू तथा मोटर साइकललाई भने खासै रोकिएन । फलस्वरूप, निजी सवारी साधन नहुनेहरूको दिनचर्या प्रभावित भयो । सामान्यतः निजी सवारी साधन नहुने अर्थात् अपेक्षाकृत गरिबहरू सार्वजनिक यातायातमा निर्भर हुन्छन् । यसैले सुरक्षाका नाममा अपनाइएको यो जनसाधारणप्रति भेदभाव गर्ने व्यवहार निन्दनीय देखिन्छ । 

राजतन्त्रमा ‘शाही वैभव’ र शासनको हैकम प्रदर्शन गर्न धेरै जनालाई सताउने जनसाधारणलाई दोस्रो दर्जाका मानिसजस्तो व्यवहार गरिन्थ्यो । जनतालाई हेप्ने र हेपेको देखाउने क्रममा धनी र पहुँचवालालाई विशेष छुट दिने गरिन्थ्यो । अर्थात्, महाराजा र राजपरिवारका सदस्यहरूमात्र हैन भारदार र साहुजीहरू पनि विशेष मानिन्थे । नागरिकलाई यसरी सामान्य, विशिष्ट, अतिविशिष्टजस्ता विभिन्न वर्गमा बाँडेर व्यवहार गरिन्थ्यो । राज्यको स्रोतसाधनदेखि सेवा र सुविधामा पनि अतिविशिष्ट, विशिष्टहरूकै हालिमुहाली हुन्थ्यो । त्यस्तो व्यवस्थालाई ‘सामन्ती’ भनिन्थ्यो । गणतन्त्र भइसकेपछि पनि नेपालमा भने शासनको सामन्ती चरित्र फेरिएन । बरु केही पक्षमा झन् बढेको देखिएको छ । पहिले राजा एकजनाका लागि रोकिने सडक अब केही थान शासकका लागि रोकिन थालेको छ । सामन्ती प्रवृत्तिका शासकको संख्यासँगै जनताले पाउने सास्ती पनि बढेको छ । 

Dabur Nepal

निजी सवारी साधन चल्न दिने, भाडाका ट्याक्सी पनि चलाउन दिने, मोटरसाइकल नरोक्ने तर सार्वजनिक यातायातमात्र रोक्ने सामन्ती शैलीलाई सुरक्षा आवश्यकता मान्न सकिने देखिन्न । सुरक्षा चुनौती बस, मिनीबस वा माइक्रोबसबाट भन्दा पक्कै पनि कार र मोटरसाइकलबाट बढी हुन्छ । कुनै बेला कपाल लामो पाल्ने वा कानमा मुन्द्रा लगाउनेलाई देख्नेबित्तिकै ‘जंकी’ भनेर समात्ने प्रहरीको जनविरोधी सोचबाहेक यसरी निजी सवारी नरोकेर सार्वजनिक यातायात रोक्नुको अरू कारण देखिँदैन । सार्वजनिक यातायातले भिड बढाउँछ भन्ने तर्क पनि सही होइन । सडकमा भिड गर्ने र यातायात अवरुद्ध पार्ने कार्यमा मोटरसाइकलको भूमिका बढी हुन्छ । संख्यात्मक दृष्टिबाट पनि सार्वजनिक यातायातभन्दा निजी सवारी र मोटरसाइकल नै धेरै छन् । अर्थात् सुरक्षा प्रबन्धको यो शैलीको औचित्य कुनै आधारमा पनि सिद्ध हुँदैन ।

यसैले जनसाधारणलाई हेप्ने सामन्ती शैली सुरक्षाकर्मीले बदल्नुपर्ने देखिन्छ । सके त शासकहरूले पनि जनतासँगै यात्रा गरे हुन्छ । अरू मोटरसँगै गए पनि राष्ट्रपति वा प्रधानमन्त्रीको गाडी चलाउँदा तिनको मर्यादा कम हुनेछैन बरु बढ्नेछ । हैन, ‘अतिविशिष्ट’ व्यक्तिको ‘सवारी’ चलाउन बाटो छेक्नै पर्ने हो भने पनि सार्वजनिक यातायात रोक्नु हुँदैन । सार्वजनिक यातायात कतै एकछिन अवरुद्ध भयो भने सहरको आवागमन प्रणाली दिनभर भद्रगोल हुन्छ । शासन व्यवस्था लोकतन्त्र हो भने जनसाधारणको सुविधालाई प्राथमिकता दिनुपर्छ । मुलुकलाई बेलायती उपन्यासकार जर्ज अर्वेलको उपन्यास ‘एनिमल फार्म’ जस्तै बनाउने हो भने लोकतन्त्र भन्ने शब्द नै शब्दकोशबाट मेटिदिए हुन्छ । अर्वेलकै अर्को उपन्यास ‘नाइन्टिन एट्टीफोर’मा वर्णित ‘न्यु स्पिक’मा जस्तै ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro